चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट रोक्न डा. केसीको माग

दियो पोस्ट  

काठमाडौँ , असार २६ । प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि छनोट प्रक्रिया रोक्न माग गरेका छन् । छनोट प्रक्रिया त्रुटिपुर्ण भएको भन्दै तत्काल नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

उपाध्यक्ष पदका लागि आवेदन दिएका हरु सबै अयोग्य भएको भन्दै डा. केसीले नाम फिर्ता लिन माग गरेका छन् । सरकार राजनीतिक भागबण्डाको आधारमा चलेको भन्दै डा. केसीले स्वास्थ्य क्षेत्रलाई तहसनहस हुृनबाट जोगाउनका लागि आवेदन दिएका निवेदकहरुले तत्काल नाम फिर्ता लिनुपर्ने बताए ।

डा. केसीले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष पदका लागि योग्य भन्दा पनि अयोग्यहरुको निवेदन परेको भन्दै छनोट प्रकृया तत्काल रोक्न माग गरे । ‘यसो गरिए राजनीतिक भागबन्डाको आधारमा सरकार चलेको पुष्टि हुन्छ । त्यसकारण उम्मेदवारी फिर्ता गर्न माग गर्दछु’ पत्रकार सम्मेलनमा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नियुक्ति प्रकृयाको कर्मकाण्ड देखाएर पन्छिने होइन की योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वाताबरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्छ । त्यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनोट प्रकृया तत्काल रोक्न सरकारसाग माग गर्दछौँ ।’

त्यस्तै डा केसीले आयोगको उपाध्यक्ष नियुक्तिमा विकसित घटनाक्रमहरुले कसैलाई जागिर खुवाउने र नियुक्ति दिनेतर्फ केन्द्रीत भएको आरोप लगाएका छन् । उनले उपाध्यक्षमा पार्टीको कार्यकर्ता भर्ना गरिए यस क्षेत्रको विकृति थप मौलाउने दावी गरेका छन् ।

विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक चलखेलका आधारमा सम्बन्धन दिने र भर्ना लिने गरेको गुनासो बढेपछि अधिकार सम्पन्न आयोगको व्यवस्था गरिएको हो । प्रधानमन्त्री अध्यक्ष हुने आयोगको कार्यकारी प्रमुख भने उपाध्यक्ष हुन्छ, जसमा ६ जनाले इच्छा देखाएका छन् । त्यसका लागि श्रीकृष्ण गिरी, पारस पोखरेल, नीलमणि उपाध्याय, प्रमोदकुमार सरा र रमेशप्रसाद सिंहले आवेदन दिएका हुन् ।