प्रज्ञा-मौनताको फाइदा: दुर्गेशले पढाएका ‘नयाँ नैतिक शिक्षा !’

राजेन्द्र भट्ट  

डिजिटल एल्गोरिदमको पासो, चरम उपभोक्तावादी बजार निर्देशित अराजकता र प्राज्ञिक क्षेत्रको उदासीन रिक्तताकै ताजा एवं विद्रूप परिणाम हो- चलचित्र ‘मास्टर्नी’को प्रचारप्रसारमा पस्किएको यो भाइरल गीत।

समाजलाई सही बाटो देखाउनुपर्ने विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान र प्राज्ञिक क्षेत्रहरू कि त कोठे विमर्शमा हराउँछन्, कि त राजनीतिक दलको भजन गाउन व्यस्त हुन्छन्। स्वभावत: समाजको सांस्कृतिक र नैतिक चेतको नेतृत्व सडक र सस्तो बजारका खेलाडीहरूको हातमा पुगिहाल्छ। बजार निर्देशित यही अराजकता र प्राज्ञिक रिक्तताको ताजा र विद्रूप परिणाम हो- चलचित्र ‘मास्टर्नी’को आवरणमा पस्किएको बजारिया उत्पादन (एक गीत)।

नेपाली सङ्गीत र चलचित्र क्षेत्रमा कलात्मक मूल्य स्थापना गर्नुभन्दा सस्तो लोकप्रियता र नियोजित विवाद सिर्जना गरेर भाइरल हुने रोग निकै पुरानो हो। गायक दुर्गेश थापाको साङ्गीतिक यात्रा त सधैँजसो यही स्थापित प्रवृत्तिकै पुनरावृत्ति बन्दै आएको छ। हालै उनकै अभिनय र स्वर रहेको चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ बोलको प्रमोसनल गीत युट्युब र टिकटक जस्ता सञ्चारमाध्यमहरूमा तीव्र आलोचना र विवादको केन्द्र बनेको छ। गीतको दृश्यांकन र क्यामरा अगाडिको प्रस्तुतीकरणले शिक्षण पेसाको न्यूनतम मर्यादासमेत कायम राख्न नसकेको र यसले पवित्र प्राज्ञिक क्षेत्रकै चीरहरण गरेको भन्दै यतिखेर चौतर्फी आक्रोश चुलिएको छ।

डिजिटल प्लेटफर्महरूमा लाखौँ भ्युज पाएको यस गीतको टिप्पणी (कमेन्ट) खण्डलाई मिहिन ढङ्गले केलाउने हो भने, त्यहाँ दर्शकहरूको गम्भीर आक्रोश र असन्तुष्टि छताछुल्ल देखिन्छ। प्रियङ्का कार्की र आर्यन सिग्देल जस्ता समाजमा स्थापित भनिएका र आफूलाई गम्भीर दाबी गर्ने कलाकारहरूको यस्तो भद्दारूप र गैरजिम्मेवार प्रस्तुतिप्रति दर्शकहरूले तीव्र आपत्ति पनि जनाएका देखिन्छ। परिणामस्वरुप, सामाजिक सञ्जालमा यो सामग्रीलाई ‘मास रिपोर्ट’ र ‘डिस्लाइक’ गर्ने एकीकृत अभियान नै सुरु भएको छ भने नियमनकारी सरकारी निकाय तथा चलचित्र सेन्सर बोर्डको गम्भीर ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीको मागसमेत जोडतोडले उठ्न थालेको छ।

यो विरोध केवल सामाजिक सञ्जालको भर्चुअल बहस र तात्कालिक आवेगमय अभिव्यक्तिहरूमा मात्र सीमित रहेन। यस गीतले सिर्जना गरेको विकृतिविरुद्ध हालै सङ्घीय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा औपचारिक उजुरी नै दर्ता भएको छ। तनहुँको ब्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले मन्त्रालयमा निवेदन दर्ता गराउँदै आपत्ति जनाएका हुन्। उक्त निवेदनमा चलचित्र ‘मास्टर्नी’को गीतले समग्र शिक्षक वर्ग, अझ विशेष गरी महिला शिक्षक र सिङ्गो शिक्षण पेसालाई नै होच्याउने र अमर्यादित रूपमा प्रस्तुत गरी संस्कृति भड्काउने शब्दहरू प्रयोग गरेको उल्लेख गर्दै गीतमाथि प्रतिबन्ध र संलग्नहरूमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ।

सस्तो लोकप्रियताको शिकार शिक्षक समुदाय

यहाँ प्रश्न केवल व्यक्तिविशेष कलाकारहरूको नैतिक स्खलनको मात्र होइन; बरु प्रविधिको दुरुपयोग र उपभोक्तावादी बजारले निर्माण गरेको कुरुप प्रणालीको हो। क्यामरा अगाडि उभिएर सामाजिक मूल्य र मान्यता विपरीतका हर्कत पस्कने, भिडियो मोनिटाइज गरेर डलर कमाउने र आफूलाई रातारात सेलिब्रेटी दाबी गर्ने परिपाटी निकै सहज बनेको छ। तर, यसरी सस्तो लोकप्रियतामार्फत कमाइने पैसाको वास्तविक सामाजिक मूल्य भने अहोरात्र खटेर राष्ट्रको भविष्य निर्माणमा लागिपर्ने महिला शिक्षकहरूले आफ्नो पेसागत प्रतिष्ठा र मानसिक शान्ति गुमाएर चुकाउनुपरेको छ।

हाम्रो विद्यालय तहमा करिब ७० देखि ७५ लाख विद्यार्थीहरू अध्ययनरत छन्। संज्ञानात्मक र संवेगात्मक विकासको संक्रमणकालीन अवस्था (किशोरावस्था)मा रहेका यी विद्यार्थीहरू नयाँ, उत्तेजक र विद्रोही कुरामा चाँडै आकर्षित हुन्छन्। यस्तो संवेदनशील उमेर समूहका किशोर-किशोरीमाझ बजारिया अश्लीलताका विम्बहरू स्थापित हुँदा कक्षाकोठाको सिकाइ वातावरण प्रत्यक्ष प्रभावित हुन पुग्छ। उदाहरणका लागि, कक्षाकोठामा कुनै महिला गणित शिक्षिकाले निकै मिहिनेतका साथ बोर्डमा गणितीय सुत्र बुझाइरहँदा पछाडिको बेन्चबाट कुनै विद्यार्थीले यो गीतको द्विअर्थी र अश्लील हरफ गुनगुनाइदियो भने त्यो कक्षाको प्राज्ञिक वातावरण के होला? ती शिक्षिकाले कुन मनोवैज्ञानिक दबाब र हिनताबोधका बीच अध्यापनलाई निरन्तरता दिने?

हाम्रो शैक्षिक संस्कृतिमा माध्यमिक तहका विद्यार्थीहरूलाई परीक्षाको पूर्वतयारीका लागि गणित, विज्ञान वा अंग्रेजी जस्ता विषयको अतिरिक्त कक्षा (ट्युसन) पढाउने स्थापित र अनिवार्य परम्परा छ। तर, बजारमा यस्ता अमर्यादित गीतहरू आएपछि अब कुनै महिला शिक्षकले कक्षाकोठामा उभिएर स्वाभाविक रूपमा “भोलिदेखि ट्युसन पढ्ने भए…” भन्दै गर्दा पनि विद्यार्थीहरूको मानसपटलमा त्यही उत्तेजक र अश्लील संवाद नाच्ने वातावरण बनेको छ। के अब हाम्रा शिक्षिकाहरूले कक्षाकोठाभित्र एउटा सामान्य शैक्षिक प्राविधिक शब्द ‘ट्युसन’ उच्चारण गर्दा पनि शिर झुकाउनुपर्ने र लाज मान्नुपर्ने दिन आएको हो? यो प्रवृत्ति सिङ्गो समाजकै बौद्धिक र नैतिक पतनको सूचक होइन र ?

बौद्धिक तथा सर्जकहरूको आक्रोश

भदौ ५ देखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको गीतमा प्रयोग भएका ‘क ख हैन हामीलाई अ आ पढाइदेउ, तिम्रो सेक्सी नजरले घायल बनाइदेउ’ जस्ता शब्दहरूलाई लिएर समाजका विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरूले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्।

वरिष्ठ चलचित्र निर्देशक, लेखक तथा निर्माता प्रकाश सायमी भन्छन्, “वास्तवमा यो कला होइन, भद्दा कला हो र पैसाकै निमित्त यसो गर्न हुँदैन।”

त्यस्तै, कवि प्रज्वल अधिकारीले नेपाली सङ्गीतको गौरवमय इतिहास स्मरण गराउँदै लेखेका छन्, “नेपाली गीत, सङ्गीत नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी… हुँदै आजको यो स्थानसम्म आइपुगेको यो विशाल तपस्या भङ्ग गर्न दुर्गेश थापाले जे गाए पनि हुने हो कि के हो?”

सर्जक मनु मञ्जिल लगायतका स्थापित लेखकहरूले पनि यस विकृतिप्रति सामाजिक उत्तरदायित्वको प्रश्न उठाएका छन्।  उनले मास्टर्नी चलचित्रको प्रमोसनल गीतलाई “प्राणविहीन, कलाशून्य र भद्दा” भन्दै, यो केवल हो-हल्ला सिर्जना गरेर दर्शक झुक्काउने र पैसा कमाउने रणनीति मात्र भएको उल्लेख गरेका छन्। यस्ता विकृतिविरुद्ध केवल विवाद मात्रै गरेर नहुने भन्दै उनले “फिल्म चल्न दिनू तर कोही नजानू” भन्दै हल खाली गरिदिनु नै यसको एकमात्र सही जवाफ भएको बताएका छन्। विवेकशील र सभ्य नेपाली समाजले यति गरिदिए पुग्ने उनको भनाइ छ। 

गायिका आस्था रावतको आक्रोश पनि उत्तिकै कडा छ। उनले यो गीतलाई शिक्षिकाहरूको ‘घोर अपमान’ भन्दै, सस्तो चर्चाका लागि गुरुलाई ‘सेक्स सिम्बोल’को रूपमा प्रस्तुत गरिएकोमा कडा आपत्ति जनाएकी छन्। समाजलाई अझ बिगार्ने उद्देश्यले यो सबै नियोजित रूपमा गरिएको उल्लेख गर्दै उहाँले लाजसरम पचाएर यस्ता हर्कत गर्नेहरूलाई चाँडै नै जनताले म्याथ (सवक) सिकाउने चेतावनीसमेत दिएकी छन्। 

धादिङमा अध्यापन गराउने शिक्षक नारायण खत्री गीतको प्राविधिक र शब्दगत स्तरमाथि प्रश्न उठाउँदै ‘म्याथ सिक्ने’ शब्दलाई अश्लील सुनिने गरी उच्चारण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्राध्यापक तथा समालोचक डा. गीता त्रिपाठी यसलाई पेसागत अपमानको रूपमा लिँदै लेख्छिन्, “कुनै पनि कलाले अरूका पेसागत मर्यादाप्रति यतिसम्म संवेदनहीनता प्रकट गर्नु कलाकै बेइज्जती हो।”

यस बहसमा समाजशास्त्री डिकेन्द्र ढकालको विश्लेषण मननयोग्य छ। उनी भन्छन्, “कलामा यौनिकता वा सामाजिक विकृति आउनु आफैँमा नराम्रो होइन; तर प्रश्न के हो भने, कलाकारले त्यसलाई कुन दृष्टिकोण र नैतिक संवेदनशीलताका साथ प्रस्तुत गरेको छ?” उनका अनुसार, नेपाली समाजमा ‘मास्टर’ वा ‘मास्टर्नी’ शब्द आफैँमा हेपिएको र अपमानजनक सुनिन्छ, हाम्रो संस्कृति त ‘गुरुआमा’ भन्ने हो। शिक्षकजस्तो ज्ञान र अनुशासनको प्रतीकलाई यौन संकेतको माध्यम बनाएर प्रस्तुत गर्दा समाजले आफ्ना नैतिक प्रतीकहरूसँग कस्तो व्यवहार गरिरहेको छ भन्ने गम्भीर प्रश्न उठ्छ।

यसको विरुद्ध नेपाल शिक्षक महासंघले पनि आधिकारिक विज्ञप्ति नै जारी गरेर यो गीत तुरुन्त हटाउन माग गरेको छ। महासंघले यसलाई सिंगो शिक्षण पेसामाथिको गम्भीर प्रहार भनेको छ।

यस बहसको अर्को गम्भीर पाटो पनि छ, जसमा स्वयं उपभोक्ता अर्थात् हामी दर्शकहरूले निर्मम आत्मसमीक्षा गर्नु आवश्यक देखिन्छ। कवि देवव्रतको टिप्पणी यहाँनेर निकै सान्दर्भिक र मननयोग्य छ। उनी लेख्छन्, “सुन्ने/हेर्ने वेला लैँतडी गीत खोज्ने अनि अहिले हो–हल्ला गर्ने? एकदिनमा एक मिलियनले किन हेरेको त?”

यो टिप्पणीले हाम्रो द्वैध चरित्र र सांस्कृतिक पाखण्डको वास्तविक ऐना देखाउँछ। एकातिर सभ्य समाजको मसिहा बनेर सामाजिक सञ्जालमा कडा टिप्पणी लेख्ने, तर अर्कोतिर तिनै उत्तेजक र अमर्यादित सामग्रीलाई ‘क्लिक’, ‘लाइक’, ‘भ्युज’ र ‘सेयर’ गरेर क्षणभरमै ट्रेन्डिङको शिखरमा पुर्‍याउने दोहोरो प्रवृत्ति हामीभित्रै जीवित छ। जबसम्म उपभोक्ताका रूपमा हाम्रो अवचेतनले यस्ता सस्तो र अश्लील खुराकको माग गरिरहन्छ, तबसम्म बजारका व्यापारिक खेलाडीहरूले यस्तै कुरुप उत्पादनहरूको आपूर्ति गरिरहनेछन्। अर्थशास्त्रको सामान्य नियम जस्तै कला बजारमा पनि ‘मागले नै आपूर्तिको निर्धारण गर्छ’। त्यसैले, यो नैतिक स्खलनको गल्ती केवल सस्तो लोकप्रियता खोज्ने कलाकारहरूको मात्र होइन; बरु विकृत सामग्रीलाई उपभोक्ता बनेर भाइरल बनाउने र आफ्नो अमूल्य समय खर्चिने हाम्रो आफ्नै रुग्ण मानसिकता र दोहोरो मापदण्डको पनि हो।

‘द मेल गेज’ र पितृसत्तात्मक उपभोक्तावाद 

यस गीतको अर्को विद्रूप पाटो नारीवादी सौन्दर्यशास्त्रसँग ठोक्किन्छ। सिनेमा सिद्धान्तकार लाउरा मल्भीले प्रतिपादन गरेको ‘द मेल गेज’ (अर्थात् पुरुष-दृष्टि)को अवधारणा यहाँ हुबहु लागू हुन्छ। बजारले सधैँ महिलालाई कर्ता (सब्जेक्ट)  होइन,पुरुष उपभोक्ताको आँखा रमाउने वस्तु (अब्जेक्ट) का रूपमा चित्रण गर्छ।

चलचित्रको गीतमा महिला शिक्षिकालाई बौद्धिक विमर्श, ज्ञान र मार्गदर्शनको प्रतीक बनाउनुको सट्टा पुरुषको आदिम यौन-चाहना तृप्त गर्ने र कामुक नजरले हेरिने साधनको रूपमा सिमुलेट गरिएको छ। शिक्षिकाजस्तो प्राज्ञिक र उच्च सम्मानित विम्बलाई पितृसत्तात्मक बजारको सस्तो विज्ञापन र मनोरञ्जनको साधन बनाइनु समग्र महिला समुदायकै बौद्धिक क्षमता र अस्मितामाथिको गम्भीर उपहास हो।

कलामा ‘क्वालिटी कल्चर’को खोजी   

यस ‘मास्टर्नी’ विवादले सतही आक्रोशभन्दा माथि उठेर एउटा गम्भीर दार्शनिक, कानुनी र सौन्दर्यशास्त्रीय प्रश्न उब्जाएको छ; के यो सिर्जनात्मक स्वतन्त्रता हो कि सामाजिक अपराध?

उदारवादी कला-दर्शनले ‘आर्ट फर आर्ट्स सेक’ (कलाका लागि कला) भन्दै सिर्जनात्मक स्वतन्त्रताको पैरवी गर्छ र सिर्जनामाथि हुने कुनै पनि प्रकारको नियन्त्रण वा सेन्सरसिपको विरोध गर्छ। तर, फ्रान्सेली दार्शनिक जाँ-पॉल सात्र्रको ‘इङ्गेज्ड लिटरेचर’ (प्रतिबद्ध साहित्य)को सिद्धान्त वा मार्क्सवादी सौन्दर्यशास्त्रले कलालाई समाजभन्दा निरपेक्ष राख्न मिल्दैन भन्ने बलियो पैरवी गर्छन्। कला सधैँ सामाजिक वस्तुस्थिति, सामूहिक चेतना र नैतिक उत्तरदायित्वसँग अविभाज्य रूपमा जोडिएको हुन्छ।

के कला र स्वतन्त्रताको नाममा समाजको एउटा अत्यन्तै संवेदनशील र गरिमामय पेसाको मर्यादामा निर्मम प्रहार गर्ने अमर्यादित छुट कसैलाई हुनुपर्छ? जब कुनै सिर्जनाले समाजको बौद्धिक र नैतिक धरोहर मानिने शिक्षण पेसालाई सस्तो मनोरञ्जन र अश्लीलताको साधन बनाउँछ, तब त्यो ‘कला’ रहँदैन; बरु ‘एन्टी-आर्ट’ वा वैचारिक प्रदुषण बन्न पुग्छ। विद्यालय तहका अबोध बालबालिकाको काँचो मनोविज्ञानमा यसरी बजारिया अश्लीलताको विष घोल्ने हर्कतहरू सिर्जनात्मक स्वतन्त्रताका अभिव्यक्ति विल्कुलै होइनन्। यो सामाजिक र नैतिक अपराध बराबरकै कुरा हो। अभिव्यक्ति स्वतन्त्रता र सिर्जनात्मक उन्मुक्ति कहिल्यै पनि सामूहिक सामाजिक उत्तरदायित्व र लोक-कल्याणभन्दा माथि हुन सक्दैन, हुनु हुँदैन।

यहाँनेर एउटा अझ गम्भीर र दीर्घकालीन पाटोबारे मन्थन गर्नु आवश्यक भइसकेको छ। के शास्त्रीय कलादेखि समसामयिक कला, आधुनिक वा उत्तरआधुनिक सङ्गीत, लोककला, नाटक, फिल्म र साहित्यमा देखिने यस्ता सस्तो लोकप्रियतामुखी प्रवृत्तिविरुद्ध अब एउटा सशक्त ‘प्रवृत्तिगत आन्दोलन’ कै खाँचो भएको हो त? 

सौन्दर्यशास्त्रीय दृष्टिकोणबाट हेर्दा, स्वभावतः कलामा गुणस्तर खोज्नु संसारकै सबैभन्दा जटिल काममध्ये एक हो। विकसित र सचेत समाजहरूमा कलाको गुणस्तर मापन गर्ने आ–आफ्नै सूचक र मापदण्डहरू हुन्छन्। त्यहाँ समुदायको चेतना, सोच र चाहना आदिबारे व्यवस्थित समाजशास्त्रीय र सांस्कृतिक अनुसन्धान गर्ने बलियो प्राज्ञिक संस्कार हुन्छ। तर, विडम्बना! हामीकहाँ भने कला र सिर्जनामा गुणस्तर खोज्ने, त्यसको सौन्दर्यपरक मूल्य पहिल्याउने र स्थापित गर्ने अनुसन्धानको पाटो ऐतिहासिक रूपमै निकै कमजोर छ र क्रमशः क्षयउन्मुख देखिँदो छ।

अर्कोतर्फ, कलाको स्तर नाप्ने कुनै स्थापित र सर्वमान्य कडी वा ‘अब्जेक्टिभ क्राइटेरिया’ हामीसँग छैन। देश, काल, परिस्थिति, संस्कृति, संस्कार वा व्यक्तिविशेषको योग्यता र सोच जस्ता कैयौँ कुराले कला स्तरीय छ वा छैन भन्ने कुरालाई निर्देशित गरिरहेका हुन्छन्। उत्तरआधुनिक चिन्तकहरूले कलाको बहु-अर्थी र बहु-आयामिक व्याख्याको वकालत गरे पनि, के यसको अर्थ कुनै पनि सिर्जनामा न्यूनतम मानवीय र सामाजिक मूल्य नै हुनु पर्दैन भन्ने हो र? के सिर्जनाको नाममा बजारमा जे फ्याँके पनि चल्छ भन्ने अराजकतालाई हामीले मौन स्वीकृति दिनैपर्ने हो र?

कलामा मात्र होइन, बजारमा आउने जुनसुकै वस्तु वा सेवाको गुणस्तरमाथि उपभोक्ताले प्रश्न उठाए जस्तै कलाका उपभोक्ता अर्थात् सहृदयी भावकहरूले पनि यसको गुणस्तर र नैतिकतामाथि परोक्ष रूपमा निरन्तर प्रश्न उठाइरहनुपर्छ। कलामा गुणस्तरको अनिवार्यता छ र यसलाई कमजोर बनाउन सिर्जनात्मक स्वतन्त्रताका नाममा गरिने कुनै पनि व्यावसायिक बहानाबाजी स्वीकार्य हुन सक्दैन।

एल्गोरिदमको पासो र हाइपररियलिटीको भ्रम 

आज प्रविधिले कला पस्कने माध्यमहरू पचासौँ गुणा बढाइदिएको छ। शैली र प्रवृत्तिहरू इन्टरनेटको सञ्जालमा छ्यासछ्यास्ती छन् र तिनको अभिलेखन पनि भइरहेकै छ। कलालाई हामीले जुनसुकै कुना वा सैद्धान्तिक दृष्टिकोणबाट व्याख्या–विश्लेषण गरे पनि यसले मान्छेको सामूहिक अवचेतन र समाजको मनोविज्ञानलाई प्रत्यक्ष वा परोक्ष रूपमा छोएकै हुन्छ। त्यसैले, कलाको सिर्जना र यसको उपभोग गर्ने सन्दर्भमा हामी अझ बढी जिम्मेवार हुनुपर्छ। 

फ्रान्सेली समाजशास्त्री तथा दार्शनिक जिँ बाउड्रीलार्डको ‘हाइपररियलिटीको सिद्धान्त अनुसार, आजको डिजिटल युगमा मानिसहरू वास्तविक संसारमा भन्दा स्क्रिनले सिर्जना गरेको कृत्रिम भ्रममा बढी बाँच्छन्। जब भर्चुअल प्लेटफर्महरूमा महिला शिक्षिकालाई सस्तो र कामुक विम्बको रूपमा लगातार देखाइन्छ, तब कक्षाकोठामा पुग्ने विद्यार्थीको अवचेतनले वास्तविक शिक्षिकामा पनि त्यही ‘हाइपररियल’ विम्ब खोज्न थाल्छ। यसले गुरु र शिष्यको वास्तविक, आदरयुक्त र मानवीय सम्बन्धलाई नै विस्थापित गरिदिन्छ। 

सन् २०२० मा बेलायतमा कोरोनाका कारण परीक्षा रद्द भएपछि कम्प्युटर सफ्टवेयरले विद्यार्थीको व्यक्तिगत क्षमतालाई भन्दा विद्यालयको पुरानो रेकर्डलाई हेरेर करिब ४० प्रतिशत विद्यार्थीको ग्रेड अन्यायपूर्ण ढङ्गले घटाइदिएको घटना, जसको विरोध भएको थियो

वर्तमान समयमा कला एल्गोरिदमको पासोमा परेको छ। डिजिटल पुँजीवादले सिर्जनाको मूल्यलाई कलात्मक गहिराइमा होइन, केवल ‘क्लिक’, ‘लाइक’, ‘भ्युज’ र ‘सेयर’को सङ्ख्यात्मक तथ्याङ्कमा मापन गर्न थालेको छ। जब कलाको मूल्यांकन केवल डलरको सूचकाङ्कसँग जोडिन्छ, तब कलाको आत्मिक मृत्यु हुन्छ। सस्तो डिजिटल एल्गोरिदमको पछि अन्धधुन्ध कुदेर आफ्नो सिर्जनात्मक र सांस्कृतिक चेतलाई यसरी लरतरो रूपमा बढार्नु हुँदैन। 

यसैले पनि, अब हाम्रो कला र समाजमा ‘क्वालिटी कल्चर’ (गुणस्तरीय संस्कृति)को अनिवार्यता महसुस गर्नैपर्ने भएको छ। यदि हाम्रै समाजमा हाम्रा मौलिक कलाहरूको उचित सम्मान, पहिचान र स्वच्छ बजार स्थापित होस् भन्ने हाम्रो चाहना हो भने, हामी आफ्नै समुदायको मौलिक सोच, चाहना र क्षमता अनुसार अघि बढ्नुपर्छ; बाह्य बजार र उत्तेजक एल्गोरिदमको पछाडि हुरुहुरु कुद्नु हुँदैन।

एउटा भूगोल वा समाजमा अति गुणस्तरीय ठानिएको कुरा अर्को समाजमा गएर गुणस्तरहीन वा अमर्यादित हुन सक्छ। यसर्थ, आजको सन्दर्भमा कलाको गुणस्तरको विषय बारम्बार उठिरहन्छ र उठिरहनुपर्छ। यस उत्तेजक समयमा (एज अफ एंगर), जहाँ मानिसहरू आक्रोश र सस्तो आवेगबाट निर्देशित छन्, सबै मिलेर एउटा विमर्शयुक्त र सकारात्मक वातावरण निर्माण गरौँ। किनभने, मानव सभ्यताको इतिहासमा कला र जीवनको मूल्य केवल लाइक, भ्युज र डलरको तराजुमा कहिल्यै जोख्न सकिँदैन।

उपभोक्तावादी बजार र प्राज्ञिक उदासीनताको दुष्चक्र 

आजको कला बजार चरम उपभोक्तावाद र डिजिटल पुँजीवादको कुरुप चंगुलमा फसेको छ। यस फिस्लनका कारण, कलाको स्थापित मानक सौन्दर्यचेत होइन, बरु बिकाउपन बनेको छ। उपभोक्तावादी संस्कृति र डिजिटल सञ्जालको उत्ताउलो नक्कलले गर्दा हाम्रा मौलिक र रैथाने मूल्य मान्यताहरू निरन्तर स्खलित भइरहेका छन्। लगातारको सस्तो र उत्तेजक खुराकले हाम्रो सामूहिक संवेदनालाई भुत्ते बनाइदिएको छ। सामान्य र शालीन कलाले दर्शकको ध्यान खिच्न नसकेपछि बजारका खेलाडीहरू अझ बढी भद्दा र सनसनीपूर्ण हर्कत गर्न तम्सिन्छन्।

विडम्बना त के छ भने, हाम्रा विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान र प्राज्ञिक संस्थाहरू यस्ता समसामयिक सांस्कृतिक विचलन र पप-कल्चर माथि रचनात्मक हस्तक्षेप गर्न पूर्णतः उदासीन देखिन्छन्। प्राज्ञिक वर्ग कि त सिद्धान्तका कोठे विमर्श र पुराना ग्रन्थका पाना पल्टाउनमै व्यस्त छ, कि त समसामयिक राजनीतिक वृत्त र दलविशेषको  भजन गाउनैमा सीमित छ। नतिजास्वरूप, बजारिया अराजकताले समाजको तल्लो तहसम्म गहिरो जरो गाडिसकेको छ।

कला र संस्कृतिको क्षेत्रमा स्वस्थ ‘सांस्कृतिक समालोचना’को ठूलो रिक्तता छ। जबसम्म प्राज्ञिक र बौद्धिक तहबाटै यस्ता सांस्कृतिक विकृतिहरूमाथि कडा, निष्पक्ष र वैज्ञानिक चिरफार हुँदैन, तबसम्म गुणस्तरको खोजी  ओठे भक्तिमा मात्र सीमित भईबस्नेछ। लोकतन्त्रले दिएको अभिव्यक्ति स्वतन्त्रताको आवरणमा कसैलाई पनि समाजको सम्मानित पेसाको मर्यादा चीरहरण गर्ने र सामाजिक मनोविज्ञान बिगार्ने लाइसेन्स मिल्न सक्दैन।

यस्ता गम्भीर विषयमा हाम्रा विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान र बौद्धिक मञ्चहरूमा गहन प्राज्ञिक बहस र विमर्श नहुनु, यसको दीर्घकालीन निराकरणमा कोही नलाग्नु र केवल तात्कालिक आक्रोश पोखेर अर्कोलाई हिलो छ्याप्ने र पन्छिने परम्पराले गर्दा नै हाम्रो कलाको स्तर आज पनि अन्योलकै भुमरीमा छ। यो गम्भीर पाटोलाई सच्याएर कलालाई समाजप्रति उत्तरदायी नबनाएसम्म, ‘मास्टर्नी’ जस्ता सांस्कृतिक र नैतिक विचलनहरू समाजमा पटक-पटक दोहोरिइरहनेछन्।

अन्त्यमा,

आरोप-प्रत्यारोप र प्रतिबन्धको मागमा मात्र अल्झिएर यो दीर्घकालीन समस्या सुल्झिँदैन। दर्शकहरूको कला-चेत र रुचिलाई परिष्कृत नगरेसम्म बजारले यस्तै कुरुप उत्पादनहरू पस्किरहनेछ। यसका लागि समाजमा ‘सौन्दर्यपरक शिक्षा’ को बहश चलाउनु तत्कालिन उपयुक्त बाटो हो। त्यो किन पनि भने, हामीलाई अब ‘प्रति-सांस्कृतिक’ विकल्पहरूको खाँचो परिसकेको छ। सस्तो व्यावसायिक धारभन्दा बाहिर निस्केर कलात्मक गहिराइ बोकेका स्वतन्त्र सिनेमा, मौलिक रैथाने लोक सङ्गीत, र गम्भीर विचार प्रवर्द्धन गर्ने समानान्तर मञ्चहरू (जस्तै डिजिटल पोडकास्ट, थिएटर, र कला उत्सवहरू) लाई समाजले नै प्रोत्साहन दिनुपर्छ।  जबसम्म गम्भीर सिर्जनाहरूले आर्थिक र सामाजिक रूपमा बलियो आधार पाउँदैनन्, तबसम्म सस्तो डिजिटल एल्गोरिदमले नै समाजलाई निर्देशित गरिरहनेछ। र, यसले यस्तै दुर्घटनाहरू निम्त्याइरहनेछ। 

सिफारिस