जिउँदो व्यक्तिलाई मृत घोषणा गर्ने वडाध्यक्षसहित चार जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदै रहेका व्यक्तिलाई मृत देखाउँदै मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव संजयकुमार चौधरी, साक्षी छोटे खाँ र झुट्टा विवरण पेश गर्ने तारिख मियाँ अन्सारी रहेका छन्।

जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि उनीहरूलाई आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिएका छन्।

अनुसन्धानका क्रममा तारिख मियाँ अन्सारीले मृत्यु दर्ताका लागि गलत विवरण बुझाएको खुलेको छ। उनले आफ्नै पिताको मृत्यु भएको भनी विवरण पेश गर्दै वडा नम्बर ५ का आफ्नै भाइ पर्ने ६६ वर्षीय व्यक्तिको गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए। तर उनका पिता भने २०६० सालमै बितिसकेका थिए।

मृत्यु दर्ता भएको जानकारी पाएपछि नाम समावेश गरिएका ती वृद्धका छोराले गत वर्ष चैतमा प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि यस विषयमा अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भई साक्षी बसेका अन्य सात जना भने हाल फरार रहेका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको अभियोगमा पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।