काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।
परिवार स्रोतका अनुसार मोहनप्रसादको भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी केही समयदेखि अस्वस्थ रहँदै आएका थिए।
अस्पताल स्रोतका अनुसार निधनपछि उनको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। परिवार र आफन्तलाई अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था त्यहीँ गरिने जनाइएको छ।
यसपछि आजै पशुपति अर्यघाटमा उनको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको बताइएको छ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन्। लामो समयसम्म कृषिमा संलग्न रहेका उनी परिवार र समाजमा सरल जीवनशैलीका लागि परिचित थिए।
मोहनप्रसाद ओलीको निधनसँगै एमाले अध्यक्ष ओली तथा उनका परिवार शोकमा डुबेका छन्। राजनीतिक दलका नेताहरू र शुभेच्छुकहरूले पनि सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।