नयाँ प्रणाली लागू गर्ने राहदानी विभागको तयारी, केही साताका लागि सेवा बन्द हुने

दियोपोस्ट संवाददाता  

काठमाडौं । राहदानी विभागले राहदानी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली लागू गर्ने तयारीका कारण केही समय सेवा प्रभावित हुन सक्ने जनाएको छ। विभागले जारी गरेको सूचनाअनुसार हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन (स्विच) हुने क्रममा केही समय राहदानी सेवा अवरुद्ध हुन सक्ने बताएको हो ।

विभागका अनुसार राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता भई नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेको छ। आगामी एकदेखि दुई महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा परिवर्तन गरिने बताइएको छ।

यस क्रममा विभिन्न निकायबाट प्रदान हुने राहदानी सेवामा अस्थायी अवरोध आउन सक्ने विभागले जनाएको छ। सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि दुई सातासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा करिब एक सातासम्म प्रभावित हुन सक्ने जनाइएको छ।

नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली स्थिरीकरण (स्ट्याबिलाइजेसन) हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने भएकाले सो अवधिमा राहदानी तयार भई जारी हुन सामान्यभन्दा बढी समय लाग्न सक्ने विभागको भनाइ छ।

विभागले यस अवस्थालाई ध्यानमा राख्दै आगामी छ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन अनुरोध गरेको छ।

नयाँ प्रणाली सुरु हुने मिति तथा त्यस अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी पछि सार्वजनिक गरिने विभागले जनाएको छ।