कोरोनाको त्रासः उपत्यकामा सार्वजनिक सवारी बन्द गर्ने सरकारको तयारी

दियो पोस्ट  

चिनको वुहानबाट सुरु भएको विश्वभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड– १९) संक्रमणको सम्भावित जोखिमलाई न्यून गर्न काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।

सवारी बन्दको निर्णय गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकजारी छ । शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।

गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो ।

त्यसैगरी यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुटपरमिट खुला गरेको छ ।