
काठमाडौँ । नुवाकोट, रसुवा, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसमा थप ८० लाख रुपैयाँ सहयोग गर्दै कम्पनीले आफ्नो कुल आर्थिक सहायता १ करोड १ लाख रुपैयाँ पुर्याएको जनाएको छ ।
कम्पनीका प्रतिनिधिहरूले उक्त सहयोग रकमको चेक अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन धिमिरे र राजेन्द्र न्यौपानेलगायतको उपस्थिति थियो ।
कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको दुःखमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् २००० मा स्थापना भएको हिमालयन बुलियनले दुई दशकभन्दा बढी समयदेखि नेपालको निजी क्षेत्रमा आफ्नो व्यावसायिक उपस्थिति विस्तार गर्दै आएको छ । काठमाडौँमा मुख्य कार्यालय रहेको कम्पनीले बुटवल, वीरगञ्ज, चितवन र कञ्चनपुरलगायतका क्षेत्रमा समेत आफ्नो व्यवसाय विस्तार गरेको जनाएको छ ।
कम्पनीले व्यावसायिक विस्तारसँगै आम नेपाली नागरिकलाई समेत आफ्नो स्वामित्वमा सहभागी गराउने उद्देश्यले आईपीओ निष्कासनको तयारी गरिरहेको जनाएको छ । आईपीओमार्फत कम्पनीको स्वामित्व सर्वसाधारणसम्म विस्तार गर्नुका साथै संस्थागत विकास र पारदर्शितालाई थप मजबुत बनाउने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।
व्यावसायिक गतिविधिसँगै विपत्तिको समयमा ठूलो आर्थिक सहयोगमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरेको कम्पनीले आगामी दिनमा पनि व्यवसाय र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै अघि बढ्ने जनाएको छ ।
कम्पनीले आफूलाई नेपालको अग्रणी र विश्वसनीय निजी क्षेत्रको संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित देशभर आफ्नो उपस्थिति विस्तार गरिरहेको बताएको छ ।