धितोपत्र-बिमा कसुर मुद्दाः दीपक भट्ट र सुलभ अग्रवाललाई करोडौं धरौटीमा रिहा गर्न अदालतको आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा अभियुक्त दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई करोडौं रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक सातासम्म निरन्तर चलेको थुनछेक बहसपछि बिहीबार उक्त आदेश जारी गरेको हो।

अदालतले बिमासम्बन्धी कसुरतर्फ सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ र दीपक भट्टसँग एक करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै धितोपत्रसम्बन्धी कसुरमा अग्रवालसँग थप एक करोड ५० लाख रुपैयाँ तथा भट्टसँग एक करोड रुपैयाँ धरौटी तोकेको छ।

यससँगै हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयरको नक्कली असाइनमेन्टसम्बन्धी छुट्टै धितोपत्र मुद्दामा अदालतले सुलभ अग्रवालसँग थप दुई करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ। यसअनुसार अग्रवालसँग विभिन्न धितोपत्र तथा बिमा मुद्दामा कुल पाँच करोड ८० लाख रुपैयाँ र भट्टसँग दुई करोड ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ।

यद्यपि, जिल्ला अदालतबाट धरौटीमा रिहा हुने आदेश आए पनि उनीहरू तत्काल रिहा हुने अवस्था भने छैन। उनीहरूविरुद्ध दायर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाले उक्त मुद्दाको कानुनी अवस्था यथावत् रहेको छ।

दीपक भट्ट र सुलभ अग्रवालसहित अन्य प्रतिवादीविरुद्ध धितोपत्र बजारमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको, बिमा कारोबारमा अनियमितता गरेको तथा अन्य आर्थिक कसुरसम्बन्धी आरोपमा विभिन्न अदालतमा मुद्दा विचाराधीन छन्।

सिफारिस