काठमाडौँ । बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। घटनापछि मृतकका आफन्तले चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सकहरूले सेवा बन्द गरेका छन्।
बाँकेको बैजनाथ गाउँपालिका-६ निवासी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि सोमबार बिहानदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन सुरु भएको थियो। आफन्तहरूले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीका कारण मृत्यु भएको आरोप लगाउँदै क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।
विक सामान्य अवस्थामा मोटरसाइकलमार्फत अस्पताल पुगेकी थिइन्। मुटुसम्बन्धी समस्या रहेकी उनलाई मुटुरोग विशेषज्ञ डा. विकास नेपालको निगरानीमा उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूका अनुसार उपचारको बीचमै वरिष्ठ चिकित्सकले जिम्मेवारी कनिष्ठ कर्मचारीलाई सुम्पेर बाहिरिएका थिए।
घटनापछि पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भई प्रहरीमा उजुरी दर्ता गर्ने तथा नेपाल मेडिकल काउन्सिलमा छानबिनका लागि निवेदन दिने सहमति भएको थियो। यसैक्रममा शव बुझ्ने प्रक्रियामा केही आफन्तले अस्पताल प्रमुख, चिकित्सक र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेका थिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अस्पताल प्रमुखसहित केही चिकित्सकलाई सुरक्षा दिँदै जिल्ला प्रशासन कार्यालय पुर्याएको थियो।
अस्पतालका स्वास्थ्यकर्मीहरूले असुरक्षित वातावरण र घट्दो मनोबलको कारण देखाउँदै ओपिडी सेवा बन्द गरेका छन्, जसका कारण बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्।
समस्या समाधानका लागि भएको वार्तामा सहभागी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि समेत चिकित्सकको पक्ष लिएको आरोप लगाउँदै आफन्तहरूले अभद्र व्यवहार गरेको पत्रकार शरण कर्माचार्यले जानकारी दिएका छन्।