वनमा खेर जाने ऐँसेलु बेचेर खर्च जुटाउनेहरू

दियो पोस्ट  

उनीहरू वनपाखा चहारेर ऐँसेलु टिप्छन्। मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन्। त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन्।

ऐँसेलु देखाउँदै गाडीको झ्यालतिर हात लम्काउँछन्। यात्रुलाई किन्न विनयपूर्वक आग्रह गर्छन्। कसैले गाडी रोकेर किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका कतिपय महिलाको हिजोआजको दैनिकी यही हो।

मंगलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका थिए। झरीकोसमेत पर्वाह नगरी उनीहरू हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका थिए।

काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुखजिलो काम भएको मनमायाले सुनाइन्।

‘बिहान ऐँसेलु टिप्छौं, दिउँसो बाटोमा ल्याएर बेच्छौं,’ उनले भनिन्, ‘टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैपर्‍यो।’

टपरीझैं खिपेको हरियो पातमा राखिएको ऐँसेलुको मूल्य एक सय रूपैयाँ हो। कुनै दिन त एकै जनाले दुई हजार रूपैयाँसम्मको बेच्ने उनीहरूले बताए। दैनिक ज्यालादारी काममा भन्दा धेरै पैसा आउन थालेपछि उनीहरू ऐँसेलुतिर आकर्षित भएका हुन्।

‘ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न। कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ,’ मनमायाले भनिन्, ‘फुर्सदका दिनको सदुपयोग पनि भएको छ। घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ।’

बढीजसो सहरिया मानिसको रोजाइमा ऐँसेलु पर्छ। विदेशी पर्यटकले पनि किनेर खाने उनले बताइन्।

लोकमार्गले छोएको कास्कीको फेदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन्। पहाडी भेगका अरू राजमार्ग छेउछाउ पनि ऐँसेलु किनमेल हुन थालेको छ।

बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन्। वयस्क पुरुष भने यो काममा खासै भेटिँदैनन्।

बागलुङको काठेखोला गाउँपालिका–५ का दुई दाजुभाइ शिशिर र विश्वास केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका थिए। शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाए। त्यसअघि उनीहरूलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन। अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरूले सिकेको शिशिरले बताए।

कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उनको भनाइ थियो। उनीहरूसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्यायले बालापनको सम्झना आएको बताए। उनले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाए।

पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो। पछिल्लो समय त्यो क्रम हट्दै गएको छ। चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाक्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए।

‘ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन्। तर हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन,’ उनले भने, ‘केही ठाउँमा ऐँसेलु संकलन गरेर बेच्न थालिएको छ। वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो।’

रासस