झापा । झापाको बिर्तामोड, चारआली र काँकडभिट्टा क्षेत्रमा केही तेस्रोलिंगी व्यक्तिहरूले नील हिरा समाजको परिचयपत्र देखाउँदै चन्दा सङ्कलन गरेको विषय विवादित बनेको छ। रुबिना किन्नर र मेघा किन्नरको तस्बिरसहितको कार्ड प्रयोग गरी चन्दा मागिएको स्थानीयले बताएका छन्।
उक्त कार्डमा ‘बिना परिचयपत्र कसैलाई अनुदान नदिनु’ र ‘नक्कली किन्नरदेखि सावधान’ भन्ने सन्देश उल्लेख भए पनि स्थानीयका अनुसार रकम तोकेर चन्दा माग्ने, नदिए गालीगलौज गर्ने तथा अभद्र व्यवहार गर्ने घटना बढेका छन्। यसले स्थानीयमा डर र त्रास सिर्जना भएको गुनासो गरिएको छ।
स्थानीयवासीले प्रतिष्ठित संस्थाको नाम प्रयोग गरी दबाब सिर्जना गरिएको आरोप लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। “पावरफुल ठाउँबाट आएका हौँ” भन्दै रकम माग्ने र अस्वीकार गर्दा दुर्व्यवहार गर्ने गरेको चारआलीका एक स्थानीयले बताए।
यसैबीच, चन्दा सङ्कलनमा संलग्न भएकी मेघा किन्नरले नील हिरा समाजको कार्ड आफ्नै भएको स्वीकार गर्दै आफ्नो पहिचानका लागि यस्तो काम गरिरहेको दाबी गरेकी छन्। उनले आफूहरूले ‘दुवा-आशीर्वाद’ दिने काम गर्ने र कसैलाई जबरजस्ती नगरेको दाबी गरिन्। रकम स्वेच्छाले दिइएको मात्र लिने उनको भनाइ छ।
उनले रोजगारीको अभावका कारण चन्दा सङ्कलन बाध्यता भएको उल्लेख गर्दै ‘नक्कली तेस्रोलिंगी’लाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याइन्। साथै, आफूहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउनुपर्ने माग पनि राखिन्।
रुबिना नेपाल, जो नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) दमक शाखामा कार्यक्रम संयोजकका रूपमा कार्यरत छन्, उनको नाम समेत यस प्रकरणमा जोडिएको छ। उनीमाथि केही समूहलाई परिचालन गरी चन्दा सङ्कलन गराएको आरोप लागेको छ, यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।
बिर्तामोड नगरपालिकाले यसबारे अनौपचारिक जानकारी पाएको भए पनि औपचारिक छलफल हुन बाँकी रहेको जनाएको छ। नगरपालिकाका सूचना अधिकारी जय तिम्सिनाका अनुसार ८-१० जनाको समूहमा चन्दा माग्ने गतिविधि भएको सूचना आएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले पनि घटनाबारे जानकारी प्राप्त भएको जनाउँदै थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार विषयबारे बुझ्ने काम भइरहेको छ।
यस घटनाले तेस्रोलिंगी समुदायको समग्र छविमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। अधिकारकर्मी र स्थानीयले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा समुदायको गरिमा संरक्षण गर्न माग गरेका छन्।