कला क्षेत्रमा पस्किइँदै विकृतिः दुर्गेश थापाको ‘मास्टर्नी’ गीतमा शिक्षिकामाथि अपमान गरिएको भन्दै आलोचना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली समाजमा शिक्षक तथा शिक्षिकालाई सदियौँदेखि एक आदर्श, सम्मानित र मार्गदर्शक पात्रका रूपमा हेरिँदै आएको छ। कलिला बालबालिकाहरूको मस्तिष्कमा चेतनाको दियो बाल्ने र उनीहरूको सुन्दर भविष्य निर्माणका लागि अहोरात्र खटिने गुरु वर्गको गरिमा समाजमा सधैँ उच्च रहन्छ। तर, पछिल्लो समय व्यावसायिकता र सस्तो लोकप्रियताका नाममा सिर्जना गरिने कतिपय डिजिटल सामग्री र गीत९सङ्गीतले यो पवित्र मर्यादामै गम्भीर प्रहार गर्न थालेका छन्।

हालै युटुबमार्फत ‘मास्टर्नी’ चलचित्रको प्रमोशनका लागि बजारमा ल्याइएको गायक दुर्गेश थापाको नयाँ म्युजिक भिडियो ‘मास्टर्नी’ यसको पछिल्लो उदाहरण हो । जसले शिक्षिका वर्गको घोर अपमान गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

शिक्षिकाको गरिमामाथि प्रहार र आपत्तिजनक शव्द चयनः
उक्त गीतको बोल, शव्द संयोजन र दृश्य निर्माणको सूक्ष्म विश्लेषण गर्दा यसले प्रत्यक्ष रूपमा शिक्षिका वर्गको मर्यादामा आँच पुर्‍याएको अनुभुति हुन्छ। समाजमा चेतना फैलाउने मुख्य खम्बाका रूपमा रहेका शिक्षिकाहरूलाई लक्षित गर्दै तयार पारिएको यस गीतमा विद्यार्थी र शिक्षिकाबीचको पवित्र शैक्षिक सम्बन्धलाई बङ्ग्याएर कामुकता र सस्तो प्रेम सम्बन्धको रूपमा प्रस्तुत गर्न खोजिएको छ।

विशेष गरी गीतमा प्रयोग गरिएका हरफहरूले शैक्षिक क्षेत्रको धज्जी उडाएका छन्। गीतमा भनिएको छ, ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए, ट्यूसन पढाईदिन्छु बेलुकी घर आए… यु आर नट्टी व्वाय’

यस्ता शव्दहरूले शिक्षिका र छात्रबीच हुनुपर्ने प्राज्ञिक तथा आदरयुक्त सम्बन्धलाई भत्काएर अमर्यादित प्रेम सम्बन्धका रूपमा झल्काउन खोजेको स्पष्ट देखिन्छ। जुन नेपाली सामाजिक मूल्य-मान्यता र नैतिक शिक्षाको दृष्टिकोणले पूर्णतः गलत छ।

अश्शीलतालाई बढावा दिने शव्द र शैलीः
गीतको अर्को अन्तरामा प्रवेश गर्दा शब्दहरू झन् बढी उत्तेजक र अमर्यादित बन्दै गएका देखिन्छन्। शैक्षिक संस्थाभित्र सिकाइने क, ख वा अ, आ जस्ता अक्षरलाई समेत विकृत रूप दिँदै गीतमा भनिएको छ- ‘क ख होइन, अ आ पढाइदेउ, तिम्रो नजरले हामीलाई घायल गराइदेउ… मास्टर्नी तिम्रो आनी बानी सबै मन पर्नी, अब के गर्नी… अब बिहे गर्नी,’  यस खालको शव्द चयनले गीतलाई अश्लिल बनाएको छ ।

विद्यार्थीले शिक्षिकाको शारीरिक बनोट र नजरमाथि टिप्पणी गर्दै ‘घायल’ भएको दाबी गर्ने र अन्ततः ‘बिहे गर्ने’ सम्मको आशय व्यक्त गर्ने यस्ता हरफहरूले विद्यार्थी र शिक्षिकाबीच अश्लील सम्बन्धलाई जोड दिन खोजेको देखिन्छ।

गणितीय गुणन तालिकालाई समेत कुरुप बनाउँदै अर्को अन्तरामा भनिएको छ- ‘दुई एकान दुई, दुई दुना चार क्या सेक्सी यार, पाँच एकान पाँच, पाँच दुना दश, चुप लाएर बस।’ यसले कलाको नाममा शैक्षिक विम्बहरूको चरम दुरुपयोग भएको पुष्टि गर्दछ।

भिडियोको प्रस्तुतीकरण र हाउभाउमा उच्छृङ्खलता:
गीतका शव्दहरू जति आपत्तिजनक छन्, यसको म्युजिक भिडियोको दृश्य संयोजन र कलाकारहरूको प्रस्तुति त्योभन्दा बढी अराजक देखिन्छ।

भिडियोमा स्थापित नायिका प्रियंका कार्की ‘मास्टर्नी’ (शिक्षिका)को भूमिकामा देखिएकी छन् भने गायक दुर्गेश थापा स्वयं, नायक आयुष्मान देशराज र आर्यन सिग्देल शिक्षिकालाई जिस्काउने र आफ्नो प्रेम जालमा पार्न खोज्ने उच्छृङ्खल पात्रका रूपमा प्रस्तुत भएका छन्।

भिडियोमा उनीहरूको पहिरन (ड्रेसअप), शारीरिक हाउभाउ र नृत्यका स्टेपहरू शिक्षालयको वातावरण सुहाउँदो नभई भड्किलो र अश्लील देखिन्छ। भिडियोको अन्त्यतिर नायक आर्यन सिग्देलले शिक्षिकालाई लक्षित गर्दै ‘मास्टर्नीलाई खोज्दै आएको, कहाँ गई त्यो?’भन्दै सोध्ने शैलीले महिला शिक्षिकाहरूलाई समाजमा कुन नजरले हेरिँदै छ भन्ने एउटा गलत नजिर खडा गर्न खोजेको भान हुन्छ।

बाल मनोविज्ञान र समाजमा पर्ने नकारात्मक प्रभाव: 
गीत र सङ्गीत समाजको ऐना हुनुपर्छ र यसले समाजमा विद्यमान विकृति र विसङ्गतिविरुद्ध चेतना निर्माण गर्नुपर्छ। तर दुर्गेश थापाको यस गीतले समाजको हित गर्नुको सट्टा उल्टो बाटो समातेको छ।

सबैभन्दा चिन्ताको विषय त यसले विद्यालय जाने कलिला बालबालिकाको मानसपटलमा पार्ने नकारात्मक प्रभाव हो। आजको डिजिटल युगमा यस्ता भिडियोहरू बालबालिकाको पहुँचमा सहजै पुग्छन्। जब स्कुल जाने साना नानीबाबुहरूले यो गीत सुन्छन्, उनीहरूले पनि यसलाई गुनगुनाउँदै विद्यालय जान थाल्नेछन्। यस्तो अवस्थामा विद्यालयमा अध्यापन गराउने एउटी शिक्षिकाले कस्तो मानसिक तनाव, असहजता र असुरक्षा महसुस गर्लिन्? गीत निर्माण पक्षले समाजको यो अत्यन्तै संवेदनशील र गम्भीर पक्षलाई पूर्ण रूपमा नजरअन्दाज गरेको देखिन्छ।

नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’को प्रमोसनल गीतप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त गीत तत्काल हटाउन माग गरेको छ। महासंघले गीतमा महिला शिक्षकलाई लक्षित गरी प्रयोग गरिएका शब्दहरू अमर्यादित रहेको ठहर गर्दै यसले समग्र शिक्षक समुदाय र शिक्षण पेशाको गरिमामाथि गम्भीर आघात पुर्‍याएको जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा विवादित गीत तत्काल बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न निर्माण पक्षलाई आग्रह गरिएको छ।

यो गीत र यसको भिडियो नेपाली समाजको सांस्कृतिक चेतना र विद्यालयीय मर्यादाको विरुद्धमा छ। कलिला बालबालिकाहरूका लागि यो गीत सर्वथा अनुपयुक्त र सुन्नै नहुने खालको छ। तसर्थ, कला क्षेत्रमा यस्ता विकृतिहरू बढ्दै जान नदिन र शिक्षिका वर्गको आत्मसम्मानको रक्षाका लागि यस गीतको प्रसारणलाई तत्काल बन्द गरिनुपर्छ वा यसका आपत्तिजनक शव्द तथा दृश्यहरू पूर्ण रूपमा परिमार्जन गरेर मात्र युटुवमा राखिनुपर्छ। यसतर्फ निर्माण कर्ता र सरोकारवाला निकायले अविलम्ब कदम चाल्न जरुरी देखिन्छ।

 

सिफारिस