मिटरब्याज आरोपमा कांग्रेस नेतृ शान्ति तिवारी पक्राउ

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । मिटरब्याज तथा अनुचित लेनदेन मुद्दामा फरार रहेकी शान्ति तिवारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पीडितहरूको जाहेरीका आधारमा उनलाई विहिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तिवारीविरुद्ध अनुचित ब्याजदरमा ऋण लगानी गरी आर्थिक शोषण गरेको आरोप लागेपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थायी घर भएकी तिवारीमाथि लामो समयदेखि उच्च ब्याजदरमा ऋण लगाई ऋणीहरूलाई आर्थिक दबाबमा राखेको पीडितहरुको आरोप छ ।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ । दर्जनौँ व्यक्तिहरू यसअघि दियोपोस्टको कार्यालयमै आएर तिवारीबाट पीडित भएको गुनासो गरेका थिए ।

पीडितहरूको भनाइअनुसार करिब ५० भन्दा बढी व्यक्तिले तिवारीविरुद्ध उजुरी दिएका छन् । उनीहरूले अत्यधिक ब्याज असुली गरिएको आरोप लगाएका छन् । एक पीडितले १८ लाख रुपैयाँ ऋण लिएपछि ब्याजसहित ६१ लाख रुपैयाँसम्म तिर्नुपरेको दाबी गरेकी छन् ।

मिटरब्याज भनेको कानुनी सीमाभन्दा धेरै ब्याजदरमा ऋण प्रवाह गरी ऋणीमाथि आर्थिक दबाब सिर्जना गर्ने अवैध अभ्यास हो । पछिल्ला वर्षहरूमा यस्ता घटनाहरू बढ्दै गएपछि सरकारले पनि यसविरुद्ध कडाइ गर्न थालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) पवन भट्टराईले प्रहरीका अनुसार तिवारीसँग सम्बन्धित आर्थिक कारोबारका कागजात, उजुरीकर्ताहरूको बयान तथा अन्य प्रमाणका आधारमा घटनाबारे थप छानबिन भइरहेको छ ।
नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठनको दबावमा यसअघि उन्मुक्ति पाउँदै आएकी तिवारीलाई पछिल्लो राजनीतिक घटनाक्रमसँगै पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक पवन भट्टराईका अनुसार हिजो साझ ८ बजे बानेश्वर क्षेत्रबाट तिवारीलाई पक्राउ गरिएको थियो । उनी विरुद्ध हालसम्म ५ जना पीडितहरुले जाहेरी दरखास्त दिएका छन् । पीडितहरुले तिवारीबाट १ करोड ४ लाख रुपैयाँ रकम माग दाबी गरेको प्रवक्ता भट्टराईको भनाई छ ।

प्रेस युनियनका अध्यक्ष लम्साल दम्पतिमाथि ‘मिटरब्याज धन्दा’ चलाएको आरोप (भिडियो सहित)

 

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।