
काठमाडौँ । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ । सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि आइतबार दिउँसो उनको अन्त्येष्टि गरिएको हो ।
सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएपछि परिवारले बुझेको थियो । आइतबार मध्यान्ह काठमाडौँबाट बारा फर्किएपछि बाबु मनोज चौधरी र आमा मानमती चौधरीले अस्पतालबाट शव बुझेका थिए ।
गरिमाको कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोलामा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनलाई बाबु मनोजले दागबत्ती दिएका थिए ।
यसैबीच, सरकार र पीडित परिवारबीच भएको तीनबुँदे सहमतिको विरोधमा महिला अधिकारकर्मी तथा विभिन्न समूहको प्रदर्शन भने जारी छ । सहमति अपूर्ण रहेको दाबी गर्दै प्रदर्शनकारीले गरिमाको न्यायसँगै देशभर बालबालिका तथा महिलाको सुरक्षा र अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकासहित विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले आन्दोलन गरिमाको न्यायमा मात्र सीमित नभई देशभरका छोरीहरूको सुरक्षा र अधिकारका लागि भएको बताएका छन् ।
सरकार र परिवारबीचको सहमतिमा पीडितको न्याय र सुरक्षाका विषय पर्याप्त रूपमा सम्बोधन नभएको उनीहरूको आरोप छ । १८ वर्षमुनिका बालबालिकालाई आन्दोलनमा सहभागी हुन रोक लगाइएको भनिएको विषयप्रति समेत प्रदर्शनकारीले आपत्ति जनाएका छन् ।
उनीहरूले बालिका तथा महिलामाथि भइरहेको हिंसा र बलात्कारका घटनाप्रति राज्य गम्भीर हुनुपर्ने माग गर्दै तीन वर्षीया बालिकासमेत हिंसाको सिकार हुनुपर्ने अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।
सरकार र गरिमाको परिवारबीच शनिबार राति गृह मन्त्रालयमा तीनबुँदे सहमति भएको थियो । सहमति भए पनि त्यसलाई अस्वीकार गर्दै महिला अधिकारकर्मी तथा विभिन्न समूहले आइतबार रत्नपार्कमा विरोध प्रदर्शन गरेका हुन् ।