काठमाडौं । पोखरा महानगरपालिकाले बनाएको फोहोरमैला व्यवस्थापन नियमावली २०७५ को दफा २४ (ङ) अनुसार नगरक्षेत्र भित्र नदी, ताल तलैया र पार्क आसपास बुंगुरदेखि माछा पालनसमेत प्रतिबन्ध छ ।
त्यस्तै संघीय सरकारले बनाएको फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति, २०७९ बुँदा नम्बर ९.२.४ अनुसार नदि प्रणाली, ताल, सिमसार क्षेत्र, वन्यजन्तु बासस्थल, सम्पदा क्षेत्र, संरक्षित क्षेत्र, सडक अधिकार क्षेत्र वा अन्य सार्वजनिक स्थानमा फोहोरमैला विसर्जन गर्न पूर्णरुपले प्रतिबन्ध लगाइएको छ ।
तर, पोखरा महानगरपालिकाले भने आफैले बनाएको ऐन, र संघीय सरकारले बनाएको निति तथा नियमावलीको धज्जी उडाउँदै आएको छ । केहीदिन अघि पोखरा महानगरपालिकाले पोखरा ९ पृथ्वीचोकस्थित शान्तिवन वाटिका भित्र मध्यरातमा फोहोर पुर्दै गरेको भिडियो नै सार्वजनिक भयो । सेति नदिको किनारमै शान्ति वन क्षेत्र जो सामुदायीक वन समेत रहेता पनि यस्तो संवेदनशिल क्षेत्रमा फोहोरमैला पुर्ने कामको नेतृत्व नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले नै गरे ।
उनले त्यहाँ भिडियो खिच्न पुगेका स्थानिय अभियान्ता डिफान भुजेल र पत्रकार सन्देश बराललाई अवरोध मात्रै गरेनन् मेयर धनराज आचार्यको निर्देशनमा भित्र प्रवेश गर्न नदिएको बताए ।
फोहोरमैला ऐन, २०६८ अनुसार स्थानिय सरकारले वातावरणीय प्रभाव मुल्यांकन गरेपछि मात्रै फोहोरमैला व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, पोखरा महानगरपालिकाले भने अस्थायी रुपमा वातावरणीय प्रभाव मुल्यांकन समेत नगरी जथाभावी फोहोर व्यवस्थापन गर्दै आएको छ । पोखरा महानगरपालिका ३२ स्थित लामेआहाल क्षेत्रमा महानगरपालिकाले करोडौँ रुपैयाँ खर्चिएर विगत ३ वर्षदेखि फोहोर पुर्ने काम गर्दै आएको थियो । सो क्षेत्र पनि सेति नदिको किनार र पृथ्वीराजमार्गको सडक मापदण्ड भित्रै पर्छ । त्यतिमात्रै होइन फोहोरबाट निस्किएका ग्याँस र तरल पदार्थ सिधै सेती नदीमा बगिरहँदा पनि सरोकारवाला निकाय मौन छ ।
स्थानियसँग ६ महिनाका लागि मात्र भनेर २०७९ पुसमा मेयर धनराज आचार्यले सम्झौता गरेका थिए । ६ महिना म्याद थप्दै पटक पटक लामेआहालमा फोहोर थुपारिएपछि स्थायिबासीले यसपटक लामो आन्दोलन समेत गरे । अस्थायी ल्याण्डफिल्डकै कारण छेउमै रहेको राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय समेत २०८१ असारदेखि सरेको स्थानियहरु बताउँछन् । कक्षा १ देखि १० सम्म पढाई हुने सो विद्यालय विद्यार्थीहरुलाई केही मिटर मात्रै माथि सारिएपनि फोहोरको दुर्गन्धका कारण अहिले पनि समस्या भोग्न बाध्य छन् ।
मेयर धनराज आचार्य र वडाध्यक्ष अक्कल बहादुर कार्कीको मिलेमतोमा पुन वडा नम्बर ३२ कै मजुवास्थित स्कुल नजिकै पुन फोहोर फाल्न लागेपछि स्थानीयबासीले केहीदिन अघि पुन आन्दोलन गरेका थिए । उनीहरुले वडा कार्यालय घेराउदेखि महानगरपालिका घेराउसम्मका कार्यक्रम सार्वजनिक गरेका थिए । वडाध्यक्ष कार्कीसहितलाई घेराउ गर्न पुगेका स्थानियबासी महानगरसमेत जाँदै थिए । तर, स्थानियबासीको बाक्लो संख्या देखेपछि महानगरपालिकाले सो क्षेत्रमा फोहोर फाल्ने कार्य तत्काललाई रोकेको थियो ।
त्यसपछि पोखरा शहरमा फोहोर थुप्रिएको थियो । चोकचोकमा थुप्रिएको फोहोर रातमा नगरप्रहरीको सहारामा शान्ति वाटिका सामुदायीक वन क्षेत्र भित्र पर्ने सेति नदी किनारमा पुरिएको थियो । कतिपय फोहोरलाई मध्यरातमा सेति नदिमा बगाइएको समेत स्थानियहरु बताउँछन् । महानगरपालिकाले बनाएको फोहोर मैला व्यवस्थापन नियमावली अनुसार यसरी फोहोर मैला फालिए स्थानिय जनतालाई भने १५ हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
सर्वसाधरणमाथि पोखरा महानगरको धम्कीपूर्ण वक्तव्य
पोखरा महानगरपालिकाले रातमा फोहोर सेति नदी किनार र वन क्षेत्रमा फाल्दै आएपनि व्यवस्थापनका लागि उपयुक्त स्थान खोजि भइरहेको र दर्जनौँ स्थान खोजि भएको बताएको छ । पछिल्लो समय उपयुक्त स्थान भेटिएको र छिटै परिणाम उन्मुख हुने समेत बताएको छ । सेति नदि किनारमै फोहोर पुरिएको भएपनि महानगरकै लेटरप्याडमा भने वातावरणीय असर नपर्नेगरी विसर्जन गरिएको दाबी गरिएको छ ।
‘घर, उद्योग व्यवसाय वा अन्य स्थानबाट निस्कने फोहोरलाई शहरका मुख्य चोक र सडक पेटीहरुमा जथाभाबी फाल्ने कार्य सभ्य नागरिकहरूका लागि शोभनीय विषय होइन, तसर्थ धैर्यतापुर्वक फोहर सङ्कलन गर्ने गाडीको प्रतिक्षा गरिदिनुहुन महानगरपालिका अनुरोध गर्दछ,’ हस्ताक्षर समेत नभएको विज्ञप्तिमा भनिएको छ,‘पोखराको शहरी सुन्दरता, मानव स्वास्थ्य र वातावरणीय प्रतिकुलताहरू उत्पन्न हुन नदिन महानगरपालिका सधैँ कटिबद्ध छ । महानगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी वैज्ञानिक रूपमा फोहोर व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी अवधारणामा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ ।’
त्यस्तै सेति नदि किनारमा फोहोर फालिएको भिडियो नै सार्वजनिक भएपछि आक्रोशित बनेको महानरपालिकाले उक्त कार्यलाई बद्नाम गराउने कार्य भएको भन्दै खण्डन गरेको छ ।