पूर्वजनसेनाकै ढुंगा खानी राष्ट्रिय सभा सदस्य सुरेश आलेबाट ‘कब्जा’, उजुरी अलपत्र !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका सुरेश आले मगरले आफ्नै पार्टीका पूर्व सहयोद्धाको कम्पनि हत्याएको पाइएको छ । माओवादीकै अर्का नेतृ अमृता थापा मगर लगायतसँगको मिलेमतोमा तनहुँको आँबु खैरेनी घर भएका विनोद आर्यालले शुरु गरेको ढुंगाखानी कब्जा गरेको पाइएको हो ।

कमरेड विजरको नामले चिनिने तत्कालिन जनसेनाका सेक्सन कमाण्डर विनोदले आफ्नै पार्टीका नेताहरुबाट ठगीएको र पीडित भएको भन्दै दियोपोस्टमा भिडियो बयान दिएका छन् ।

अर्यालका अनुसार आफूले बाग्लुङको ताराखोला गाउँपालिका वडा नम्बर १ मा सनराईज डि.आर मल्टी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्राली मार्फत साधारण निर्माणमुखी स्लेट खानीबाट ढुंगा उत्खनन्का लागि अनुमति लिने प्रक्रिया शुरु गरेका थिए । तर, कम्पनिमा एक करोड ८९ लाख बैंक ऋण लगानी गरेर प्रवेश गरेका आले, थापा र बुद्धकुमारी लामा,अगन्धर कँडेलले आफ्नो कम्पनि नै कब्जा गरेको उनको आरोप छ ।

‘मलाई साझेदार चाहिएकाले सुरेश कुमार आलेमगरसँग भेट भयो । त्योबेला उहाँ सांसद हुनुहुन्थेन । उहाँ आउनु भयो । तर, उहाँको नियत खराब रहेछ । पैसा हाल्नु पर्छ भन्दा हुन्छ भन्नु भयो । तर, पछि पैसा नै नदिई सेयर च्याप्ने काम गर्नुभयो,’ अर्यालले दियोपोस्टसँग भने,‘उहाँले विभिन्न मान्छे ल्याएर मलाई फसाउँदै जानुभयो । मैले कम्पनि राजिष्टारमा निवेदन दिएँ, गाउँपालिकामा निवेदन दिएँ । उहाँले बेवास्ता गर्नुभयो । पदको दुरुपयोग गर्नुभयो र मलाई च्याप्न थाल्नु भयो ।’

तत्कालिन नेकपा माओवादी केन्द्रका सचिव तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता हितमान शाक्यकी पत्नि समेत रहेकी अमृता थापा मगरलाई पनि आलेले नै साझेदारको रुपमा कम्पनिमा भित्र्याएको अर्यालले बताए ।

‘उहाहरुले चुनाव लड्नुअघि पैसा फिर्ता दिनुस् भन्नु भयो । चुनाव हारेपछि कम्पनिमा शेयर चाहियो भन्नु भयो । हुन्छ त्यसो भए पैसा नहालेकोले पैसा हालौँ र राम्रो सँग चलाउँ भनेँ । तर, उहाँहरुले कम्पनिमा सेयर कम गरेर मलाई कमजोर बनाउँदै लानु भएको रहेछ । म त नबुझ्ने मान्छे,’ पीडित अर्यालले भने,‘कानुनी कुरा मलाई थाहा पनि भएन । उहाँहरुले मलाई ठूलो अन्याय गर्नुभएको छ ।’

अर्याल कुनै समय जनमुक्ति सेनाकै सेक्सन कमाण्डर थिए । शान्ति सम्झौता आएपछि आफू व्यावसायीक जीवनमा फर्किएको उनको भनाई छ ।
‘म ७।८ वर्ष जनमुक्ति सेनामा काम गरेको मान्छे पनि हुँ । शान्ति सम्झौता भएपछि आफ्नै काम गर्नुपर्छ भनेर काम शुरु गरेको हुँ । हिजो पनि व्यापार गरेर बसेको हुनाले पुरानै काम शुरु गरेको हुँ । ब्यारेकबाट फर्किएपछि उद्योग संचालन थालेँ । तर, ममाथि अन्याय र कुठाराघात भएको छ,’ पीडित अर्याल भन्छन्,‘मैले गाउँपालिका, कम्पनि रजिष्टार र सिडियो कार्यालयमा पनि निवेदन दिएको छु । तर, कतै सुनवाई भएको छैन । प्रहरीको एसपी सापलाई पनि जानकारी गराएँ । तर, उल्टो मलाई आजित बनाइयो । म सामान्य भुइँ मान्छे । हिजो यही पार्टीको सदस्य थिएँ ।’

हाल ताराखोलामा संचालित ढुंगाखानी अवैध रुपमा आलेले एकल रुपमा चलाइरहेको र चोरी पैठारीको काम गरेको समेत पीडित अर्यालको भनाई छ ।
‘त्यहाँ अहिले असम्बन्धित कम्पनिको बिल मार्फत चोरी पैठारी गरेर काम भइरहेको छ । मैले यस्तो भएको छ भनेर जानकारी गराउँदा फोटो भिडियो र प्रमाण दिनुस् भनेर प्रतिक्रिया आएको छ,’ उनले भने ।

आफूलाई नेता सुरेश आलेको छोरा अन्जिर आलेले अब उप्रान्त यहाँ आइस भने यही खोलामा गाडिदिन्छु भनि धम्काएको समेत उनको गुनासो छ । त्यस्तै रामबहादुर लामाले आफ्नो मोबाइल फालिदिएको उनको भनाई छ ।

कम्पनि खोलेदेखि आफ्नो लगानी करोडौँ रकम फसेको तर, नाफा भने ओलेसहितको समुहले कब्जा गरेको उनको भनाई छ । ‘म मूल संस्थापक भएपनि आम्दानी केही पाएको छैन । मसँगै जसजसले पैसा हालेको छ सेयर र पैसा खाइदिएका छन् । न त पैसा फिर्ता दिएका छन् । एक जना शेरबहादुर पुन भन्ने मान्छेलाई अन्जिर आलेलाई कुटेको थियो,’ पीडित अर्याल भावुक हुँदै भन्छन्, ‘पुनको घर परिवार सबै उठाइएको छ । मैले लड्नका लागि खानी खोलेको होइन । पैसा दिन्छु भनेर एक पैसा दिएनन् । कम्पनि रजिष्टारले पनि गल्ती गरेको छ । मैले दिएको निवेदनलाई टेकेर सेयर अपलोड गरिएको छ ।’

अर्यालका अनुसार आन्तरिक राजश्व कार्यालयमा पनि उनको सहमति बिना नै आलेको समुहले अर्कै व्यक्तिको फोटो टाँसेर कागजात बनाएको छ । ‘गलत प्रमाण राखेर अडिट गरिएको छ । म र मेरो छोराले एक करोड ६ लाख तिर्नुपर्ने बनाइएको छ । मैले एक पैसा पाएको छैन,’ उनले भने,‘मैले जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि निवेदन दिएँ । प्रहरीलाई आदेश भयो । मोहन थापा हुनुहुन्थ्यो । त्यो बेलामा आलेले राष्ट्रिय सभामै एसपी मोहन थापामाथि कारबाहीको माग गर्दै बोल्नु भएको थियो । त्यसपछि प्रहरी समेत डराएको थियो ।’

आफूहरु जनसेनामा काम गर्दा जनताको सियो पनि फिर्ता गरेको उनको भनाई छ । ‘हिजो जनमुक्ति सेनामा हामीले काम गर्दा जनताको सियो पनि चलाएमा फिर्ता गर्ने भन्ने थियो । ईमान्दार हुनुपर्छ भन्ने बुझेको थिएँ,’ उनले भने,‘तर,यहाँ त जम्मै लुटपाट हुनुहुँदो रहेछ ।’

आफूलाई तत्कालिन माओवादी अध्यक्षलाई भेट्न समेत नदिएको गुनासो उनको छ ।

‘मैले पार्टी हेडक्वार्टर र प्रचण्ड प्रधानमन्त्री हुँदा दशौँ पटक गएँ । तर, कुनै दिन पनि भेट हुन दिइएन । बुझाएको निवेदन पनि कता पुर्याए थाहा भएन,’ उनले भने,‘अथवा अध्यक्ष आफै पनि यसमा संलग्न हुनुभएको हो की भन्ने आशंका लाग्छ । किनकी मैले पार्टीमा यत्रो निवेदन दिँदा यो कुरा सुनुवाई हुनुपर्थ्यो । मलाई न्यायको पक्षमा एक कल फोन पनि प्रचण्डबाट आएन । उल्टो दबावहरु दिने काम भने भयो ।’

राष्ट्रिय सभाका सदस्य आलेबाटै आफूमाथि अन्याय भएपनि न्याय नपाएको उनको भनाई छ ।

‘उच्चतहमा बसेको, कानुन बनाउनुपर्ने ठाउँमा बसेको मान्छेबाट म माथि अन्याय भयो । हाम्रो सम्पत्ति लुट्ने काम भएको छ । मेरो विषयमा नभएको फेहरिस्त बनाइएको छ । त्यसको प्रमाण दिनु पर्दैन ? ठूलो मान्छे हुँ भन्दैमा मान्छेलाई जे पनि गर्न पाइन्छ,’ उनले भने,‘आफूसँग शक्ति छ भन्दैमा जे मनलाग्यो त्यही गर्न पाइन्छ । यस्तो पनि कानुनी राज्य हुन्छ ?’

आफू कम्पनिको संस्थापक अध्यक्ष रहेपनि आफूलाई कुनै हरहिसाब समेत नदेखाउने गरेको उनको गुनासो छ ।

‘कि तपाईंहरुले परेको पैसा लानुस् भन्दा मान्दैनन् । बाग्लुङमा हितमान शाक्यको कोही मान्छे अदालतमा छ भनेर समेत धम्की आयो । त्यो हुँदा पनि मैले आफ्नो बाटो छोडेको छैन । किनकी मैले केही गलत गरेको छैन,’ उनले भने,‘मलाई काठमाडौंको होटलमा बोलाएर ढोकाको चुकुल लगाएर सिग्नेचर गर्छस् भने गर नत्र जे पनि गर्छु भन्दै धम्काए । मैले नोटअफ डिसेन्ट लेख्नुस् म निस्किएर हिँडे ।’

उत्खनन् गर्नका लागि हाल खानी तथा भूगर्भ विभागले पनि रोक लगाएपनि विभागलाई समेत बेवास्ता गरेर खानी संचालन भइरहेको उनले बताए । ‘खानी विभागको पत्रलाई बेवास्ता गरेर खानी चलाइरहेको छ । सबैको मिलेमतो देखिन्छ । बिल र भौचरहरु सबै छ । दुई जनाको २० लाख रुपैयाँ सेयर दिन्छु भनेर खाइदिएका छन्,’ उनले भने,‘हिजो मेरो कमाण्डर रामलाल रोक्का मदन भन्ने हिजोको कमाण्डर पनि हो । हिजो उहाँसँगै सहकार्य गरेको भनेर ल्याएँ । उहाँले हालेको पैसा हाल्नु भयो । मदनलाई विभिन्न धम्की दिएको रहेछ । धम्की दिएपछि कोही बस्न सक्दैन ।’

श्रीमती पद्मा भन्छिन्,‘सुरेश आले मगर त लुटेरा भएर निस्किए

पीडित विनोदकी श्रीमती पद्मा अर्यालले सुरेश आले मगर लुटेरा भएर निस्किएको आरोप समेत लगाइन् । आफूले गहना विक्री गरेर लगानी गरेको कम्पनिको सम्पूर्ण आम्दानी आलेको समुहले लुटपाट गरेको उनको आरोप छ ।

के छ आलेको दाबी

यता कम्पनि रजिष्टार कार्यालयमा लिखित जवाफ दिएका आले सहितका व्यक्तिहरुले भने अर्याललाई नै विभिन्न दोषारोपण गरिएको छ । २०८२ वैशाख २ गते उनले कम्पनि रजिष्टार कार्यालयमा लिखित जवाफ पेश गरेर आफूहरु बहुमत शेयर सदस्यहरुको हितका लागि निर्देशन जारी गरि पाउँन माग गरेका छन् ।