होल्डिङ सेन्टरमा बाढीपीडितको बिजोग, एउटै त्रिपालमुनि रात कटाउँदै त्रिशूलीवासी

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण घरबारविहीन भएका त्रिशूली-कोलोनी र बेत्रावती क्षेत्रका बाढीपीडितको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । घरबास गुमाएपछि सुरक्षित स्थानमा आश्रय लिएका उनीहरू अहिले खाना, पानी, स्वास्थ्य सेवा र आवश्यक राहत सामग्रीको अभाव झेल्दै त्रिपालमुनि रात बिताउन बाध्य छन् ।

बाढीका कारण विस्थापित भएका त्रिशूली-कोलोनी क्षेत्रका नागरिक अहिले अस्थायी आश्रयस्थलमा सामूहिक रूपमा बसिरहेका छन् । एउटै स्थानमा ठूलो संख्यामा मानिसलाई राखिएका कारण बालबालिका, महिला, वृद्धवृद्धा तथा अन्य प्रभावितलाई साँघुरो र असहज अवस्थामा बस्नुपरेको छ ।

उता, बेत्रावती क्षेत्रका स्थानीयले समेत उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । बाढीले ठूलो जनधनको क्षति पुर्‍याए पनि प्रभावित क्षेत्रमा राज्यको उपस्थिति पर्याप्त महसुस गर्न नसकेको उनीहरूको भनाइ छ ।

उत्तरगया गाउँपालिका-५ कैदेलटारका स्थानीय विक्रम थापा मगरका अनुसार पहिरेबेँसी, कैदेलटार र बेत्रावती आसपासका करिब २०० घर बाढीले पूर्ण रूपमा बगाएको छ । बस्ती नै बगरमा परिणत भएपछि ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन् ।

घर तथा बस्ती गुमाएका नागरिक विद्यालय र अन्य सुरक्षित स्थानमा आश्रय लिन बाध्य छन् । ठूलो संख्यामा विस्थापितहरू एउटै आश्रयस्थलमा भुइँमा ओछ्यान लगाएर रात कटाइरहेका छन् । पर्याप्त आवासको व्यवस्था नहुँदा उनीहरूको दैनिक जीवन थप कष्टकर बनेको छ ।

स्थानीयका अनुसार अहिले सबैभन्दा बढी आवश्यकता खाद्यान्न, खानेपानी, अस्थायी आवास, स्वास्थ्य उपचार र बालबालिकाको सुरक्षाको छ । लामो समयसम्म यही अवस्थामा बस्नुपरेमा प्रभावितमा स्वास्थ्य तथा अन्य मानवीय समस्या बढ्न सक्ने जोखिमसमेत रहेको उनीहरू बताउँछन् ।

थापा मगरले विद्यालय जान बसमा पठाइएका केही बालबालिका बाढी प्रभावित क्षेत्रमा फसेको दाबी गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धार गर्न आग्रह गरेका छन् । विपद्का कारण बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई तीव्रता दिनुपर्ने उनको माग छ ।

“यति ठूलो विपद्का बेला पनि प्रभावित रसुवाबासीले राज्यको प्रभावकारी उपस्थिति महसुस गर्न सकेका छैनन्,” थापा मगरले भने, “तत्काल उद्धार, राहत र खोजी कार्यलाई प्रभावकारी बनाउनुपर्छ ।”

बाढीले बस्ती, घर तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि विस्थापित नागरिकको तत्काल व्यवस्थापनसँगै दीर्घकालीन पुनःस्थापनाको चुनौतीसमेत थपिएको छ । प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, स्वास्थ्य उपचार, अस्थायी आवास र बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ ।

स्थानीयले बाढीमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी, सुरक्षित स्थानमा उद्धार, तत्काल राहत वितरण र प्रभावित परिवारको पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गरी युद्धस्तरमा काम गर्न आग्रह गरेका छन् ।

बेत्रावतीमा विस्थापितको अवस्था हेर्दा विपद्पछिको उद्धारसँगै उनीहरूलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक आवासको व्यवस्था गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

सम्बन्धित खबर

सिफारिस