
काठमाडौँ । भदौ १० गतेको बाढीले अत्याधिक प्रभावित पारेको क्षेत्रमध्ये एक हो( रसुवाको टिमुरे क्षेत्र। विनाशकारी बाढीका कारण यहाँ ठूलो जनधनको क्षति भएको छ, तर यकिन तथ्यांक पनि सार्वजनिक भइसकेको छैन ।
बाढीले कैयौं जीवन निलेको यस भीषण विपद्को बीचमा सशस्त्र प्रहरी बलद्वारा मुटु कमाउने खालको एक मार्मिक घटना दियोपोष्टलाई प्राप्त भएको छ ।
बाढी र पहिरोमा परी मृत्यु भएकी एक महिलाको शव बाहिर निकाल्ने क्रममा घटनाको पाँच दिनपछि उनको गर्भबाट बच्चा बाहिर निस्किएको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । विपद्मा परी आमा र गर्भको बच्चा दुवैको निधन भइसकेको अवस्थामा शव उठाउने क्रममा उक्त अत्यन्तै विभत्स र मर्माहत पार्ने दृश्य देखिएको हो ।
घटना अति नै संवेदनशील र हृदयविदारक रहेकाले त्यससँग सम्बन्धित तस्बिरहरू भने सार्वजनिक गर्न हामी असमर्थ छौँ ।
यसैबीच, सशस्त्र प्रहरी बलले टिमुरे क्षेत्रमा आफ्नो रेस्क्यु अपरेशनलाई तीव्रता दिँदै उद्धार कार्य निरन्तर जारी राखेको समेत बताएको छ। बाढीले ल्याएका थुप्रै लेदो, गेग्रान र भग्नावशेष हटाउने काम भइरहेको छ। साथै, यस क्षेत्रमा रहेका विभिन्न जलविद्युत आयोजनाहरूका सुरुङ (टनेल) हरूमा मानिसहरू फसेको आशङ्कामा उत्खनन तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ।