बाँदर व्यवस्थापन गर्दै काठमाडौं महानगर, विज्ञ भन्छन्– वैज्ञानिक ढंगले व्यवस्थापन गरिनुपर्छ

मानिसबाट बाँदर पीडित, बाँदरबाट मानिस पीडित

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत जेठ दोस्रो शाता तिलगंगास्थित घरमा कोहि नभएको बेला एकजना स्थानियको घरमा दुईवटा बाँदर झगडा गर्दै घरभित्र पसे । विद्युतिय तारमार्फत झगडा गर्दै भित्र पसेका बाँदरले घरभित्रको सरसामानमा नोक्सान गरे । यति मात्र नभई घाइते दुवै बाँदर घरको कौसीमा तिन दिनसम्म सुतिरहे । घर मालिकले घरबाट लखेट्न खोज्दा निस्कन नमानेका बाँदरले उल्टै झम्टिन खोज्थे । बाँदरको डरले त्रसित ति घर मालिक बादर हटाइदिन माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालय पुगे । महानगरपालिकाको पशुपंक्षी व्यवस्थापन टोलीले घाइते बाँदरको उद्धार गर्यो ।

बाँदरबाट पिडित भएको यो केवल एउटा प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय बाँदरले मानिसलाई दिएको हैरानी र बाँदर आक्रमणको त्रासका घटना बढ्दै गएको काठमाडौं महानगरपालिकाले जनाएको छ । शहरीकरणका कारण मानिसबाट बाँदर पिडित र बाँदरबाट मानिस पिडित हुने गरेको विज्ञहरुको भनाई छ ।

‘बढ्दो शहरी जनसंख्याका कारण वास्तवमा बादर र मानिस एकअर्काबाट पिडित छन् । जसका कारण मानव र बाँदरविच द्धन्द्ध बढिरहेको छ’ बाँदरको विषयमा विद्यावारिधि गरेका प्रा.डा मुकेश कुमार चालिसे भन्छन्, ‘काठमाडौमा पाइने रातो जातको बाँदर मानिससँग चाँडो नजिकिने, मासिका गतिविधि चाँडो नक्कल गर्ने स्वभावको हुन्छ । यो जातको बाँदरलाई रिस उठेमा वा दिक्क लागेमा प्रतिक्रिया स्वरुप झम्टिने, चिथोर्ने र आक्रामक खालको गतिविधि गर्छन् । मन्दिर जादा बाँदर देखेपछि जोकोहि बादरसँग चल्ने, भिडियो बनाउने, जिस्काउने गर्छन् । मानिसको यस्तो गतिविधि बाँदरलाई मन नपर्न सक्छ र प्रतिक्रियास्वरुप झम्टिने, चिथोर्ने र सताउने गर्छन् । यो भनेको मानव र बाँदर विचको द्धन्द्ध नै हो ।’

अनुसार नेपालमा विशेषगरी तीन मुख्य प्रजाति र छवटा उपजातका बाँदर पाइन्छन् । मुख्य प्रजातिका बाँदरमा रातो बाँदर, लङ्गुर बाँदर र पहरे बाँदर हुन् । त्यसमध्ये काठमाडौंका विभिन्न मन्दिर तथा स्थानमा पाइने रातो जातको बाँदर हुन् ।

‘शहरीकरण, प्राकृतिक वनको खण्डीकरण, र बढ्दो जनसंख्याका कारण मानिस र बाँदरविच द्धन्द्ध बढेको हो’ बाँदर व्यवस्थापनसम्बन्धि हिमाल खबरसँग कुरा गर्दै अर्का बाँदर विज्ञ सविना कोइरालाले भनेकी छन्, ‘यो क्रम आगामी भविष्यमा झनै बढ्ने देखिन्छ । र बाँदर व्यवस्थापनमा चुनौती हुने देखिन्छ ।’

काठमाडौको मुख्य क्षेत्रभित्र १ हजार बढी बाँदर
काठमाडौ महानगरपालिकाको विभिन्न चार स्थानमा बादरको बसोबास रहिआएको छ । जसमा पशुपति क्षेत्र, स्वयम्भु, बालाजु र थापाथली क्षेत्र रहेका छन् । यसमध्ये सबैभन्दा बढि पशुपति र स्वयम्भु क्षेत्रमा बाँदरको संख्या बढि छ । महानगरपालिकाभित्र बाँदरको संख्या कति छ भन्नेबारे महानगरसँग तथ्यांक नै छैन ।
यद्यपि, बाँदर विज्ञ प्रा.डा चालिसेका अनुसार पशुपति क्षेत्रमा ५ सय, स्वयम्भु क्षेत्रमा ५ सय, बालाजु क्षेत्रमा १ सय र थापाथली क्षेत्रमा १२० गरी काठमाडौको मुख्य क्षेत्रभित्र १ हजार भन्दा बढि बाँदरको संख्या रहेको छ ।

महागरले कसरी गर्छ बाँदर व्यवस्थापन ?
बाँदर पिडितहरुले दिएको हैरानीविरुद्ध परेको उजुरीबारे महानगरसँग एकिन तथ्यांक छैन । यद्यपि, बाँदरले महानगरवासीलाई दुख दिएको भन्दै काठमाडौ महानगरपालिकाले बाँदर व्यवस्थापन गने योजना अघि सारेको छ । कृषि तथा पशुपन्क्षी विभागकाअनुसार महानगरले आर्थिक वर्ष २०८१/०८२ देखि लागु हुने गरि बाँदर व्यवस्थापनको कार्यक्रम अघि बढाउने गरी योजना बनाएको छ ।

पछिल्लो समय बढ्दै गएको बाँदर आतंक व्यवस्थापनका लागि काठमाडौ महानगरपालिकाले योजना अघि सारेको कृषि तथा पशुपन्क्षी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपाने बताउँछन् । ‘बाँदर पिडितले दिएको उजुरीको एकिन तथ्यांक नभएपनि जेठमा दुईवटा उजुरी परेको थियो’ उनी भन्छन्, ‘उजुरीको संख्या कम भएपनि गुनासोको आधारमा थुप्रै पिडितहरु हुनुहुन्छ । नगरवासीको सुरक्षाको लागि महानगरले बाँदर आतंक व्यवस्थापनको योजना अघि सारेको छ । बाँदर व्यवस्थापन चुनौतीपुर्ण भएपनि अपरिहार्य छ ।’

महानगरले बाँदरलाई कसरी व्यवस्थापन गर्ने योजना बनाएको छ त ? विभागिय प्रमुख न्यौपाने भन्छन्, ‘बाँदर व्यवस्थापन चुनौतीपुर्ण छ । किनकी बाँदरलाई समात्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र खानेकुरा दिएर व्यवस्थापन गर्न सकिदैन । तैपनि हामीले अहिलेलाई बाँदरको लागि वरिपरि तारजालीको घेरा लगाउने र पिँजडाजस्तो बनाउने सोचेका छौ । ताकि बाँदर भाग्न नपाओस् र फरक समुदायका बाँदरविच झगडा नहोस् । यसबारे बाँदरमाथि अध्ययन गरेका विज्ञहरुसँग छलफल गर्ने र वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने भन्ने योजना बनाएका छौ ।’

बाँदर व्यवस्थापनको लागि नेपाल मात्र नभई छिमेकी मुलुक भारत, थाइल्याण्ड लगायत मुलुकले विभिन्न कार्यक्रम लागु गर्दै आएका छन् । हालै भारत सरकारले अरुणाञ्चल प्रदेशलक्षित एउटा कार्यक्रम सञ्चालन गरेको थियो । बाँदरको संख्या घटाउन सुईमार्फत बादरलाई लठ्याउने र त्यसबाट बाँदरको प्रजनन क्षमता कम गर्ने विधि अध्ययनको लागि गत माघमा नेपालबाट १९ जना सांसदहरुले अरुणाञ्चल प्रदेश भ्रमण पनि गरेका थिए । तर भारतको तुलनामा नेपालमा उक्त विधि अपनाउन असम्भव भएको विभागिय प्रमुख न्यौपानेको भनाई छ । ‘भारतले चाहि प्रजनन क्षमता कम गराएर बादरको संख्या कम गराउने गरी त्यस्तो उपाय अपनाएको छ । ‘भारतमा निकै उन्नतखालका प्रविधि भित्रिसकेका छन्’ उनी भन्छन्, ‘तर हामीकहाँ भने उक्त विधि सम्भव छैन । र नेपालमा बादरलाई लठ्याएर नियन्त्रणमा ल्याउन पाइदैन ।’

 

‘वैज्ञानिक तरिकाले बाँदर व्यवस्थापन गरिनुपर्छ’
बाँदर आतंक नियन्त्रण तथा व्यवस्थापनको लागि नेपालका विभिन्न स्थानिय तहहरुले आआफ्नो तरिका अपनाएका छन् । बाँदर व्यवस्थापनको लागि महानगरले ल्याएको योजना उचित भएको बाँदर विज्ञ प्रा.डा चालिसे बताउँछन् । ‘विदेशतिर पनि बाँदर व्यवस्थापनको लागि विभिन्न अभ्यास गरिन्छ । काठमाडौ महानगरले पनि बाँदर व्यवस्थापनबारे सोच्नु र योजना अघि सार्नु भनेको उचित कदम नै मान्नुपर्छ’ उनी भन्छन्, ‘तर बाँदर व्यस्थापन विज्ञान सम्वत् हुनुपर्छ । हचुवा तालमा योजना बनाएर मात्र हुन्न ।’

मन्दिरका बाँदरहरु रोगी भएकोले बाँदरको वैज्ञानिक तरिकाले व्यवस्थापन गरिनुपर्ने बाँदर विज्ञ प्रा.डा चालिसे बताउँछन् । ‘काठमाडौंका मन्दिरका बाँदरहरु रोगी छन्’ उनी भन्छन्, ‘रोगी बाँदर स्थानान्तरण गर्न मिल्दैन, रोग फैलने डर हुन्छ । स्थानियले पनि अन्यत्रको बाँदर आफ्नो क्षेत्रमा ल्याउन दिदैनन् । त्यसैले महानगरले कुन स्थानमा कतिवटा बादर, कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रष्ट हुनुपर्छ । बाँदरमा भएको रोग मानिसमा सर्ने सम्भावना बढि भएकोले वैज्ञानिक तरिकारले बाँदर व्यवस्थापन गरिनुपर्छ ।’

उनकाअनुसार काठमाडौंका मन्दिरमा पाइने बाँदरहरु रोगी छन् । छालासम्बन्धी रोग, रौझर्ने रोग, पेटसम्बन्धी रोग, पेटमा जुका पर्ने र आँखा पाक्ने रोगले काठमाडौका बाँदरहरु ग्रसित छन् । पोथी बाँदरहरुमा सानो उमेरमा बच्चा पाउने कारण आङ खस्ने रोगले ग्रसित छन् ।