मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउन ‘साथीसँग मनका कुरा’ कार्यक्रम

दियोपोस्ट संवाददाता

काठमाडौँ । पछिल्लो समय मानिसहरूमा बढ्दै गएको मानसिक तनाव तथा समस्यालाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका-१०, थापागाउँस्थित पाठशाला विद्यालयको प्रांगणमा ‘साथीसँग मनका कुरा -अ कम्युनिटी वेलनेस इनिसिएटिभ’ कार्यक्रम सम्पन्न गरिएको छ ।

‘साथीसँग मनका कुरा’ नामक संस्थाको आयोजना तथा फ्रन्टलाइन हस्पिटल र आत्मन हस्पिटल एन्ड हिलिङ सेन्टरको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमका संयोजक साकार शर्माका अनुसार पछिल्लो समय विभिन्न कारणले मानिसहरू मानसिक तनाव, चिन्ता तथा डिप्रेसनजस्ता समस्याबाट गुज्रिरहेका छन् ।

शर्माले विशेषगरी भोटेकोशी बाढीका कारण धेरै मानिसहरू विस्थापित र तनावपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना आवश्यक रहेको बताए ।

“पछिल्लो समय मानिसको जीवनमा धेरै मानसिक समस्या देखा परेका छन् । भोटेकोशी बाढीका कारण धेरै मानिस विस्थापित बनेका छन् र तनावपूर्ण अवस्थामा छन् । त्यो तनाव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जनचेतना फैलाउने उद्देश्यले हामीले स्वास्थ्य शिविर आयोजना गरेका हौँ,” शर्माले भने ।

उनका अनुसार समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या व्यापक बन्दै गएको छ । केही समयअघि काठमाडौँ तथा तराई क्षेत्रमा आत्मदाहका घटनासमेत देखिएको उल्लेख गर्दै शर्माले यस्ता घटनाले मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता देखाएको बताए ।

“धेरै मानिसहरू कुनै न कुनै मानसिक समस्याबाट गुज्रिरहेका छन् । केही महिनाअघि मात्रै काठमाडौँ र तराईमा केही मानिसले आत्मदाह गरेका घटना पनि भए । यसरी हेर्दा समाज नै डिप्रेसनको अवस्थामा छ भन्ने लाग्छ,” उनले भने, “त्यसैले यस्तो अवस्थामा मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर हामीले यो स्वास्थ्य शिविर आयोजना गरेका हौँ ।”

शर्माका अनुसार ‘साथीसँग मनका कुरा’ ले यसअघि पनि मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिसकेको छ । साउन १६ गते आयोजना गरिएको यस्तै कार्यक्रममा करिब १५० जना मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिले सेवा लिएका थिए । शनिबार आयोजित कार्यक्रममा पनि करिब १५० जनाको मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको उनले जानकारी दिए ।

“समाजका लागि मानसिक स्वास्थ्य र स्वस्थ्य नै जीवन हो भन्ने उद्देश्यले हामीले यो कार्यक्रम सुरु गरेका हौँ,” शर्माले भने ।

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समुदायस्तरमै जनचेतना र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।

 

 

सम्बन्धित खबर

सिफारिस