
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा एक कम्पनीले अवैध धन्दा गरिरहेको खुलेको छ । पशुपति क्षेत्र विकास कोष र कोषका सदस्यसचिव तीर्थ श्रेष्ठको मिलेमतोमा म्युजिक भिडियो कम्पनीका रूपमा दर्ता रहेको बुढासुब्बा डिजिटल प्रा.लि.ले अवैध रूपमा पशुपति दर्शन गर्न आउने तीर्थालु तथा भक्तजनहरूको फोटो तथा भिडियो खिच्ने र चर्को असुली गर्ने गरेको पाइएको हो ।
भिडियो खिचेर युट्युब, फेसबुकलगायतका डिजिटल माध्यमहरूमा प्रसारण गर्ने गरी दर्ता भएको कम्पनीलाई सदस्यसचिव श्रेष्ठले अवैध रूपमा पशुपति क्षेत्रमा सर्वसाधारणसँग रकम असुली गर्ने अधिकार दिएको पाइएको हो । पशुपति क्षेत्र विकास कोषसँगको सम्झौतामा डिजिटल राइट्स प्रयोग गर्ने भनिए पनि कम्पनीले दैनिक ८ देखि १० जना फोटोग्राफर राखेर अवैध असुली गर्दै आएको छ ।

एक जना फोटोग्राफरबाट दिनको ५ हजार रूपैयाँ उठाउने र सबैबाट गरी दैनिक ४० हजार रूपैयाँ उठाउने कार्यमा पशुपति क्षेत्र विकास कोषका उच्च अधिकारीको मिलेमतो छ। उक्त कम्पनीले मासिक १२ लाख रूपैयाँ सर्वसाधारणबाट उठाउने गरेको पशुपति क्षेत्र विकास कोषसम्बद्ध स्रोतले बतायो । उठाइएको रकम दैनिक प्रहरी, सदस्यसचिव, सार्वजनिक खरिद इकाइका सूर्य भाट र बोर्ड सदस्यसम्म भागबन्डा हुने गरेको छ । फोटो खिचेर मोबाइलमा ट्रान्सफर गराएबापत एक जना भक्तजनबाट १ हजारदेखि १५ सय रूपैयाँसम्म असुल गर्ने कार्यमा समेत बुढासुब्बा डिजिटललाई गैरकानुनी रूपमा खटाइएको छ । यसरी पैसा असुल्दै गरेको भिडियो समेत दियोपोस्टलाई प्राप्त भएको छ ।

भक्तजनबाट गैरकानुनी असुलीको विषयमा प्रतिक्रिया लिन खोज्दा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठसँग सम्पर्क हुन सकेन ।
यता, कोषका सार्वजनिक खरिद इकाइ प्रमुख सूर्य भाटले भने फोटो तथा भिडियो खिच्ने विषयमा भालेश्वर फोटो स्टुडियोसँग सम्झौता भई काम भइरहेको र उक्त स्टुडियोसँग यही साउन २६ गते सम्झौता खारेज गरिएको बताए । ‘भालेश्वर फोटो स्टुडियोले यहाँ फोटो खिच्ने काम गरेको थियो । उनीहरूसँग साउन २६ गतेदेखि सम्झौताको म्याद सकिएको छ,’ उनले भने, ‘अहिले छिटफुट तरिकाले फोटो र भिडियो खिचिएको छ भन्ने सुन्नमा आएको छ। कसैले त्यस्तो फोटो र भिडियो खिचेको भेटिएमा समाएर ल्याउनु भनेको छु ।’
भालेश्वरसँग सम्झौता तोडेर कोषका उच्च अधिकारीलाई मोटो रकम बुझाउने शर्तमा बुढासुब्बालाई सम्झौता नै नगरी अवैध रूपमा पैसा उठाउन खटाइएको छ । भाटले रकम नउठाएको र प्रहरी लगाएर बन्द गराइएको दाबी गरे पनि उनले दाबी गरेको भोलिपल्ट अर्थात् बिहीबार पशुपति क्षेत्रमा दियोपोस्टकर्मी पुग्दा बुढासुब्बा डिजिटलका तर्फबाट खटिएका फोटोग्राफरले धमाधम भक्तजनबाट रकम असुली गरिरहेका थिए ।

यद्यपि भाट भने फोटोग्राफरहरूले भक्तजनबाट पशुपति क्षेत्र विकास कोषले तोकेका भन्दा बढी रकम लिएको, भक्तजनलाई दुख दिने गरेको जस्ता गुनासो आउन थालेपछि सम्झौता खारेज गर्नु परेको बताउँछन् ।
फोटोग्राफरबाट दैनिक असुल गरेको रकममा आफ्नो कुनै सहभागिता नभएको उनको जिकिर छ । उनी भन्छन्, ‘मैले अहिलेसम्म जिरो पनि लिएको छैन। बिना आधार कसैको नाम लेखिएको पनि होला । तर मेरो नाम लेख्ने हैसियत तिनीहरूसँग छैन। कसैले पैसा लिएको छ भने त्यो गलत हो । उसलाई कारबाही हुनुपर्छ ।’
यस विषयमा नेपाल प्रहरीका भीमसेन तिमिल्सिनासँग बुझ्न खोज्दा आफूलाई यो विषय जानकारी नभएको बताए । उनले भने, ‘पैसा को-कोले लिन्छ भन्ने हामीलाई सोध्ने कुरा होइन । जुन प्रहरीले लियो, उसैलाई सोध्नुहोस् ।’

पशुपति विकास काेषकाे खरिद शाखा प्रमुख सुर्य भाट र बुढासुब्बा डिजिटलका मालिक नवराज गिरी ।
फोटोग्राफरबाट असुल गरेको पैसा प्रहरीले समेत भागबन्डा गरेर लिने कुरामा आफ्नो संलग्नता नभएको तिमिल्सिनाले बताए । उनले आफ्ना हाकिमहरूको नामै लिएर उनीहरूलाई सम्पर्क गर्न र सोध्न आग्रह गरेका थिए ।
यता, बुढासुब्बा म्युजिक प्रा.लि.का प्रमुख नवराज गिरीले पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेअनुरूपको काम गर्न नपाएको बताए । उनले ५ वर्षका लागि कोषका नाममा १ करोड १४ लाख रूपैयाँ रकम जम्मा गरिदिएको र एक वर्षदेखि भाडा समेत बुझाइरहेको भन्दै भनेजस्तो काम गर्न नपाएको गुनासो गरे ।
फोटो तथा भिडियो खिच्नका लागि मासिक २ लाख २० हजार रूपैयाँ रकम पशुपति क्षेत्र विकास कोषलाई बुझाउँदै आएको उनले बताए । दैनिक १८ जना आरती र ५ जना फोटोका लागि कर्मचारी खटाइएको उनले बताए ।
फोटो तथा भिडियो बापत भक्तजनबाट चर्को रकम असुल गरेको आरोपबारे प्रश्न गर्दा उनी भन्छन्, ‘हामीले फोटोबापत धेरै पैसा लिने गरेका छैनौँ । एक जना भक्तजनबाट ३ सय रूपैयाँसम्म लिनु भनेका छौँ । हजारौँ पैसा लिएको भन्ने कुरामा सत्यता छैन। त्यो गलत आरोप हो ।’