
काठमाडौँ । तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवामा ८५ जना सुरक्षाकर्मी बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना गरि ८५ जना बेपत्ता भएका हुन् ।
बाढीले रसुवागढी गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय टिमुरेसहित तीन प्रहरी इकाइमा क्षति पुर्याएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।
बुधबार बिहान करिब ९ः१५ बजे भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी प्रभावित भएका हुन् । तीमध्ये इलाका प्रहरी कार्यालय टिमुरेको भवन बाढीले पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरण छ ।
बाढीका कारण टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रका बस्ती तथा पूर्वाधारमा समेत ठूलो क्षति भएको छ । भोटेकोशी नदीको बहाव अत्यधिक बढेपछि प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न र हेलिकप्टर अवतरण गर्नसमेत कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।
प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रका अन्य सुरक्षाकर्मी तथा स्थानीयवासीको अवस्थाबारे समेत विवरण संकलन भइरहेको छ ।