वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ४२ हजार मानिसको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदुषणका कारण हजारौँ मानिसको मृत्यु हुने गरको तथ्य सार्वजनिक गरेका हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मृत्यु हुने मध्ये करिब २१ प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा हुने गरेका छन्।

वायु प्रदूषणका कारण दमलगायत श्वासप्रश्वाससम्बन्धी रोग, मुटु रोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरण शक्ति कमजोर हुने जस्ता समस्या बढ्ने गरेको डा. बुढाथोकीले बताए । विशेषगरी बालबालिकामा प्रदूषणको असर झन् गम्भीर देखिने गरेको उनको भनाई छ।

विज्ञहरूका अनुसार यसले श्वासप्रश्वाससम्बन्धी समस्या बढाउने, मुटु रोगको जोखिम बढाउने, शिशु बिरामीदर बढाउने तथा बाल्यकालमै क्यान्सरको जोखिम निम्त्याउने सम्भावना हुन्छ। साथै, मस्तिष्क विकासमा ढिलाइ, असामान्य व्यवहार, कुपोषण लगायतका समस्या पनि देखिन सक्छन्।

यसबाहेक वायु प्रदूषणका कारण कम तौलका शिशु जन्मिने, रक्तअल्पता हुने, बाँझोपनको समस्या बढ्ने, गर्भकालीन मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने सम्भावना पनि रहने बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेको मापदण्डभन्दा करिब आठ गुणासम्म बढी देखिएको छ। बिहीबार नेपालमा वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ सम्म पुगेको थियो।

डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन। यस्ता सूक्ष्म कण हावामा लामो समय तैरन सक्छन् र सासमार्फत फोक्सोसम्म पुगेर स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछन्।

वायु गुणस्तर सूचकांक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सम्म सचेत रहनुपर्ने अवस्था, १०१ देखि १५० सम्म जोखिम समूहका लागि हानिकारक र १५१ भन्दा माथि पुगेमा सबैका लागि अस्वस्थ मानिन्छ।

यदि वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सकिएमा नेपालीको औसत आयु प्रत्येक वर्ष करिब ३ दशमलव ३ वर्षले बढ्न सक्ने अनुमान गरिएको छ। विश्वभर भने वायु प्रदूषणका कारण वर्षेनी करिब ७९ लाख मानिसको मृत्यु हुने गरेको छ, जसमा ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक छन्।

नेपालमा सवारीसाधनबाट निस्कने धुवाँ, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहोर तथा जैविक पदार्थ जलाउने चलन, सडक र निर्माण कार्यबाट उड्ने धुलो, वन डढेलो तथा किटनाशक र विषादीको प्रयोग वायु प्रदूषणका प्रमुख कारण मानिन्छन्।

सिफारिस