काठमाडौं, २५ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकार र सुरक्षा संयन्त्र विरुद्ध घोषित ‘हमला वा आक्रमण’ गरेको छैन । सुरक्षा संयन्त्रमाथि आक्रमण गर्ने योजना नभएको पटक पटक बताउँदै आएको छ । तर नेपाल बन्दको कार्यक्रम आयोजना गरेर आफ्नो उपस्थिति देखाउने प्रयास भने पटक पटक गरिहेको छ । यता प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार भने विप्लव नेतृत्वको नेकपालाई ‘सफाय’ गरेरै सिद्धयाउन लागेको देखिन्छ ।
त्यसैको दृष्टान्त स्वरुप प्रहरीको गोली प्रहारबाट विप्लव समुहका भोजपुर जिल्लाका तिर्थराज घिमिरे, निरकुमार राई, सर्लाहीका कुमार पौडेल लगायत नेताको मृत्यु भइसकेको छ ।
कथित ‘मुठभेड’को नाममा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र ओखलढुङ्गा जिल्ला इन्चार्ज निर कुमार राईको मृत्यु भइसकेको छ । कुमार पौडेलमाथि भएको गोली प्रहार घटनामा संसदमा समेत पटक पटक कुरा उठिरहेको छ । उनीमाथि प्रहरीले जवाफी फायरको नाममा ‘एक तर्फी गोली चलाएको र हत्या गरेको’ आरोप सांसदहरुले नै लगाएका छन् । घटनापछि सार्वजनिक भएको तस्विरमा पनि उनको हात भाँचिएको देखिएको छ ।
यता आज (बुधबार) भोजपुरमा भएको मुठभेडको घटना पनि विवादित बनेको छ । मृत्यु भएका निरकुमार राईको पछाडी हात बाँधिए जस्तो देखिएको छ । विप्लव नेतृत्वको नेकपाले ‘प्रहरीले नै चलाएको गोलीबाट प्रहरी जवान सञ्जिव राईको निधन भएको बताइरहेको छ ।
प्रहरीको यतिबेलाको मुख्य टार्गेट जिल्ला इन्चार्ज रहेको पाइएको छ । अघिल्ला घटनाक्रमले पनि जिल्ला इन्चार्जहरु असुरक्षित रहेको देखिन्छ । प्रहरी उच्च स्रोत अनुसार विप्लव नेतृत्वको नेकपाको जिल्ला इन्चार्जलाई गोली हान्न ‘सर्कुलर’ नै जारी भएको छ ।
‘हाम्रा जिल्ला इन्चार्जलाई गोली चलाउने र दोहोरो भिडन्तको नाममा हत्या गर्न उच्च तहबाट सर्कुलर नै भएको हामीले थाहा पाएका छौँ,’ नेकपाका ललितपुर जिल्लाका एक नेताले भने,‘तर हाम्रो सुरक्षा संयन्त्रमाथि आक्रमण गर्ने कुनै योजना छैन । केपी÷पीके सरकारले यसरी व्यक्ति हत्याको राजनीतिमा उत्रिएर देशलाई ठूलो युद्धको भूमरीमा फसाउने षडयन्त्र गर्दै गरेको पुष्टि भइसकेको छ ।’
जिल्ला ‘इन्चार्ज’हरु त्रसित
प्रहरी प्रशासनले आक्रमक रुपमा गोली चलाउन थालेपछि नेकपाका जिल्ला इन्चार्जहरु त्रासमा छन् ।
‘हाम्रो पार्टीले फौजि प्रतिरोधको कुनै नीति बनाएको छैन । तर, राज्य संयन्त्र हामीलाई उत्तेजनामा ल्याउने कोशिसमा छ,’ एक जिल्ला इन्चार्ज भन्छन्,‘हामी देश र जनताका लागि मर्न तयार छौँ । तर, राज्यले अगाडी नै युद्ध थोपर्न खोज्दा देशबासीमा त्रास उत्पन्न भएको छ ।’