मिटरब्याजको पैसालाई लिएर धादिङमा हानाहान : हेलिकोप्टरबाट विरामी काठमाडौं ल्याइए

दियोपोस्ट संवाददाता  

घाइते तिमिल्सिना र ढाकाटोपी लगाएका बलराम ढोलाली

धादिङ । धादिङ सदरमुकाम धादिङवेशीमा मिटरब्याजको पैसालाई लिएर दुई पक्षबीच हानाहान भएको छ । सदरमुकाम क्षेत्रमा मिटरब्याज लगाउँदै आएका बलराम ढोलाली भनिने बलराम श्रेष्ठ र एक व्यक्तिबीचको विवाद प्रहरी कार्यालयसम्म पुगेको छ ।

बलराम ढोलालीबाट आफूले केही रकम मिटरब्याजमा लिएको गिताराज तिमिल्सिनाले बताए । सदरमुकाममै व्यापार गर्दै आएका तिमिल्सिनालाई ढोलालीले छलफलका लागि भन्दै एक पसलको सटर भित्र बोलाएको र सटर बन्द गरि हातपात गरेको तिमिल्सिनाले प्रहरी कार्यालयमा दिएको ठाडो निवेदनमा उल्लेख छ । ‘ममाथि एकाएक हातपात भएपछि मैले पनि प्रतिकार गरेँ । प्रतिकारका क्रममा उहाँको नाकबाट रगत आयो । त्यसपछि म त्यहाँबाट निस्किएँ,’ उनले भने,‘म प्रहरी कार्यालयमा ठाडो निवेदन लिएर गएँ । मलाई आक्रमण गर्ने ढोलाली त्यहाँबाट एम्बुलेन्समा काठमाडौं उपचारका लागि ससाहसम्म पुगेपछि फेरी हेलिकोप्टर बोलाइयो ।’

उनका अनुसार अहिले ढोलालीलाई हेलिकोप्टरमा राखेर काठमाडौं थप उपचारको लागि ल्याइँदैछ । घटनाबारे प्रतिक्रिया लिन ढोलालीको नम्बरमा सम्पर्क गर्दा उनका छोरा दिनेश श्रेष्ठले उठाए । उनले घर पछाडी आएर तिमिल्सिनाले आक्रमण गरेको आरोप लगाए । उनका अनुसार फिसटेल एयर हेलिकोप्टर मार्फत विरामीलाई काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइँदै छ । ‘सिटिस्क्यान गरिएको छ । अहिले अवस्था सामान्य नै छ । नाकबाट ब्लिडिङ रोकिएको छैन,’ उनले भने ।

धादिङका प्रहरी प्रमुख गौतम केसीलाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले घाइतेको उपचारलाई प्राथामिकता दिएर अनुसन्धानलाई अघि बढाइने बताए ।