पोखरा। नेपालका लागि आयोन (Aion), एक्सपेङ (Xpeng) र डायुन (Dayun) विद्युतीय सवारी साधनको आधिकारिक वितरक सी.जी. मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो नयाँ मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकाबाहिर पनि नवीन तथा वातावरणमैत्री विद्युतीय सवारी साधन (ईभी) को पहुँच विस्तार गर्ने व्यापारिक रणनीति अनुरूप कम्पनीले पोखरामा अत्याधुनिक सोरुम विस्तार गरेको हो।
उक्त नयाँ आउटलेटको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री भिम कार्कीले गर्नुभएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले सी.जी. मोटर्सले गुणस्तरीय सेवा र दीर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएको भन्दै कम्पनीको कदमको सराहना गर्नुभयो।

कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष दिपेन्द्र कोईरालाले उपत्यकाबाहिर पर्यावरणमैत्री सवारी साधनको विस्तार र प्रवर्द्धनमा सी.जी. मोटर्सले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो।
पूर्ण रूपमा ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटबाट ग्राहकहरूले एउटै छानामुनि सवारी साधनको अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा चुस्त बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। करिब १५० जनाभन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा नयाँ सवारी खरिदकर्ताहरूलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो। यससँगै कम्पनीले उपत्यकाबाहिर आफ्नो देशव्यापी शाखा विस्तार अभियानको औपचारिक सुरुवात समेत गरेको छ।

कार्यक्रमको समापन गर्दै सी.जी. मोटर्सका सहायक महाप्रबन्धक एवं कार्यक्रमका सभापति कञ्चन सिलवालले ग्राहकको सुविधाका लागि पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो। उहाँका अनुसार कम्पनीले हाल देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनको बलियो नेटवर्क निर्माण गरिसकेको छ, जसले ग्राहकहरूलाई सहज, पहुँचयोग्य र भरपर्दो चार्जिङ सुविधा सुनिश्चित गरेको छ। यही देशव्यापी चार्जिङ पूर्वाधारका कारण सी.जी. मोटर्स छोटो समयमै नेपालको सबैभन्दा विश्वसनीय ईभी प्रदायक कम्पनीका रूपमा स्थापित हुन सफल भएको दाबी सिलवालले गर्नुभयो।