३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब सहयोग रकम संकलन

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वटा वाणिज्य बैंकमा रहेको कोषको खातामा दाताहरूले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका हुन् ।

नेपाल(चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरेपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्ति तथा विभिन्न संघसंस्थाले सहयोग रकम जम्मा गर्न थालेका हुन् ।

सरकारले कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूबाट प्राप्त रकम आफैंमार्फत स्वीकार गरिरहेका छन् ।

त्यस्तै, व्यक्तिगततर्फको नगद सहयोग गर्न चाहने दाताले अर्थ मन्त्रालयमै पुगेर रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । नयाँ सहयोग रकमसहित कोषमा रहेको बचत रकम चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा दुई अर्ब १७ करोड २५ लाख नौ हजार ७५९ रुपैयाँ बचत रहेको थियो ।

यसअघि बिहीबार मात्रै निजी क्षेत्रका दाताहरूबाट अर्थ मन्त्रालयमार्फत ६ घण्टाको अवधिमा २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग समावेश गरिएको छैन ।

सिफारिस