गृहमन्त्री बादल र भारतीय राजदुतबीच भेटवार्ता, कोरोनासँग मिलेर लड्ने प्रतिवद्धता

दियो पोस्ट  

काठमाडौँ, चैत ९ । गृहमन्त्री रामबहादुर थापा (बादल) र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राबिच भेटवार्ता भएको छ । आइतबार गृहमन्त्रालयमा भएको भेटमा मन्त्री बादल र राजदुत क्वात्राबिच दुई देशबिचको सम्वन्ध, आपसी सहकार्य र सहयोगको विषयमा छलफल भएको छ ।

नेपालका लागि भारतीय राजदुतको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक गृहमन्त्री बादलसँग भेट भएको हो । मन्त्री बादलले क्वात्रालाई वधाई दिँदै उनको कार्यकालमा नेपाल भारतको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे । भेटमा उनले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबिच सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

यसै सन्दर्भमा नेपाल–भारत सिमाबाट सो महामारी नफैलियोस भनेर सिमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रासँग आग्रह गरेका छन् । राजदुत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कोरोना भाइरस विरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए । कोरोनाको क्रासपछिको अवस्थामा नेपाल–भारत सिमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबिच पनि छलफल भईसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफुहरु तयार रहेको बताएका छन् ।

उनले भारतीय सहयोगमा काभ्रेको पनौतिमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी साधन उपलब्ध गराउने विषयलाई आफुले प्राथमिकतामा राख्दै यसलाइ छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराएका छन् ।