सरकारले हटाएपछि पनि स्वास्थ्य सेवा कर लिँदै छ होप अस्पताल

मदन ढुङ्गाना

काठमाडौँ । सरकारले साउन १४ गते नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर स्वास्थ्य सेवा कर हटाइसकेको छ । यसअघि निजी अस्पतालहरूमा उपचार गराउनेले ३ प्रतिशत स्वास्थ्य सेवा कर तिर्नुपर्ने गरी बजेटमै करको दर राखिएकामा व्यापक विरोध भएपछि त्यो कर फिर्ता लिइएको थियो ।

सरकारले साउन १४ गते राजपत्रमा सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवा कर नलिन र लिएको भए पनि १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई नै फिर्ता गर्न निर्देशन दिएको थियो ।

तर, सिनामङ्गलमा रहेको होप अस्पतालले भने सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेपछि पनि कतै देखाएर, कतै नदेखाएर स्वास्थ्य सेवा कर लिइरहेको पाइएको छ ।

‘दियोपोस्ट’लाई प्राप्त बिलमा अस्पतालले साउन १६ गतेसम्म पनि स्वास्थ्य सेवा कर लिइरहेको देखिएको छ भने कतिपय बिलमा त स्वास्थ्य सेवा कर भनेर उल्लेख नगरी कुल जम्मा रकममा ३ प्रतिशत थप गरी लिएको पाइएको छ ।

पहिले यो अस्पतालले बिरामीलाई कसरी ठगी गर्‍यो, कसरी हुँदै नभएको परीक्षणको समेत शुल्क लियो भनेर जान्न यो समाचार पढ्नुहोस् ।

अब यो बिल हेर्नुहोस् ।

होप इन्टरनेशनल कलेज एन्ड हस्पिटलको नामबाट सिनामङ्गलमा होप अस्पताल र मनमोहन सामुदायिक अस्पताल सञ्चालन गरिरहेको संस्थाले जारी गरेको अनुमानित (इस्टिमेटेड) बिल हो यो ।

अस्पतालले अत्यधिक शुल्क लिएको र आवश्यक नै नपर्ने परीक्षणसमेत गराएको, ६ घण्टामा चिकित्सकको राउन्ड शुल्क भनेर १२ हजार रुपैयाँ लिइएको लगायतका कारणपछि नुवाकोटका बिरामी चन्द्रबहादुर श्रेष्ठका आफन्तहरूले अस्पतालमा थप उपचार नगराउने भन्दै बिरामी लैजान खोजेका थिए ।

पहिले त ‘लामा’ अर्थात् LAMA (लिभ अगेन्स्ट मेडिकल एड्भाइस) अर्थात् चिकित्सकको सल्लाहबिना नै बिरामी लैजान लागिएको भन्दै बिल नै दिन मानिएन । बिरामीका आफन्तले “बिल नपाई म पैसा तिर्दिनँ” भनेपछि सुरुमा विस्तृत बिल नदिई के-केमा कति-कति खर्च लाग्यो भनेर अर्को बिल दिइयो ।

तर बिरामीका आफन्तले “मलाई ब्रेकडाउन बिल चाहियो, नत्र पैसा तिर्दिनँ” भनेपछि अस्पतालले बल्ल यो इस्टिमेटेड बिल दिएको थियो ।

माथिको बिललाई ध्यान दिएर हेर्नुहोस्:

यो बिलमा पहिलो पंक्तिमा रहेको ‘बेड चार्ज’ शीर्षकको बिल हेर्नुहोस् ।

यहाँ आईसीयू बेड २ दिन भनिएको छ र प्रतिदिन १ हजार ८०० का दरले भनिएको छ । तर २ दिनको १ हजार ८ सयका दरले ३ हजार ६०० रुपैयाँ हुनुपर्नेमा अस्पतालले ४ हजार ५०० रुपैयाँ लिएको छ ।

त्यसैगरी बेड चार्जकै शीर्षकभित्र रहेको ‘आईसीयू रजिस्ट्रार’ उपशीर्षकमा ३ दिनको १ हजार ६०० रुपैयाँका दरले ४ हजार ८०० रुपैयाँ चार्ज गरिएको छ । अनि त्यो ४ हजार ८०० रुपैयाँमा ३ प्रतिशत स्वास्थ्य सेवा कर जोडेर ४ हजार ९४४ रुपैयाँ लिइएको छ । अर्थात् ३ प्रतिशत स्वास्थ्य सेवा कर पनि लिइएको छ ।

तपाईँ नझुक्किनुहोस्, यो कर सरकारले राजपत्रमै सूचना निकालेर साउन १४ गतेदेखि हटाइसकेको छ र लिएको भए पनि सेवाग्राहीलाई नै फिर्ता गर्न भनिसकेको छ । तर साउन १६ गते अस्पताल ल्याई भर्ना गरिएका नुवाकोटका चन्द्रबहादुर श्रेष्ठको उपचारमा खर्च भएको भन्दै साउन १८ गते अस्पतालले दिएको बिल हो यो ।

यही बिलमै ‘बायोकेमिस्ट्री’ शीर्षकमा लिपिड प्रोफाइलको परीक्षण गराइएको छ, जहाँ १ हजार रुपैयाँ शुल्क लिनुका साथै त्यसमा ३ प्रतिशत स्वास्थ्य सेवा कर जोडेर १ हजार ३० रुपैयाँ लिइएको छ । जबकि सरकारी केन्द्रीय प्रयोगशाला (टेकु) मा यो परीक्षण केवल ३०० रुपैयाँमै हुने गरेको छ ।

त्यसैगरी अन्य शीर्षकको बिलमा पनि स्वास्थ्य सेवा कर भनेर थप रकम लिइएको छ, जबकि सरकारले साउन १४ गते राजपत्रमै सूचना प्रकाशन गरेर उक्त कर हटाइसकेको छ ।

अस्पतालले बिरामीमाथि यति मात्रै लुट गरेको छैन, गर्दै नगरेको टीबी क्वान्टिफेरोन (IGRA) को टेस्ट गराएको भन्दै बिल जारी गरेर रकम लिइसकेको थियो ।

तर बिरामीका आफन्तले “के-केको परीक्षण गरेको हो, मलाई सबैको रिपोर्ट यहीँ चाहिन्छ” भनेपछि अस्पतालले गल्तीबश बिल जारी हुन पुगेको भन्दै पछि उक्त शीर्षकको ५ हजार रुपैयाँ त घटायो, तर गर्दै नगरेको ल्याब टेस्टबापत लिएको स्वास्थ्य सेवा कर भने फिर्ता गरेन । यसमा १५० रुपैयाँ स्वास्थ्य सेवा कर लिएको थियो ।

यो अर्को बिल पनि हेर्नुहोस् ।

यो बिलमा त स्पष्ट रूपमा स्वास्थ्य सेवा कर भनेर २४९ रुपैयाँ थप रकम लिइएको छ ।

यो बिलमा कुल ८ हजार ३०० रुपैयाँको परीक्षण भएको भनिएको छ । त्यसमा स्वास्थ्य सेवा कर भनेर २४९ रुपैयाँ थप रकमसमेत लिइएको छ । यसरी कुल ८ हजार ५४९ रुपैयाँ शुल्क लिइएको छ ।

होप अस्पतालले सञ्चालन गरिरहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले आफूलाई समुदायको अस्पताल भने पनि यहाँ शुल्क मात्रै अति महँगो छैन, आफ्नो अस्पतालमा नभएको सेवा अन्यत्रबाट गराउँदासमेत कमिसन खाने गरेको प्रमाण ‘दियोपोस्ट’ले यसअघिकै अङ्कमा प्रकाशन गरिसकेको छ ।

यसबाहेक अस्पतालले बिरामीलाई यतिसम्म शोषण गरेको पाइएको छ कि ६ घण्टामा ६ वटा कन्सल्टेन्ट डाक्टरको राउन्ड भन्दै एक राउन्डको २ हजार रुपैयाँका दरले १२ हजार शुल्क लिएको पाइएको छ ।

यो बिल हेर्नुहोस्:

यो बिलमा अगस्ट ३ अर्थात् साउन १८ गते ६ वटा कन्सल्टेन्ट डाक्टरको राउन्ड गरिएको र त्यसबापत १२ हजार रुपैयाँ शुल्क लागेको भनिएको छ । जबकि उक्त दिन बिरामीले बिहान ९ बजेपछि कुनै उपचार नै गराएका छैनन् र बिरामीलाई अन्यत्र लगेका छन् । अस्पतालबाट जारी भएको अन्तिम बिलको समय पनि करिब १२ बजेको छ ।

तर अस्पतालले भने करिब ६ घण्टाको अवधिमै ६ पटक डाक्टरको राउन्ड भन्दै १२ हजार रुपैयाँको बिल बिरामीको टाउकोमा थुपारिदिएको छ ।

त्यस विषयमा कुरा गर्दा अस्पतालका प्रशासनतर्फका म्यानेजर अविनाशकुमार झाले “यस विषयमा थप बुझ्न मिडिया हाउसबाट निवेदन लिएर आउनुहोस्”, “बिरामीका आफन्तलाई नै पठाउनुहोस्” लगायतका गैरजिम्मेवार जवाफ दिएर पन्छिएका थिए ।

यस विषयमा थप कुराकानी गर्नका लागि अस्पतालकी अध्यक्ष सिर्जना गुप्तासँग एकपटक सम्पर्क भएको थियो । उनले आफू बैठकमा भएकाले केही समयमा फोन गर्ने जवाफ दिए पनि त्यसपछि उनलाई बारम्बार सम्पर्क गर्दा पनि फोन उठाएकी छैनन् ।

के भन्छ कर कार्यालय?

होप इन्टरनेशनल कलेज एन्ड हस्पिटल प्रालि ललितपुर-२ कर कार्यालयमा दर्ता रहेको छ । यो अस्पतालले कर तिर्ने लगायतका सम्पूर्ण काम सोही कर कार्यालयमा गर्दै आएको छ ।

तर सरकारको निर्णयविपरीत कर उठाउन बन्द गर्न राजपत्रमै सूचना प्रकाशन भइसकेपछि पनि स्वास्थ्य सेवा कर उठाइरहेको सम्बन्धमा ‘दियोपोस्ट’ले आन्तरिक राजस्व कार्यालय ललितपुर–२ सँग कुराकानी गरेको थियो ।

“के सरकारले कर हटाइसकेपछि पनि अस्पतालले कर लिन मिल्छ?” भन्ने ‘दियोपोस्ट’को प्रश्नमा आन्तरिक राजस्व कार्यालय ललितपुर–२ का सूचना अधिकारी राजन विकले त्यो हटिसकेपछि पनि कर लिएको भए गैरकानुनी हुने र कारबाहीको दायरामा आउने बताए ।

‘दियोपोस्ट’ले उनलाई बिल पठाएर “यो विषयमा के हुन्छ?” भनेर सोधेको थियो । जवाफमा राजनले भने, “उजुरी र जानकारी आइसकेपछि हामी सम्बन्धित करदाताको कार्यालयमा गई अनुगमन गर्छौँ र कैफियत भेटिएमा कारबाही हुन्छ ।”

सिफारिस