
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीले कारबाही गरेको छ । पार्टी अध्यक्ष धर्मेन्द्र बस्तोला ‘कञ्चन’द्वारा जारी एक विज्ञप्ती मार्फत उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको जनाइएको हो ।
विज्ञप्तीमा चलाउनेले पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाइएको छ । पार्टीका अनुसार चलाउनेले पछिल्लो समय पार्टीभित्र गुटबन्दी गर्ने, विभाजनको प्रयास गर्ने तथा निम्नपुँजीवादी अवसरवाद हुँदै विसर्जनवादी प्रवृत्ति देखाउँदै आएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो गतिविधिबाट उनलाई रोक्न पार्टीले पटक-पटक छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनामार्फत सुधारको अवसर दिएको पनि वक्तव्यमा उल्लेख छ ।
देश बाढी तथा प्राकृतिक विपत्तिको चपेटामा परेका बेला राष्ट्रिय सम्मेलन स्थगित गरी पीडितको उद्धार तथा राहतमा जुट्ने पार्टीको निर्णयलाई समेत चलाउनेले गलत ढंगले व्याख्या गर्दै पार्टीविरुद्ध वक्तव्यबाजी गरेको नेकपा (बहुमत)ले आरोप लगाएको छ ।
पार्टीले विधानको भाग-५ को धारा २७ बमोजिम चलाउनेलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको स्पष्ट पारेको छ । यसैबीच, नेकपा (बहुमत)ले आफ्ना सबै केन्द्रीय सदस्यलाई आर्थिकवादी, षड्यन्त्रकारी, वितण्डतावादी, गुटवादी, विखण्डनकारी, निम्नपुँजीवादी अवसरवादी तथा अनैतिक र अराजकतावादी गतिविधिमा संलग्न नहुन अपिल समेत गरेको छ ।
