गाउँपालिका अध्यक्षको सेटिङमा बुढिगण्डकी क्षेत्रमा राधे समूहको अवैध उत्खनन्, प्रशासन मुकदर्शक

दियोपोस्ट संवाददाता  

धादिङ । बुढिगण्डकी जलविद्युत आयोजनाले अधिग्रहण गरेको धादिङको ज्वालामुखि गाउँपालिका ५ खरीस्थित नदि किनारका क्षेत्रमा अवैध उत्खनन् भइरहेको पाइएको छ । ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यमनाथ दनैँको सेटिङमा यो क्षेत्रमा गुण्डा नाइके राधे भण्डारीको समुहले अवैध उत्खनन् गरि नदिजन्य पदार्थ निर्वाद विक्री गरिरहेको खुलेको हो ।

भण्डारीले आफ्ना भाई गोपिकृष्ण भण्डारीलाई यो धन्दामा सामेल गराएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दनैलाई गुण्डाहरुको समुहलाई सेटिङमा उत्खनन्को अनुमति दिएको पाइएको छ । गाउँपालिकाको वेभसाइटमा सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको कुनै जानकारी समेत नदिई लुकाएर उत्खनन्को अनुमति दिएको खुलेको हो ।

विगत ३ वर्षदेखि भण्डारीको समुहले यो क्षेत्रमा अवैध उत्खनन् गरिररहेको छ । सरकारले बुढिगण्डकी जलविद्युत परियोजनाको लगानी र निर्माणको मोडल स्विकृत गरिसकेको छ । सो क्षेत्रका जग्गाधनीहरुले मुआब्जा समेत बुझिसकेका छन् । तर, मुआब्जा बुझेको र हाल बुढिगण्डकी जलविद्युत परियोजनाको क्षेत्राधिकार भित्र पर्ने जग्गामा गुण्डाहरुको समुह परिचालन गरेर उत्खनन् भइरहेको हो ।


स्थानियका अनुसार उत्खनन् भएका नदिजन्य पदार्थहरु गुण्डा नाइके राधाकृष्ण भण्डारीका भाई गोपिकृष्ण भण्डारीको स्वामित्व रहेको गर्भिक कन्स्ट्रक्सन एण्ड निर्माण कम्पनि लेखिएको टिफरबाट नदिजन्य पदार्थ उठाउने गरिएको छ । पालिका अध्यक्ष दनैले बुढिगण्डकी क्षेत्र भित्र पर्ने नदिजन्य पदार्थ उत्खनन्को ठेक्का लगाउँदा समेत राजनीतिक विभेद गरेको स्थानियबासी बताउँछन् । गाउँपालिकाले आफ्ना पार्टी निकट गुण्डाहरुको समुहलाई ज्वालामुखि ५ र ७ को क्षेत्रमा पर्ने बालुवा उत्खनन् गर्दा ९ लाखमा ठेक्का लगाइएको गाउँपालिकाकै एक अधिकारी बताउँछन् ।

यो क्षेत्रमा धेरै उत्खनन् हुने र बजार समेत ठूलो भएपनि ९ लाख रुपैयाँमा ठेक्का लगाएर अनियमितता गरिएको ती अधिकारी बताउँछन् । तर, बजार पुग्नै असहज हुने ज्वालामुखि १ मा भने अन्य दलका कार्यकर्ता भएको आरोपमा १६ लाख रुपैयाँमा ठेक्का लगाइएको र ठेक्कामा सहभागी हुन त्यहाँका स्थानियले नसकेको पाइएको छ । पालिका अध्यक्षले नुवाकोटस्थित सडक डिभिजन आयोजनाबाट ज्वालामुखि १,२ र ३ मा आह्वान भएको सडक निर्माणको ठेक्कामा आवश्यक पर्ने नदिजन्य पदार्थका लागि भने पालिकामा राजश्व बुझाउन लगाएर मात्रै उत्खनन् गर्न दिएको थियो । तर, लिफ्टििङ खानेपानीको ठेक्का पार्ने धादिङकै रायटार घर भएका नारायण श्रेष्ठलाई भने पालिका अध्यक्ष दनैले गैरकानुनी रुपमा उत्खनन् गरेको नदिजन्य पदार्थ उपयोग गर्न दिएका छन् । त्यसका लागि मैदीस्थित प्रहरी चौकीलाई समेत पालिका अध्यक्ष दनैले अवरोध नगर्न भनेका छन् ।

गुण्डागर्दीको आडमा वडा नम्बर ५ र ७ का नदि किनारहरुमा स्थानिय राम सिंखडासँग मिलेर अवैध उत्खनन् भइरहेको स्थानियबासीको गुनासो छ ।
ज्वालामुखि गाउँपालिकाले ठेक्का दिइएको विषयमा वेभसाइटमा कुनै विवरण राखेको छैन । जबकी सार्वजनिक जानकारीका लागि यस्ता विषय राख्नका लागि वेभसाइट बनाइएको हो ।

ज्वालामुखि गाउँपालिकाका प्रमुख प्रशासकीय अकिृत हरेराम शाहलाई यस विषयमा बुझ्नका लागि पटक पटक सम्पर्क गर्दा पनि फोन उठाएनन् । त्यस्तै राजश्व शाखाका प्रमुख बाबुराम दुवाडीले पनि फोन उठाएनन् ।

सिफारिस