सरकारसँग सहमति जुटेपछि साझा यातायात चढेर घर फर्किए लघुवित्त ऋणीहरू

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आन्दोलनरत लघुवित्तका ऋणीहरू आज आ-आफ्नो गन्तव्यतर्फ फर्किएका छन् ।

ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा रहेका ऋणीहरूलाई सरकारले आज साझा यातायात चढाएर घर पठाएको हो ।

सरकार र ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना तथा आन्दोलन  स्थगित गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठ वटा बसमार्फत सम्बन्धित जिल्लातर्फ पठाइएको हो।

आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाइएको कार्यालयले जनाएको छ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाका ऋणीहरूलाई सम्बन्धित क्षेत्रतर्फ पठाइएको हो।