काठमाडौं । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदुत नियुक्तिको तयारी गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका बिभिन्न देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसंगै खुला प्रतिस्पर्धाद्वारा राजदुत नियुक्ति गर्ने तयारी गरिएको हो।
यद्यपी नेपालका प्रमुख मुलुकहरू भारत, चीन, अमेरिका र बेलायतसहित हाल १७ वटा राजदूत पद रिक्त रहेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र त्यसपछि २१ फागुनको निर्वाचनपछि गठन भएको बालेन शाह नेतृत्वको वर्तमान सरकारले उक्त निर्णयलाई निरन्तरता दिएको हो।
यसैबीच आगामी जुलाई अन्त्यसम्म थप ६ देशका लागि नियुक्त राजदूतहरूको कार्यकाल समाप्त हुने भएको छ। ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका लागि खटिएका राजदूतहरूको कार्यकाल सकिन लागेकाले रिक्त पदको संख्या अझै बढ्नेछ।
यसरी हेर्दा, वर्तमान सरकारले एकैपटक करिब २४ जना नयाँ राजदूत नियुक्त गर्ने गर्ने तयारी गरेको छ। यसका लागि सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ।
हालसम्म नेपालमा राजदूत नियुक्ति प्रायः परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू वा सत्तारूढ दलहरूको सिफारिसका आधारमा हुने गरेको थियो। तर वर्तमान सरकारले विगतको परम्परा तोड्दै पारदर्शी र प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य व्यक्तिहरूलाई अवसर दिने लक्ष्यसहित नयाँ अभ्यास सुरु गर्न लागेको जनाएको छ।
सरकारको यो कदमले कूटनीतिक क्षेत्रमा व्यावसायिकता र योग्यता आधारित नियुक्तिको नयाँ मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।