प्रेस युनियनका अध्यक्ष लम्साल दम्पतिमाथि ‘मिटरब्याज धन्दा’ चलाएको आरोप (भिडियो सहित)

खुमा वली  

काठमाडौं । धुम्बाराही घर भएकी दिपामणी अहिले आरुबारीमा कोठा लिएर ४ जनाको परिवारसँगै बसोबास गर्दै आएकी छन् । धुम्बाराहीको उक्त पुर्खेउली घर बेचेर उनीहरु २०७२ सालबाट भाडामा बस्दै आएका छन् । अचार बनाएर घरेलु उद्योगमा जीविका चलाउँदै आएकी उनी मिटरब्याजकै कारण अहिले घर बेचेर भाडामा बस्नु परेको हो ।

२०६६ सालमा चितवन घर बताउने र काठमाडौंको बानेश्वरमा बस्ने शान्ति तिवारीसँग उनको भेट भयो । दीपाले त्यो समयदेखि नै अचार व्यवसाय गर्दै आएकी थिइन् । तिवारीसँग पनि सोही क्रममा चिनजान भएको थियो । दीपा र तिवारीको केही समय भने राम्रो कारोबार भयो । त्यसपछि विश्वास गर्दै जाँदा दीपाले तिवारीसँग ५ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिँदा नै शान्तिले दीपालाई मिति नलेखिकनै ५ लाख रकमको चेक काट्न लगाइन् ।

“मैले उहाँबाट समझदारीमै ५ लाख ऋण लिएको हो तर पछि गएर उहाँले अर्काे रुप देखाउनु भो पटक–पटक घरमै आएर धम्काउन सुरु गर्नु भयो । तिमिल्सिनाले दियोपोस्टसँग भनिन्,“समदारीमा प्रति दिन १ लाखको १ हजार ब्याजको सहमतिमा लिए तर पछि उहाँले त्यसलाई बढाएर दिनको २ हजारसम्म ब्याज लगाएपछि मैले तिरेँ । उनको धम्की र यातनाले गर्दा मेरी छोरी डिप्रेसन गइन् छोरालाई पढाउने पैसा भएन ।”

अहिलेसम्म आइपुग्दा तिमिल्सिनाले ५ लाखको ऋण लिएकोमा ब्याजको नाममा २५ लाख रुपैयाँ तिरिसकेको उनको दाबी छ । तर अझैपनि तिवारीबाट छुट्कारा भने पाउन सकेकी छैनन् । ५ लाख ऋण दिँदा नै तिवारीले तिमिल्सिनाबाट चेक लिएको उनी बताउँछिन् । तिवारीलाई रकम बुझाउँदै गर्दा तिमिल्सिनाले पहिले आफूले दिएको चेक पनि मागेकी थिएन्, तर उनले उक्त चेक लुकाएको पीडितको भनाई छ । त्यसपछि तिवारीले उनलाई चेक बाउन्सको कसुरमा मुद्दा दिइन् । उक्त मुद्दामा अदालतले एकलौटी फैसला गरेको तिमिल्सिनाको आरोप छ । चेक बाउन्सको कसुरमा उनले जरिवाना स्वरुप ५ लाख रकम बुझाइसकेकी छन् । “मिटरब्याजका कारण मैले घर बेचेँ । त्यही दिन शान्ति तिवारी राती साढे ९ बजे मेरो घरमा आएर २ लाख ५० हजार लिएर जानु भएको छ । उहाँले सधैं नगद मात्रै लिने हो नत कुनै बैंक भौचरबाट लिनु हुन्छ न कुनै मोबाइल बैंकिङ । पछि यति रकम मैले तपाईलाई दिइसके भन्दा खोइ कहाँ छ प्रमाण भनेर उल्टै धम्की दिदै हिड्नु भो,” पीडित उनी भन्छिन् ।

 

पीडित तिमिल्सिना लगायत करिब ५० जना भन्दा बढी व्यक्तिहरु शान्ति तिवारीबाट पीडित भएको भन्दै विभिन्न निकायमा पुग्न थालेका छन् । शान्ति तिवारी पत्रकार तथा नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्सालकी पत्नि हुन् ।

आफूलगायत थुप्रै दिदी बहिनीहरु पीडित भएको तर तिवारीले दिने धाक धम्कीका कारण उनीहरु बोल्न नसकेको तिमिल्सिनाको भनाई छ । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुचित लेनदेन तथा मिटरब्याजको कसुरमा जाहेरी दिन पुगेका छन् । र, त्यति मात्रै होइन लम्साल र तिवारीबाट पीडित भएको भन्दै शान्ति वाटीकामा धर्ना मार्फत आन्दोलनमा समेत उनीहरु जुटेका छन् ।
“मेरो त सबै गुमिसक्यो अब जरिवान पनि तिरे पिडामाथि पिडा छ तर मैले जस्तो अन्यायमा अरु दिदी बहिनीहरु नपरुन् भन्ने हो । उहाँ (तिवारी) अपराधी नै हो भन्ने कुरा सबैलाई थाहा होस् भनेर म अहिले यसरी बोलिरहेकी छु । न्यायलय नै मेरो हातमा छ राजनीतिक पावर छ भन्दै धम्की दिदै आउनु भएको छ,’ पीडित तिमिल्सिनाले भनिन् ।

१८ लाखको ब्याज ६१ लाख रुपैयाँ तिरेँ : ललिता देव

तिवारीबाट पीडित हुने अर्की पात्र हुन् – ललिता देव । उनका अनुसार तिवारीसँग उनको भेट आजभन्दा ८ वर्षअघि भएको थियो । त्यतिबेला तिवारी काठमाडौंमा २ वटा कोठा लिएर भाडामा बस्दै आएकी थिइन् । सोही क्रममा तिवारी र देवको चिनजान देवको एकजना साथीमार्फत भएको थियो । चिनजान भएसँगै केही समयपछि पैसाको कारोबार पनि हुन थाल्यो । देवले कारोबारकै क्रममा तिवारीबाट १८ लाख रुपैयाँ ऋण लिइन् । तर १८ लाख ऋण लिएकी देवले अहिलेसम्म आइपुग्दा ६१ लाख रकम तिवारीलाई तिरेको दाबी गर्छिन् ।

तिवारीले देवबाट नगद रकम लिएपनि चेक बाउन्स गरेर रकम उठाउँदै आएको पीडितको दाबी छ ।

“उहाँले विभन्न तरिकाबाट अपराधिक गतिविधि गरिरनु भएको छ । एउटा त उहाँले चेक लुकाएर नगदमा मात्रै रकम लिनु हुन्छ त्यसपछि चेक बाउन्समा मुद्दा हालिदिनु हुन्छ । अर्काे उहाँको श्रीमान शिव लम्साल पत्रकार हो र मिडिया नै मेरो हातमा छ भन्दै धम्की दिएर थप रकम असुल्दै आउनु भएको छ ।”

लम्सालले मन्त्रीदेखि प्रहरी, न्यायलय, सिंगो राज्यसम्म नै मेरो पावर छ भन्दै पटक–पटक धम्काएर रकम असुलेको उनको आरोप छ । पैसा उठाउने काममा पत्रकारको आवरणमा लम्साल नै आफ्नो घरमा आउने गरेको पीडित देवको आरोप छ ।

‘शिव लम्साल नै पैसा उठाउनका लागि घरमा आउँथे,’ देवले भनिन्,‘यो धन्दामा उनीहरु दुवै जनाको संलग्नता छ ।’

 

पीडित देवका अनुसार उनीहरु ८ वर्षदेखि तिवारीसँग पीडित थिए । तिवारीले १ लाखको प्रतिदिन मात्रै २५ सयसम्म ब्याज लगाएको पीडित देवको भनाई छ ।

“अहिले ५ लाख र १८ लाखको मुद्दा हालेको छ । तर मैले ५ लाख तिरेको बैक विवरण पनि बुझाएको छु तर त्यो न्यायाधिशले किन हेर्नु भएन ? न्यायाधिशले चेक मात्रै हेरेर हुन्छ,?” उनको सोझो प्रश्न छ ।
तर, बैंकिङ कसुरसँग सम्बन्धित कानुनमा पैसा नभएको चेक दिनु वा काट्नुलाई नै अपराध मान्ने गरिन्छ ।

देव लगायत पीडितहरुले तिवारी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेका छन् । उजुरीका विषयमा केहीदिन अघि जिल्ला प्रशासन कार्यालयमा छलफल समेत भएको थियो । ‘छलफलमा शान्ति तिवारीले हामीलाई मिटरब्याज लगाएको आसय प्रष्ट भएको थियो,’ पीडित देव भन्छिन्,‘हामीले न्याय पाउँछौँकी भन्ने आसा बढेको छ ।’

पीडितहरुलाई सञ्चार माध्यममा जानबाट समेत तिवारीले रोकेको र डरधम्की दिएको देवको आरोप छ । ‘म लगायत दर्जनौँ व्यक्ति पीडित हुनुहुन्छ । कसैलाई डर धम्की दिनु भएको छ । मेरो दिप्ती भन्ने साथी पनि अहिले प्रतिउत्तर लगाएर अमेरिका जानु भएको छ । उहाँको १०/१२ लाखको कारोबार हो । तर, ३२ लाख ५० हजार पाउँ भन्दै जिल्ला अदालतमा तिवारीले मुद्दा हाल्नु भएको छ,’ उनले भनिन्,‘नविना शाही, शारदा शेर्पा, कविता सुब्बा र अम्बिका दिदि हुनुहुन्छ । त्यतिमात्रै होइन धेरै मान्छे शान्तिबाटीकामा आएर बस्नु भएको छ । एक जना विरुद्ध पक्राउ पुर्जी छ बोल्न डराई रहनु भएको छ । १०/१२ जना जेलमा हुनुहुन्छ ।’

देवका अनुसार आफ्नो शान्तिसँग चिनजान हुँदा उनी सामान्य व्यक्ति थिइन् । तर, मिटरब्याजकै धन्दा शुरु भएपछि अहिले करोडौँको सम्पत्ति छ । ‘त्यतिका सम्पत्ति कहाँबाट आयो त ? कति दिदि बहिनीलाई चुसियो ? मुद्दामाथि माथि छ,’ मैले सबै कारोबार तिर्दा तिर्दै पनि पक्राउ पुर्जी छ भन्ने हल्ला गरियो । ५ लाख रुपैयाँ तिरेको सबै प्रमाण छ त्यही मुद्दा अदालतमा हालेर हल्ला गरिएको छ । उहाँले आफ्नो श्रीमान शिव लम्साललाई धम्काउन पठाउनु हुन्थ्यो । उहाँ पत्रकार हो रे ।’
पत्रकार तथा प्रेस युनियनका अध्यक्ष शिव लम्सालसँगको संक्षिप्त कुराकानीः

शान्ति तिवारी यहाँको श्रीमती हो ?

हो ।

उहाँमाथि मिटरब्याज लगाएर दर्जनौँ व्यक्तिमाथि ठगी गरेको आरोप छ । यो धन्दामा तपाईंको पनि संलग्नताको आरोप छ नी ?

तपाईले भनेका आरोपमा कुनै सत्यता छैन । यी कुरा गलत हुन् । जो आफूलाई पीडित भनेर हिडीरहनु भएको छ, उहाँहरुको कसैको होस्टेल कुनैको ब्यूटीपालर लगायत व्यावसाय थियो । हामीले रकम दिएको हो तर तपाईले भने जस्तो मिटरब्याजमा पैसा लगाएको होइन । म जत्तिको मान्छेले यो काम गर्न सक्छ ? पैसा लिने अनि तिर्नु पर्छ भनेर अहिले विरोध गर्दै हिडिरहेका छन् । हामी आफै सक्किन लागेपछि हामीले दिएको रकम नलिने भन्ने हुँदैन । यो कारोबार अहिलेको नभई ७० देखि ७५ सम्मको हो ।

 

यही लफडामा मैले ३ वर्ष अदालतको मुद्दा खेपेको छु । उल्टै हामी पीडित छौ । मैले आमाको जग्गा धितो राखेर एनआइसी एसीया बैंकबाट १ करोड २० लाखको लोन लिएको छु ।
मैले अथवा मेरो श्रीमतीले मिटरब्याजबाट रकम असुलेको भए हाम्रो आयस्रोत रामै हुदो हो सम्पत्ति पनि करोडौंको हुनु पर्ने तर खोइ म अहिले लोनमै चलेको छु । यही कारणले हाम्रो पारिवारिक लफाडासमेत भएको छ ।

केही पीडितको घरमै तपाईंले धम्की दिएको समेत कुरा हामीलाई बताउनु भएको छ । यसमा तपाईंको प्रतिक्रिया के छ ?

यो उहाँहरुको आरोप मात्रै हो । ३ वर्ष अघि मुद्दा पनि परेको थियो मैले धम्की दिए भनेर तर त्यसमा कुनै सत्यता नभेटिएपछि फैसला मेरो पक्षमा आयो । तर फेरि उहाँहरुले पुनरावेदनमा पनि दिनु भयो पछि त्यो कुरा सत्यता नै नभएपछि कसको के लाग्छ । जिल्ला अदालतमा ३ वर्षसम्म मैले मुद्दा खेपेको हो । अहिले उहाँहरुका सबै कुरा झुटो सावित भएपछि जिल्ला प्रसासन कार्यलयमा छलफल पनि भइरहेको छ । त्यो छलफल पनि मेरै आग्रहमा भएको हो । उहाँहरुले रकम तिर्नु नपरोस् भनेर सिडिओमा जानु भएको हो र अहिले शान्तिवाटिकामा पनि उहाँहरुले आन्दोलन गरिरहनु भएको छ भन्ने सुनेको छु ।

तर जसले जस्तो आरोप लगाए पनि उहाँहरुले लगाएको आरोपमा कुनै सत्यता छैन । मिटरब्याजबाट रकम असुल्ने मान्छेको त करोडौंको सम्पत्ति हुनु पर्ने होइन र ? यो घटना न्युज २४ मा रवि लामिछाने हुँदा पनि गएको थियो । त्यसपछि यसका कुनै सत्यता नभेटेपछि समाचार आएन । उनीहरुले गतल आरोपहरु लगाइरहेका छन् ।

लम्सालले अन्तिममा यो विषयका पछि नलाग्न समेत संवाददातालाई अनुरोध गरे ।

‘यो विषयको पछाडी तिमी नलाग । बरु भोली भेटेर कुरा गरौँला,’ उनले भने ।

शान्ति भन्छिन्,‘म पीडित हुँ, दुख सुखमा साथ दिँदा म कसरी मिटरब्याजी भएँ ?

तपाईंले मिटर ब्याज धन्दा चलाएको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको रहेछ । सिडिओ कार्यालयमा छलफल पनि चलेको रहेछ नी मिटरब्याज लगाउनु हुन्छ हो ?

के हो मिटरब्याज भनेको मलाई थाहा नै छैन । मैले चिने जानेको दिदी बहिनीलाई अप्ठ्यारो पर्दा सहयोग गरेको हो तर उनीहरुले मेरो पैसा अहिलेसम्म तिरेका छैनन् । मेरो पैसा खाएर तिर्नुपर्छ भनेर विरोध गर्दै हिडेका छन् । दुःख सुखमा साथ दिदा म कसरी मिटरब्याजी भए ?

ललिता देवले तपाईंलाई १८ लाखको ६१ लाख ब्याज बुझाएको भन्नु भएको छ । फेरी तिरिसकेको १८ लाखलाई पनि मुद्दा हाल्नु भएको हो ?

यो कारोबार २०७० सालदेखि ०७७ सालसम्मको हो आजको पनि होइन । मा बाट रकम लिएर तिर्दै नतिरने हुँदैन । अस्ति जिल्ला प्रशासन कार्यलय काठमाडौंमा ललितासहित २ जनासँग छलफल भएको थियो । त्यो म बाट रकम लिएको हो की होइन भनेर सोध्दा लिएको हो भनेका छन् । तर पैसा लिइसकेपछि नतिर्ने भन्ने हुँदैन । मेरो जस्तो पैसा कतिको खाएका छन् । तिर्नुपर्छ भनेर अहिले लफडाबाजी गरेका छन् ।

त्यस्तै उहाँँले ५ लाख रुपैयाँको दैनिक २५ सयको दरले ब्याज असुल्नु भएको र उक्त रकम तिरेको भौचर समेत छ भन्नु भएको छ यसले तपाईंमाथि लागेको अरोप पुष्टि हुँदैन र ?

यो आरोमा सरासर झुट हो । मैले कुनै दरले ब्याज खाएको छैन । मैले एकमुष्ट रुपमा दिएको १८ लाख र ५ लाख हो त्यसको एक रुपैयाँ पनि अहिलेसम्म तिर्नु भएको छैन । उहाँले मलाई ६१ लाख बुझाएको भन्नु भएको छ यो मेरो चरित्र हत्या गर्न लगाइएको आरोप हो । उहाले मलाई एक रुपैयाँ पनि फिर्ता देको मलाई याद छैन । उहाँहरुलाई जे बोल्दा पनि हुँन्छ भन्ने लाग्छ । अहिले म आफैँ ऋणमा चलेको छु ।

विरामी छु एक झोला औषधि खानु पर्छ मेरो उपचारमा समेत पैसा नहुँदा मैले ऋण लिएर उपचार गरेको हो । त्यसैले उहाँहरु यी सबै गलत आरोपहरु हुन् । साँचि भन्ने हो भने म उल्टो उहाँहरुबाटै पीडित छु ।