काठमाडौँ । वीरगञ्ज महानगरपालिका-३ अन्तर्गत छपकैया सुकुम्बासी टोल नजिकै सिर्सिया नदीमा डुबेर एक युवाको मृत्यु भएके छ । स्थानीयका अनुसार लागुु औषध सेवन गरि पौडी खेल्ने क्रममा सोही ठाउँका २० वर्षीय सुवेल अन्सारीको मृत्युु भएको हो ।
बिहिबारदेखि वेपत्ता रहेका अन्सारीको शुक्रबार दिउँसो करिब ४ बजे शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार अन्सारीले बिहीबार दिउँसो नजिकैको एक किराना पसलबाट ‘भ्याक्ट’ नामको लागुऔषध खरिद गरी सेवन गरेका थिए। त्यसपछि उनी पौडी खेल्न सिर्सिया नदीतर्फ गएको र त्यसयता सम्पर्कविहीन भएका थिए। स्थानीयले उनको मृत्यु लागुऔषध सेवनका कारण भएको भन्दै यसको खुल्ला बिक्री बितरणमा रोक लगाउनु पर्ने बताएका छन् ।
सो क्षेत्रमा खुलेआम लागुऔषध बिक्री–वितरण भइरहे पनि प्रहरी प्रशासन प्रभावकारी रूपमा सक्रिय नभएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार त्यस क्षेत्रका अधिकांश भट्टी तथा केही किराना पसलमा समेत लागुऔषध बिक्री हुने गरेको छ। भारतबाट लागुऔषध ल्याएर बिक्री गर्ने गरिएको र त्यसका कारण धेरै युवा कुलतमा फस्दै गएको उनीहरूको भनाइ छ।
लागुऔषधको कुलतमा परेका युवाहरू चोरी, घरायसी हिंसा तथा आफ्नै अभिभावकमाथि कुटपिटजस्ता आपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको एक स्थानीयले बताए । यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने निकायले आवश्यक कारबाही नगरी बेवास्ता गरेको उनकोे आरोप छ ।
मृतकका बुवा आलमा अन्सारीले सहज रुपमा लागुऔषध उपलब्ध हुने भएकाले युवाको जीवन जोखिममा परेको भन्दै सम्बन्धित निकायले अविलम्ब कडा निगरानी र कारबाही गर्नुपर्ने माग गरेका छन्।
प्राप्त जानकारीअनुसार शव फेला परेपछि पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
