६० लाखको जोय लङ भ्यान, मर्मत खर्च १ करोड ३६ लाख !

मदन ढुङ्गाना

काठमाडौं । तपाईँलाई के लाग्छ ? कुनै गाडीमा खराबी आयो वा मर्मत गर्नुपर्‍यो भने बढीमा कति खर्च लाग्ला ? सामान्य जवाफ हुन्छ- के बिग्रिएको हो, त्यही पार्टसको मात्र वास्तविक मूल्य लाग्छ ।

तर, सत्य सधैँ त्यस्तो नहुने रहेछ । ईभी कमर्सियल भ्यान भनेर बजारमा चर्चामा रहेको र अत्यधिक प्रयोगमा आएको एउटा भ्यान दुर्घटनामा परेर मर्मत गर्नुपर्दा अचम्मको तथ्य बाहिर आएको छ । दुर्घटनाग्रस्त उक्त भ्यानको मर्मत खर्च नै १ करोड ३६ लाख रुपैयाँ देखाइएको छ, जबकि त्यही भ्यान खरिद गर्दाको कुल मूल्य केवल ६० लाख रुपैयाँ थियो ।

बुटवलका यातायात व्यवसायी कृष्णप्रसाद सुवेदीले २०८२ माघमा जोय लङ ब्रान्डको १७ सिट क्षमताको ईभी भ्यान खरिद गरेका थिए । बजार मूल्य (एमआरपी) ६६ लाख रुपैयाँ रहेको उक्त भ्यान उनले ६० लाख रुपैयाँमा किनेका थिए। बुटवल-नारायणगढ रुटमा सञ्चालन गरिएको उक्त गाडी नातामा भाइ पर्ने रामु सुवेदीले चलाउँदै आएका थिए । गाडी पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दर्ता गरी सञ्चालन गरिएको थियो ।

तर, नयाँ किनेर सञ्चालनमा ल्याएको जम्मा दुई महिना मात्रै भएको थियो, २०८३ (वैशाख) १६ गते बिहान साढे ९ बजे गाडी दुर्घटनामा पर्‍यो । रुपन्देहीको देवदह नगरपालिका-१०, गजेरानगरमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ८९२८ नम्बरको जोय लङ ईभी माइक्रो आपसमा ठोक्किएका थिए । पूर्व-पश्चिम राजमार्गको सो खण्डमा भइरहेको सडक मर्मतको कारण ईभी माइक्रोले आफ्नो लेन छाडेर अर्को लेनमा जाँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ३ जनाको ज्यानसमेत गएको थियो ।

दुर्घटनास्थल, दुर्घटनापछि सडकबाट निकाल्दै गरिएको दृश्य र जोय लङको नयाँ भ्यानको तस्बिर ।

दुर्घटनामा ईभी माइक्रोमा ठुलो क्षति पुग्यो र यसलाई क्रेनले उठाएर मर्मत केन्द्रमा लगियो ।

मर्मत खर्च नै १ करोड ३६ लाख !

सर्भिस सेन्टरमा लगेको करिब ३ महिनापछि, अर्थात् २०८३ साउन १२ गते आएको इस्टिमेट बिल देखेर सवारी धनी अचम्मित भए । किनभने ६० लाखमा किनेको माइक्रोको मर्मत खर्च नै १ करोड ३६ लाख ८८ हजार २ सय ३८ रुपैयाँ ५ पैसा कायम गरिएको थियो ।

दुर्घटनापछि मर्मतका लागि दिइएको ईस्टिमेट बिल ।

कृष्णले आधिकारिक आयातकर्ता ‘भिजी मोटर्स’ का प्रतिनिधिसँग कुराकानी गर्दै ६० लाख पर्ने गाडीको मर्मत खर्च कसरी १ करोड ३६ लाखभन्दा बढी हुन्छ भनी प्रश्न गरे। तर, कम्पनीबाट कुनै चित्तबुझ्दो जवाफ आएन ।

कम्पनीकै सुझाव: ‘गाडी नबनाउनु, नयाँ किन्नु’

जोय लङ ईभी भ्यानको आधिकारिक आयातकर्ता भिजी मोटर्सले राखेको विज्ञापन ।

पीडित व्यवसायी कृष्ण सुवेदीका अनुसार कम्पनीले नै उक्त गाडी बनाउनुभन्दा नयाँ किन्नु सस्तो पर्ने सुझाव दिएको छ। उनले भने, ‘कम्पनीमा कुरा गर्दा यो गाडी बनाउनुभन्दा नयाँ नै किन्नु, यो गाडी छाडिदिनु भन्ने जवाफ पाइयो ।’
कम्पनीले दिएको इस्टिमेटमा सबैभन्दा बढी खर्च ब्याट्री र त्यससँग सम्बन्धित कम्पोनेन्टमा देखाइएको छ । अर्थात्, नयाँ गाडीको कुल मूल्य बराबरकै रकम केवल ब्याट्री र पार्टसहरूको मात्र कायम गरिएको सवारी धनीको गुनासो छ ।
यसबारे आधिकारिक आयातकर्ता भिजी मोटर्सका बिजनेस हेड चन्दन रौनियारको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि उनीबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

इन्स्योरेन्स कम्पनीबाट पनि अन्याय

पेट्रोलको खर्च बचाएर राम्रै आम्दानी गर्ने उद्देश्यले ६० लाख लगानी गरी ईभी माइक्रो किनेका कृष्णलाई आयातकर्ताले मात्र होइन, प्रिमियम तिरेर बीमा गराएको नेपाल इन्स्योरेन्सले पनि ठुलो आर्थिक क्षति गर्नुपर्‍यो छ ।

मर्मत खर्च १ करोड ३६ लाख देखाइएपछि उनले इन्स्योरेन्स कम्पनीका सर्भेवरलाई गाडी ‘टोटल लस’ को श्रेणीमा राखिदिन आग्रह गरेका थिए । तर, नेपाल इन्स्योरेन्सले टोटल लस गर्न अस्वीकार गर्दै मर्मत नै गर्नुपर्ने र त्यसबापत अधिकतम ३० लाख रुपैयाँ मात्र दिन सकिने जवाफ दिएको छ ।

कृष्ण दुखेसो पोख्छन्, ‘गाडी किनेको दुई महिनामै दुर्घटनामा पर्‍यो । बैंकको अझै ३६ लाख रुपैयाँ ऋण तिर्न बाँकी नै छ। मर्मत गर्न १ करोड ३६ लाख लाग्ने भनिएको छ, तर इन्स्योरेन्सले ३० लाख मात्र दिन्छ भन्छ । के गर्ने, धर्मसंकटमा परेका छौँ ।’

अहिले यो ईभी माइक्रो काठमाडौँस्थित सर्भिस सेन्टरमै थन्किएको छ । १ करोड ३६ लाख खर्च गरेर गाडी बनाउने अवस्था छैन, बैंकको ऋण ३६ लाखभन्दा बढी छ, र इन्स्योरेन्सबाट पनि न्यायोचित दाबी पाइने अवस्था छैन । मर्मत गर्न करिब एक वर्ष लाग्ने र त्यसपछि पनि वारेन्टी नहुने भएपछि पीडित व्यवसायी कृष्ण सुवेदी कम्पनी र इन्स्योरेन्ससँग छलफलमार्फत कुरा नमिले कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् ।

सम्बन्धित खबर