
काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका भनिएका कामदारको खोजी गर्दा कोही पनि मानिस नभेटिएपछि उद्धारमा खटिएको नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि आयोजनाको सुरुङभित्र केही कामदार फसेको आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको इन्जिनियर तथा ड्रोन टोलीसहितको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजीमा जुटेको थियो।
सुरुङको अन्तिम भागसम्म पुगेर ड्रोनसमेत प्रयोग गरी विस्तृत खोजी गर्दा पनि मानिस फेला नपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुरुङभित्र मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली धुन्चे फर्किएको हो।
यसअघि सुरुङको अन्तिम बिन्दुमा कामदारहरू फसेको आशंकामा उद्धार टोली परिचालन गरिएको थियो।