नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ, बीमा ऐन उल्लंघन गरेको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौं । बीमा सम्बन्धी कसुर गरेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ । उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको उल्लेख गरिएको छ।

सोही आधारमा सीआईबीले अनुसन्धानका लागि वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा भएको आर्थिक अनियमितता तथा कानुनी मर्यादा उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रचलित कानुनअनुसार बीमा क्षेत्रको पारदर्शिता र सुशासन कायम राख्ने उद्देश्यले प्राधिकरणको छानबिनपछि यो कारबाही अगाडि बढाइएको सीआईबीको भनाइ छ।