
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका स्थानीय तहका बस्ती तथा संरचनामा असर पुर्याएको हो ।
रसुवामा उत्तरगया, गोसाईंकुण्ड, आमाछोदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन् । तीमध्ये उत्तरगया गाउँपालिकाका सबै पाँचवटै वडा प्रभावित भएका छन् । गोसाईंकुण्डका चार तथा आमाछोदिङमो र कालिकाका एक-एक वडा बाढीबाट प्रभावित भएका छन् ।
त्यस्तै, नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका ११ वटा वडा प्रभावित भएका छन् ।
धादिङमा गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाका १८ वटा वडा बाढीबाट प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
गोरखाको गण्डकी गाउँपालिकाका पाँच तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकाका चार वडा प्रभावित भएका छन् ।
बाढीबाट भएको क्षतिको मूल्यांकन तथा प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका काम जारी रहेका छन् । सरकारले पाँच जिल्लाका १५ स्थानीय तहलाई यसअघि नै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
