
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा हालसम्म ५ सय ४७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।
बाढी तथा पहिरोका कारण प्रभावित र जोखिममा रहेका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी राखेको जनाएको छ । विभिन्न निकाय तथा स्थानीयवासीसँगको समन्वय र सहकार्यमा उद्धार तथा खोजी कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, बाढी तथा पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।