
काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ । आपूर्ति व्यवस्था प्रभावित भएसँगै राजधानीमा अत्यावश्यक वस्तुको मूल्य बढ्न थालेको छ भने कतिपय वस्तुको अभावसमेत देखिन थालेको छ ।
बाढीपछि मुग्लिन-नौबिसे सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो गएको छ । पहिरोका कारण सडक भासिएपछि राजधानी जोड्ने मुख्य सडकमार्ग प्रभावित बनेको हो । नारायणगढ-मुग्लिन सडकसमेत सुनसान देखिन थालेको छ ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्री बोकेर काठमाडौँ आउने मालवाहक गाडी तथा ट्रक राजधानी प्रवेश गर्न सकेका छैनन् । अन्य सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । तर वैकल्पिक सडकमा सवारीसाधनको चाप बढ्दा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुन नसकेको व्यवसायी तथा उपभोक्ताको गुनासो छ ।
यसको प्रत्यक्ष असर काठमाडौँ उपत्यकाको बजारमा देखिन थालेको छ । राजधानीका विभिन्न पसलमा चिनीको अभाव देखिन थालेको उपभोक्ताले बताएका छन् ।
उपभोक्ताका अनुसार हिजोसम्म प्रतिकिलो ११० रुपैयाँमा बिक्री भइरहेको चिनीको मूल्य आज बढेर १५० रुपैयाँ पुगेको छ । एकैदिन प्रतिकिलो ४० रुपैयाँसम्म मूल्य बढेपछि उपभोक्ता थप मारमा परेका छन् । राजधानीका अधिकांश पसलमा चिनी नपाइएको उनीहरूको गुनासो छ ।
विपद्का समयमा सडक तथा यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउनु सामान्य भए पनि चाडपर्वको मुखमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाइएकोप्रति उपभोक्ताले असन्तुष्टि जनाएका छन् ।
सडक अवरुद्ध भएको अवस्थालाई कारण देखाउँदै व्यापारीले मनपरी मूल्य बढाउने र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति रोक्न सरकारले तत्काल बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको माग छ । साथै वैकल्पिक मार्गबाट भए पनि राजधानीमा अत्यावश्यक खाद्यान्नको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।