प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी लगायत भारतमा आज अन्तिम चरणको मतदान भइरहेको छ।

चुनावको परिणाम आगामी बिहीवार मे २३ तारिखका दिन घोषणा हुने ठानिएको छ।
मोदीको भारतीय जनता पार्टी (बीजेपी) र मुख्य विपक्षी कंग्रेस तथा क्षेत्रीय शक्तिशाली पार्टीबीच कडा प्रतिस्पर्धा भइरहेको विश्लेषकहरू ठान्छन्।
सन् २०१४ मा भारी मत हासिल गरेका मोदीका लागि जनमत सङ्ग्रहका रुपमा पनि कतिले यसलाई लिने गरेका छन्।
लामो र तिक्ततापूर्ण चुनावी प्रचार प्रसारपछि भएको ६ हप्ता लामो मतदानको परिणाम २३ मेका दिन घोषणा हुने बताइएको छ।

बीजेपीले सन् २०१४ मा २८२ सीट जिते जस्तै यो वर्ष पनि जित हासिल गर्ने आशा राखेको छ।
त्यसबेला कंग्रेसले ४४ सीटमा खुम्चिएर ठूलो हार बेहोर्नुपरेको थियो।
लोकसभा भनिने ५४३ सदस्यीय तल्लो सदनमा बहुमत प्राप्त गर्न कम्तिमा २७२ सीट प्राप्त गर्नुपर्नेछ।
बीजेपीका लागि मत आकर्षण गर्ने मुख्य व्यक्ति प्रधानमन्त्री मोदी स्वयं हुन्। अघिल्लो पल्ट भारी मतले जितेको निर्वाचन क्षेत्रमा उनले यसपटक पनि जित्नेछन् भन्ने ठानिएको छ।
तर आलोचकहरूले उनको आर्थिक वृद्धिदर र रोजगारी बढाउने प्रतिबद्धता अपेक्षा गरे अनुरुप नभएको बताउँछन्। र उनको नेतृत्त्वमा भारत धार्मिक रुपमा विभाजित भएको बताइन्छ।
उनका मुख्य प्रतिद्वन्द्वी कंग्रेस नेता राहुल गान्धी हुन्।
तर खासमा सरकार बनाउनेक्रममा मुख्य खेलाडी भने शक्तिशाली क्षेत्रीय शक्तिहरू हुने ठानिएको छ।
अब सबैका आँखा मतदान गरेर फर्किएकाहरूसँग कुराकानी गरेर गरिने एग्जीट पोलमा छन् जुन आइतवार साँझ भारतीय सञ्चार माध्यमहरूले प्रकाशित गर्नेछन्।
तर ती प्रक्षेपण त्यती सही नहुने ठानिन्छ।
अर्थतन्त्र संभवत सबभन्दा ठूलो मुद्दा हो।
कृषि सङ्कटमा छ, बेरोजगारी बढ्दो छ र भारत आर्थिक मन्दीतर्फ मोडिइरहेको छ भन्ने त्रास बढ्दो छ।
मोदी सरकारमा आएपछि संसारको यो छैठौं ठूलो अर्थतन्त्रले गति केही गुमाएको छ।
आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहँदै आएको छ। र एउटा चुहाइएको सरकारी प्रतिवेदनले बेरोजगारी सन् १९७० यता सबभन्दा बढी रहेको देखाएको छ।
कृषि आम्दानी घटेको छ, कैयौं किसानहरू ऋणमा डुबेका छन्।

कैयौंले चुनावलाई भारतमा पहिचान र अल्पसङ्ख्यकहरूको लडाइका रुपमा पनि हेरेका छन्।
गएको ५ वर्षमा हिन्दू राष्ट्रवादीहरू मुलधारमा छन्, यसैबेला अल्पसङ्ख्यकहरूमाथि आक्रमण भएका छन् र दर्जनौं मुस्लिमहरू गाई तस्करी गरेको आरोपमा मारिएका छन्।
जसले उत्तर प्रदेश जित्छ उसैले भारतीय निर्वाचन जित्छ भन्ने गरिन्छ। यो प्रदेशबाट सबभन्दा धेरै ८० जना सांसद निर्वाचित हुन्छन्। सन् २०१४ मा बीजेपीले ७१ सीट जितेको थियो । तर अहिले त्यहाँ इतिहास दोहोरिन्छ भन्ने निश्चित छैन।
आश्चर्यजनक रुपमा बहुजन समाज पार्टी (बीएपी) र समाजवादी पार्टी (एसपी) जो विगतमा कट्टर प्रतिस्पर्धी थिए ती दुवैले वृहत् गठबन्धन बनाएका छन् मोदी विरुद्ध।
दुवै मिलेर जित्न सक्ने सीटका कारण बीजेपीले सन् २०१४ मा जस्तो सीटसङ्ख्या हासिल नगर्ने आकलन गरिएको छ।
उत्तर प्रदेशमा हुने हारको बदलामा पश्चिम बङ्गाल जस्ता प्रदेशबाट धेरै जित्ने अपेक्षा सत्तारुढ दलको छ।
भारतका पाँच दक्षिणी प्रदेशहरू आन्ध्र प्रदेश, तेलाङ्गना, तामिल नाडु र केरलाले बीजेपीलाई पहिलेकै चुनावमा धक्का दिएका छन्। त्यसबेला ९१ सीटमा बीजेपीले चार सीट मात्र हात पारेको थियो।

यदि बीजेपीले हार बेहोर्यो भने यी प्रदेशा विजेता पार्टीहरूको आगामी केन्द्र सरकार बनाउनमा महत्त्वपूर्ण भूमिका हुन सक्छ।
बीजेपीले आफ्नो बहुमत कायमै राख्न सक्छ र केही सीट हारेपनि दोश्रो कार्यकालका लागि मोदी विजयी हुनेछन्।
अथवा त्यहाँ त्रिशङ्कु संसद् बन्न सक्छ जहाँ कसैको पनि बहुमत हुनेछैन्। त्यसो भएमा क्षेत्रीय पार्टीहरू महत्त्वपूर्ण खेलाडि बन्नेछन्।
कंग्रेस पार्टीले बहुमत प्राप्त गर्ने मौका असाध्यै झीनो छ। उसले सन् २०१४ मा उसको राम्रो आधार रहेको उत्तर प्रदेश गुमायो।
अहिले पनि पूर्व र दक्षिणमा चुनाव अघि गठबन्धन गर्न पनि सकेन। विविसीबाट