मल घोटाला अपराधमा संलग्न भारतीय कम्पनिबाट साल्ट ट्रेडिङले अर्बौंको मल आयात गरेको खुलाशा !

- दियोपोस्ट संवाददाता  

काठमाडौं । ३ वर्षअघि मे २० सन् २०२१ मा भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले भारतको चार वटा शहरमा एकसाथ छापा मार्यो । भारतको नयाँ दिल्ली, गुणगाउँ र मुम्बईमा छापासहित सिबिआईले ६० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लियो । सिबिआईले भारतीय ईतिहासमा दुई जना शक्तिशालीहरुलाई पनि नियन्त्रणमा लियो । पक्राउ परेका उदय शंकर (युएस) अवस्थी  जो भारतीय उर्वर सहकारी लिमिटेड (फर्टिलाईजर कोअपरेटिभ लिमिटेड अर्थात आईएफएफसिओ) का प्रबन्ध निर्देशक थिए । त्यस्तै ईन्डियन पोटास लिमिटेका प्रबन्ध निर्देशक परविन्दर सिंहसहितका उच्च अधिकारीहरुलाई सिबिआईले पक्राउ गर्यो ।

सिबिआइले त्यतिबेला ती ठूला सहरको १२ स्थानमा एकैसाथ छापा मारेको थियो । पक्राउ परेका अवस्थी जो ईन्डियन पोटास लिमिटेड(आईपिएल)का अहिले पनि प्रबन्ध निर्देशक छन् । उनीहरु विरुद्ध भारतकै रसायन तथा उर्वरक मन्त्रालयको उजुरीको आधारमा सिबिआईले छापा मारी ठूलो संख्यामा पक्राउ गर्नुको कारण थियो— रासायनिक मल घोटाला ।

पक्राउ परेका अभियुक्तहरु

भारत सरकारले किसानलाई दिएको अनुदानबापतको मल खरिद प्रकरणमा ठूलो घोटालाको आशंकामा सिबिआईले अपरेशन चलाएको थियो ।

पक्राउ परि राजनीतिक शक्तिका आडमा जोगिँदै आएका ईन्डियन पोटास लिमिटेडका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी भारतीय गृहमन्त्री अमित शाहसँगै

ईन्डियन पोटास लिमिटेडका उच्च अधिकारीको मिलेमतोमा सरकारी अनुदानबाट मल खरिद गर्दा महँगो मुल्यमा आयात गर्ने र नक्कली कारोबार मार्फत कमिशन असुल गरिएको आरोप थियो । दुबईस्थित किसान ईन्टरनेश्ल ट्रेडिङ मार्फत ईन्डियन पोटासले रासायनिक मल खरिद गरेको थियो । उक्त खरिदमा ५६ करोड भन्दा बढी भारतीय रुपैयाँ घोटाला भएको प्रारम्भिक सुचनाका आधारमा सिबिआईले अपरेशन थालेको थियो ।

सिबिआईले अनुसन्धान गर्दै जाँदा रकमको दायरा समेत बढ्दै गयो र ६८५ करोड भारतीय रुपैयाँ घोटाला भएको निष्कर्श निकालियो । त्यतिमात्रै होइन ईन्डियन पोटास लिमिटेडका प्रबन्ध निर्देशक समेत रहेका डा.युएस अवस्थीका अमेरिकास्थित दुई छोराहरुको खातामा कमिशन बापतको अर्बौं रुपैयाँ जम्मा भएको पाइएपछि उनीहरुलाई समेत प्रतिवादी बनाएर सिबिआइले भारतको इल्लाहवाद उच्च अदालतमा अभियोग पत्र दर्ता गर्यो ।

भारतको ईल्लाहवाद उच्च अदालत

१७ जुन २०२१ मा सिबिआईले ईन्डियन पोटास लिमिटेड, आईएफएफसिओका उच्च अधिकारी सहित सरकारी कर्मचारी समेत २० जना विरुद्ध नक्कली बिल खडा गरि राज्यको अर्बौं रुपैयाँ क्षति पुर्याएर ‘आपाराधिक षडयन्त्र’ गरेको भन्दै अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

कालिमाटीस्थित साल्ट ट्रेडिङको कार्यालय

यसरी भारतमा ‘आपराधिक षडयन्त्र’मा सामेल भएको विवादास्पद कम्पनिबाट नेपाल सरकारले लामो समयदेखि किसानका लागि अनुदान दिइने रासायनिक मल खरिद गर्दै आएको तथ्य भेटिएको छ । नेपाल सरकारका दुई निकायहरु कृषि सामग्री लिमिटेड र सरकारको समेत सेयर लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लामो समयदेखि यो विवादास्पद कम्पनिसँग किसानका लागि अनुदानमा दिइने रासायनिक मल खरिद गर्दै आएको पाइएको हो ।

निजि क्षेत्रको समेत सहभागितामा संचालित साल्ट ट्रेडिङ लिमिटेडले त लामो समयदेखि कागजी प्रतिष्पर्धाको आधारमा यही कम्पनिबाट मात्रै रासायनिक मल खरिद गर्दै आएको छ । मल खरिदका लागि कम्पनिले नै प्रस्ताव गरेको मुल्यमा साल्ट ट्रेडिङले मल खरिद गर्दै आएको हो । कतिपय टेण्डरमा अन्तर्राष्ट्रिय मुल्यभन्दा निकै महँगोमा यही विवादास्पद कम्पनिबाट खरिद गरिएको घटना समेत फेला परेका छन् ।

साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ

साल्ट ट्रेडिङकी विगत १५ वर्षदेखि सीईओ पदमा कार्यरत उर्मिला श्रेष्ठसहित उच्च अधिकारीको संलग्नतामा पटक पटक अर्बौंको मल खरिद गरेपनि हालसम्म नेपालमा कुनै स्वतन्त्र निकायको छानबीनको विषय समेत बन्न सकेको छैन । केही वर्षअघि आइपिएलको माध्यमबाट ल्याइएको युरिया मलको ५० केजी बोरामा किसानले कम तौलको मल पाएको भन्दै विरोध समेत भएको थियो । अनुदानमा भएको यो घोटाला समेत छानबीनको विषय बनेको थिएन । अर्को तर्फ विवादास्पद आइपिएलबाट खरिद गरिएको रासायनिक मल प्रयोग गर्दा भारतको छत्तिसगढका एक किसानको केराको रुखहरु मरेको भन्दै उनले विभिन्न निकायमा उजुरी समेत हालेका थिए ।

आपराधिक घटनामा संलग्न भारतीय कम्पनि ईन्डियन पोटास लिमिटेड (आइपिएल)लाई दिइएको पटक पटकको ठेक्काको सुचना

साल्ट ट्रेडिङले ३ सेप्टेम्बर २०२२ मा २७ हजार ५ सय मेट्रिक टन रासायनिक मल सोही विवादास्पद भारतीय कम्पनिबाट नै गरेको थियो । त्यतिबेला २७ हजार ५ सय डलर मेट्रिक टन रसानिक मल खरिद गर्दा २ करोड ५ लाख ४२ हजार ५ सय डलरमा ठेक्का यो कम्पनिलाई दिइएको थियो । जतिबेला यो कम्पनि विरुद्ध भारतमा सिबिआईले अपरेशन चलाएर अभियोग पत्र पेश गरिसकेको थियो । त्यतिबेला नेपालमा साल्ट ट्रेडिङ भने यही विवादित कम्पनिबाट मल खरिद गर्दै थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले सन् २०२४ जनवरी ४ मा प्रकाशित गरेको सुचना अनुसार २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न विवादित कम्पनि ईन्डियन पोटास लिमिटेडलाई ठेक्का दिइएको छ । १ करोड ११ लाख ३७ हजार ५ सय डलर अर्थात आजको डलर भाउ अनुसार १ अर्ब ४८ करोड ८३ लाख २ हजार ७ सय ४३ रुपैयाँको ठेक्का आइपिएललाई दिइएको छ ।

ठेक्का स्विकृत भएको पत्रमा साल्ट ट्रेडिङकै सहायक सीईओ संकेत भट्टराईले हस्ताक्षर गरेका छन् । ठेक्का प्रक्रियाबारे बुझ्न साल्ट ट्रेडिङका सुचना अधिकारी कुमार राजभण्डारीलाई पटक पटक सम्पर्क गर्दा उनको मोबाइल अफ छ । कार्यालयमा पुग्दा कार्यालयमा समेत भेटिएनन । दियोपोस्टले सुचना अधिकारी राजभण्डारीबारे बुझ्दा उनी मलकै डिलका लागि भारत पुगेको स्रोतले बतायो ।

यस विषयमा प्रतिक्रिया लिन साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाइनन् ।