
वेत्रावती । फलाखु खोला किनारको चौतारो, जहाँ बाढीअघि हरियाली खेत थियो, त्यहाँ पल्टिएको एउटा गाडीभित्र दुईवटा शव छ। एक पुरुषको खुट्टा गाडीको डिक्कीबाट बाहिर निस्किएको छ भने एक महिलाको शव गाडीमुनि थचक्क बसेको जस्तो देखिन्छ।
दियोपोष्टकर्मी भोलिपल्ट यहाँ पुग्दा घडीघर नजिकैको भग्नावशेषबाट केही स्थानीय आफ्नैतवरले लासहरू बाहिर निकाल्दै थिए भने फलाखु किनारमा अन्यत्रबाट समेत शव ल्याएर थुपारिएको दृश्यले मानवीय संवेदनालाई पूर्णतः शून्यमा झारेको थियो।
बाढीले भौतिक बस्ती मात्रै बगाएको थिएन, यहाँ त लासको उचित सम्मान र व्यवस्थापन गर्ने न्यूनतम मानवीय मूल्यसमेत बालुवामा पुरिएको थियो। भग्नावशेषबाट उराठलाग्दो गरी फैलिएको शवको असह्य दुर्गन्धले बाँचेकाहरूलाई समेत महामारीको गम्भीर स्वास्थ्य जोखिममा धकेलेको छ।
नुवाकोटको तल्लो भेग र रसुवाको माथिल्लो भेगमा मात्र उद्धार केन्द्रित हुँदा राज्यका निकायहरू यहाँ पूर्ण रूपमा बेखबर बनेका छन्। फलस्वरुप, स्थानीयहरू आफ्ना प्रियजनका लास आफैं ओल्टाई–पल्टाई गरि चिन्न र यथोचित दाहसंस्कारबिनै खुला आकाशमुनि अलपत्र छाड्न बाध्य छन्।
भोलिपल्ट दिउँसो करिब दुई बजे हामी (दियोपोष्टकर्मी प्रकाश बिसी, राजु झल्लु प्रसाद र राहुल भट्ट) पलाँखुको किनारमा उभिएर बेत्रावतीको त्यो छाती चिथोरिएको बगरमा पुग्दाको दृश्य कल्पनाभन्दा कैयौं गुणा बढी मर्माहत र भयानक थियो। प्रभावित क्षेत्रमा आफ्नो घरजग्गा र व्यवसायिक भवन नियाल्न भोलिपल्ट वेत्रावती झरेका स्थानीयहरू सरकारको तत्काल उपस्थिति, उद्धार, शव व्यवस्थापन र पुनःस्थापनाको माग गरिरहेका भेटिए। चारैतिर घरहरूको कुनै नामोनिशान थिएन। लेदो सहितको बालुवाको विशाल बगर, माटो, ढुंगा र भग्नावशेषको थुप्रो मात्रै थियो।

सधैं गुल्जार र चलायमान रहने बेत्रावती बजार सुनसान बगरमा परिणत भएको थियो। कति मृत छन्, कति जीवित छन् र कति बेपत्ता छन्, सो मितिमा यो हिसाब दिने कोही थिएन।
रसुवा र नुवाकोटको सिमानामा, उत्तर-पश्चिमबाट बग्ने त्रिशूली र उत्तर-पूर्वबाट आउने फलाखु खोलाको संगमस्थलमा बसेको यो ऐतिहासिक तथा व्यापारिक केन्द्रमा बुधबार बिहानसम्म पनि मानिसहरूको भीडभाड, पसलहरूमा चियाका सुस्केरा र सवारीसाधनका हर्नले गुञ्जायमान थियो। नेवार समुदायको बाक्लो बसोबास रहेको यो पुरानो बजारमा भोलिपल्ट शुक्रबार आयोजना हुने ‘गाईजात्रा’को भव्य तयारी चलिरहेको थियो। तर, ठीक त्यसभन्दा अघिल्लो दिन बुधबार बिहान लाङटाङ हिमालको उत्तरपट्टिको हिमनदी तथा हिमखण्ड अचानक भत्किएर भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीले उनीहरूको त्यो उल्लास, खुसी र सिङ्गो बस्तीलाई नै बालुवा र लेदोको महासागरमा विलीन गराइदियो।
केही सेकेन्डको अन्तरालमा आएको पानी, गेग्रान र ठूला चट्टानहरूको शक्तिशाली हुरीले दुई सयभन्दा बढी घर र एक हजारभन्दा बढी जनसंख्या भएको यो जीवन्त बस्तीको नक्सा सधैंका लागि फेरिदिएको छ।
बाढीको बहाव सिधै बजार क्षेत्रमै पसेका कारण गोदामहरू, पसलहरू र व्यापारिक संरचनाहरू माटो र लेदोले पुरिएका थिए। रसुवा र नुवाकोटबीचको यो महत्त्वपूर्ण व्यापारिक तथा आवागमन केन्द्र तहसनहस हुँदा यहाँको जनजीवन, आर्थिक गतिविधि र यातायात पूर्ण रूपमा ठप्प भएको छ, जसले दीर्घकालीन असर पार्ने निश्चित छ। रसुवा जोड्ने पुल बगेको छ भने हिन्दूहरूको दाहसंस्कार गर्ने घाट र पौराणिक उत्तरगयाधामसमेत लेदोले पुरिएर अस्तित्व गुमाइसकेका छन्।

बाढीले उजाड बनाएको यही बगरमा उभिएका क्षतविक्षत घरहरू अहिले चोइटिएका इँटा र सिमेन्टको थुप्रो मात्र बनेका छन्। यी घरहरूभित्र को जीवित छ र को छैन, कसैलाई केही थाहा छैन। नजिकैका गाउँतिर रात बिताएर बिहीबार बिहानै आफ्नो घरको सुइँको पाउन बेत्रावती आइपुगेका मानिसहरू दिउँसोसम्म पनि यिनै घरहरूको भग्नावशेष वरपर रित्तो नजरले अलमलिरहेका भेटिए।
कोही आफ्नो घर बालुवाको कुन पत्रमुनि दबिएको छ भनेर खोस्रँदै थिए भने कोही तिनै ढलेका र लेदोले पुरेका कोठा-चोटाभित्रबाट आफन्त र नातेदारका शवहरू बाहिर निकाल्ने असफल प्रयास गरिरहेका थिए। त्यहाँ पुग्दा देखिएका केही शवहरूलाई आफन्त हुन् कि भनेर मानिसहरूले ओल्टाई–पल्टाई हेरेको हृदयविदारक दृश्यले जोसुकैको मुटु छियाछिया पार्छ। शव आफ्नो नातेदार एवं परिवारको होइन भन्ने थाहापाएपछि, ती शवहरू यसै अलपत्र छोडिएको अवस्था समेत देखियो। ती शवहरूको यथोचित दाहसंस्कार पाएका छैनन्।

घर तथा भवनहरूको अवस्था पनि उत्तिकै दयनीय छ। वरिपरिबाट असह्य दुर्गन्ध फैलिई रहेको छ। भग्नावशेष र बालुवामा पुरिएका लासहरूको गन्धले यो बगरलाई एउटा खुला मसानघाटमा बदलिदिएको छ। तर, विडम्बना र पीडाको पराकाष्ठा त यो छ कि यही दुर्गन्धित र लासले भरिएको बस्तीको आकाशमाथि राहत र उद्धारको नाममा हेलिकोप्टरहरू निरन्तर मडारिरहेका देखिन्छन्। स्थानीयहरूको गुनासो छ कि ती हेलिकोप्टरहरू रसुवाको माथिल्लो भेग टिमुरे र स्याफ्रुबेसीतिर मात्रै केन्द्रित भए, तर बेत्रावती र मैलुङ क्षेत्र उनीहरूको प्राथमिकतामै परेन।
स्थानीय दीपेन्द्र कुमार प्याकुरेल हामीसँग भक्कानिँदै भन्छन्, “यी उडिरहेका हेलिकोप्टरहरूले यी घरहरूमाथि आफ्नो छायाँ त पारे, तर कुनै पनि हेलिकोप्टर यहाँ जमिनमा ओर्लने वा बस्तीमा पसेर खोजबिन गर्ने काम गरेन। नयाँ सरकार खोइ त? चौबीस घन्टा भइसक्यो! एक जना पनि आएर ‘हामी छौं, तपाईंहरू ढुक्क हुनुस्’ भनेर भनेको छैन। खोइ सरकार? …सरकार छ र? यहाँ म मरेँ, बाचेँ बाचेँ! त्यत्ति हो। मेरो जग्गा गयो! मेरो सम्पत्ति गयो! रोएर बस्यो! सम्हाल्यो।…अब गर्ने के त हामी यहाँको जनताले?”

बाढीले मानिसहरूलाई घरबाट विस्थापित मात्रै गरेको छैन, उनीहरूबीचको पारिवारिक सम्पर्कसमेत तोडिदिएको छ। हराएकाहरूको कुनै पनि आधिकारिक वा एकीकृत तथ्यांक सरकारी निकायसँग छैन। जीवित बचेका थोरै, त्रसित र आहत स्थानीयहरूको एउटै पीडा छ, बुधबारको त्यो प्रलयदेखि भोलिपल्ट दिउँसोसम्म पनि स्थानीय सरकार, प्रहरी–प्रशासन वा राज्यको कुनै पनि तहबाट प्रभावकारी उद्धार र राहतको आभाससम्म पाइएन। बाँचेकाहरू कोही आफन्तको खोजीमा बालुवामा भौंतारिरहेका छन् भने कोही “आज रात कहाँ बस्ने र भोलि के खाने?” भन्ने अनिश्चितताको चक्रमा बिलखबन्दमा छन्।
आफूहरूको यो मरेतुल्य अवस्था र घरको यो हविगत हेर्दै आकाशमा मूकदर्शक बनेर उडिरहेका हेलिकोप्टरहरूप्रति स्थानीय प्याकुरेलको आक्रोश अनुत्तरित प्रश्न बनेर गुञ्जिन्छ- “हेलिकोप्टर आकाशमा उडेर त के गर्नु, जब हाम्रा आफ्नै घरभित्र लास कुहिन थालेका छन्, र सरकार हामीलाई खोज्न एक पटक पनि यो बगरमा ओर्लंदैन!”

यी घरहरू आज एक्लो साक्षी बनेर उभिएका छन्। यस बाढीले केवल भौतिक संरचना, घर, सडक र बजार मात्रै बगाएको छैन, यसले बेत्रावतीको शताब्दीयौंदेखिको सामाजिक जीवन, पुराना मीठा सम्झनाहरू र वर्षौंदेखि चलिआएको सांस्कृतिक निरन्तरतामाथि कहिल्यै नपुरिने गहिरो चोट पुर्याएको छ। बाँचेकाहरूका अनुहारमा अब एउटै अनुत्तरित प्रश्न झुण्डिएको छ- “अब गर्ने के? र जाने कहाँ?”
उत्तरगया धामले प्रसिद्ध वेत्रावती नेपाल–तिब्बत युद्धपछि सन्धि भएको स्थान समेत हो। त्यस बेलाको सन्धिलाई ‘बेत्रावती सन्धि’ भन्ने गरिन्छ। नेपालले यही बजार हुँदै सयौं वर्षदेखि चीनसँग व्यापार गर्दै आएको छ। घर, बस्तीमा पुरिएका शवको व्यवस्थापन हुन सकेको छैन। शवको दुर्गन्ध आउन थालेपछि स्थानीयमा स्वास्थ्य समस्याको जोखिम थपिएको छ।
[शीर्षक सच्याइएको छ]
