दियोपोस्ट संवाददाता
धादिङ, २ माघ । छोरीको तस्विर हेर्ने बित्तिकै उनलाई संसारै अध्यारो भए जस्तो लाग्छ । एक्कासी मुटु गाँठो परेर आउँछ । भक्कानो फूटेर आउँछ । उनी रुन्छिन् । आँशुहरु बेहिसाब बगिसकेका छन् । शरिरमा कुनै रोग छैन तैपनि ज्यान सुकेको छ । आँखाहरु वर्षौं अनिदो थकित छन् ।
१३ वर्षदेखि अनवरत छोरीको खोजीमा भौँतारिरहेकी एउटी आमा अर्थात् धादिङको निलकण्ठ नगरपालिका ९ पाल्पा सालबोटेकी शोभा दुवाडी ।

‘परार… एक पटक मेरी छोरीको बाल्यकालकै फोटो आयो । जब छोरीको फोटो हेर्छु तब रुन्छु’ केहिदिन अघि दियोपोस्टको टिम उनको घर पुग्दा शोभाले भक्कानिँदै भनिन्,‘मलाई मेरी छोरीलाई सम्झेपछि एकदम रुन मन लाग्छ । सहन सक्दिनँ । उसको तस्विर देखेपछि संसारमा केही नदेखे जस्तो हुन्छु ।’
उनको हातमा छोरीका केही थान तस्विर छन् ।
एक थान जन्मदर्ता ।

२०५८ साल मंसिरमा शोभाको कोखबाट छोरी रजनी अर्याल परिवारको खुसी बनेर यस संसारमा आइन् । जतिबेला आमा शोभा १८ वर्षकी थिइन् ।
धादिङको सिद्धलेक गाउँपालिका साविक नलाङमा जन्मिएकी रजनी आमाको काखमा हुँर्कदै थिइन् । उनको बाबु राजाराम अर्याल खेती किसानी गर्थे ।
२०५९ साल वैशाखमा छोरी रजनी ६ महिनाको हुँदै थिइन् । त्यही महिना शोभाको जीवनमा ठूलो दुर्भाग्य निम्तियो ।
धादिङवेशीबाट नलाङ तर्फ फर्किदै गरेको ‘आइचर’ ट्रक किँदेरी भन्ने स्थानमा दुर्घटनामा पुर्यो । सोही ट्रकमा चढेर घर आउँदै गरेका उनका पति राजाराम अर्यालको दुखद् निधन भयो । छोरी जन्मिएको ६ महिनापछि पतिको निधन भएपछि उनी बिछिप्त अवस्थामा पुगिन् । एकातिर पति वियोगको पिडा अर्कोतिर ६ महिनाको छोरीसहित आफ्नोे अनिश्चितताको भविष्य ।

‘मैले नानीलाई हुर्काउँदै गएँ । मेरो माइतीमा बुवा रोगी र बृद्ध हुनुहुन्थ्यो । नानीको श्याहार सुसार गर्ने मान्छे थिएनन्,’ उनले भनिन्,‘घरमा आमा सासु आमा रोगी थिइन् । दुख गरेरै छोरी हुर्काउँदै थिएँ ।’
समयसँगै छोरी हुर्कदै गइन् । ५ वर्षकी भइन् ।
यस्तैमा शोभामाथि अर्को विवाहको दबाव बढ्यो ।
‘छोरी तिमीले विवाह गर्नुपर्छ यतिकै बसेर हुँदैन भनेर बुवा रुन थाल्नु हुन्थ्यो,’ शोभा विगतमा सुनाइन् ‘बुवाकै दबावले पनि मैले विवाह गर्नैपर्ने अवस्था आयो । र मैले विवाह गरेँ ।’
निलकण्ठ – ९ पाल्पा सालबोटेका दुवाडी थरका एक व्यक्तिसँग उनको दोस्रो विवाह गरेकी थिइन् । उनका श्रीमान उनलाई बुझ्ने व्यक्ति थिए । उनीहरुले दुवैले छोरीको भविष्यबारे सोचे । चिनेजानेकै व्यक्ति र स्थानिय नेता समेत रहेका नेपाली कांग्रेस धादिङका सभापति रामेश धमला विगत लामो समयदेखि संस्था चलाएर बसेका व्यक्ति थिए । उनले बालबालिकालाई निशुल्क पढाइदिन्छन् भन्ने खबर उनीहरुले थाहा पाएका थिए । छोरी रजनीको भविष्य सोचेर उनीहरुको पाइला धमलाको संस्थातिर अघि बढ्यो ।

धमला अध्यक्ष रहेको संस्था हो – बाल भविष्य संगठन नेपाल । यो संस्थाले धर्म पुत्रको नाममा नेपाली बालबालिका अवैध रुपमा ‘तस्करी’ गर्दै आएको छ ।
‘छोरी ६ वर्षमा उक्लेकी थिइ । हामी श्रीमान श्रीमती नै मिलेर छोरीलाई संस्थामा राख्न गयौँ । मेरो दाजु भाई सबैले संस्थामा राख्दा राम्रो हुन्छ भन्ने सल्लाहा दिए,’ छोरी रजनी बेपत्ता भएको पृष्ठभूमि आमा शोभा भन्छिन्,‘मैले संस्थामा पढाउनका लागि मात्रै छोरी पठाउने निधो गरेँ ।’
६ वर्षकी रजनी काठमाडौं स्थित बाल भविष्य संगठनको होस्टल आमाबाट बिछोडिएर बस्थ थालिन् । काठमाडौंमा आएको ६ महिनामै रजनीलाई विदेश लैजाने खबर एक्कासी आमा शोभालाई पुग्यो ।
‘४२ जना बच्चाहरु विदेश लैजाँदै छ भन्ने खबर आयो । एक जना विदेशी नागरिक र अर्का नेपाली मिलेर छोरीलाई लिएर घरमै आए,’ आमा शोभाको सम्झना छ,‘एक जना नेपालीले तपाईंको नानी ६/६ महिनामा नेपाल आउने जाने गर्छ । तपाईंहरुले केही तनाव लिनुपर्दैन । यो सबै रमेश धमलाको माध्यमबाट पठाउन लागेको हो । यदि समस्या भयो भने रमेश धमलालाई भन्न सक्नुहुन्छ भने । मैले छोरी कसैगरी पनि पठाउन नसक्ने अडिडी कसेँ । मेरो छोरीलाई काखमा समातेर रोएँ ।’
तर उनको रुवाईको कुनै गुञ्जायस भएन । छोरीको भविष्य राम्रो हुने आशा देखाए । उनलाई विश्वास बढ्दै गयो ।

‘म अनपढ मान्छे । उहाँहरुको विश्वासमा मैले छोरी पठाउन विवस भएँ । मेरा लागि ६ महिना ६ वर्ष जस्तो हुन थाल्यो । संस्थामा सम्पर्क गरेँ । काठमाडौं नै गएर सोधेँ । वर्षदिन भएपछि बल्ल एउटा फोटो आयो । फोटो आएको छ अब नानी आउँछिन् । टेन्सन् नलेउ भनेर फकाउन थाले,’ उनी भक्कानिन थालिन्,‘रमेश धमलाले नै तस्विर ल्याएको भनेर दिए । होला त नानी आउँछे भन्ने लाग्यो । धमला पनि धादिङकै मान्छे हुनुहुन्छ । ल्याइदिनुहुन्छ होला भन्ने भयो । ६, महिना वर्षदिन हुँदै २ वर्ष बित्यो । तर छोरी ल्याइदिएनन् । म रुन थालेँ । मेरो छोरी मलाई चाहियो भन्दै चिच्याउन थालेँ ।’
उनको चित्कार ५ वर्षपछि बाल भविष्य संगठन (सिएफओ)का अध्यक्ष धमलाले एउटा कागजमा सहि गर्न लगाए । त्यो कागजमा के लेखिएको थियो रजनीकी आमा शोभालाई अहिलेसम्म थाहा छैन । यद्धपी धमलाले ‘छोरी ल्याउने भए यहाँ सहि लगाउ’ भनेर धम्काएका थिए ।
‘यो कागज के हो ? भनेर मैले सोधेँ । उनीहरुले नानी छिटो आउनका लागि भने । तर म अनपढ मान्छे के हो पढ्न जान्ने कुरा थिएन । उहाँलाई पढेर सुनाउनुस् भन्दा तिमी नै पढ भनेर मलाई दिए । म त अक्षेर चिन्दिन थिएँ । जस्तो धादिङको अन्य दाजु भाई उस्तै रमेश धमला ठानेर मैले विश्वास गरेँ । मैले सहि गरेँ,’ धमलाको नाटकीय बयानबारे शोभा भन्छिन्,‘तर नानीको अत्तोपत्तो छैन । नानी गएको नै १३ वर्ष बित्यो । विभिन्न आश्वासन दिन्छन् । कहिले नानीको उमेर १६ वर्षपुगेपछि नानी आउँछिन् । उहाँको नागरिक बनेपछि आउछिन् भनेर आश्वासन देखाउँछन । अहिले छोरी आज १८ वर्ष पुगेर १९ वर्ष लागिन् । तर, खोई मेरो छोरी ? मैले अहिलेसम्म किन ल्याइदिनुभएन भनेर अनुनय गर्छु । तर, उहाँले उहाँको नागरिक बनेर मात्रै आउँछ भन्नु हुन्छ । यसो नेटहरुमा त बोल्न पाइन्छ होला अहिलेको जमानामा त देख्न पनि पाइन्छ नी भन्दा धमलाले उसलाई मोबाइलपनि दिएको छैन भनेर जवाफ दिनुहुन्छ । यहाँको जस्तो कानुन होइन उसले मोबाइल बोक्न पाउँदैन भन्नुहुन्छ । म त्यही कुरामा विश्वास गरेर बसिरहेको छु ।’
शोभालाई छोरी झिकाइदिन्छु भन्दै धमलाले दर्जनौँ पटक आश्वासन दिइसके । तर, उनलाई विश्वास भने लागेको छैन । किनभने उनले धमलाको झूटो आश्वासनको भरमा दर्जनौँ बसन्तहरुमा छोरी आउने बाटो हेरिसकेकी छिन् ।
‘पोहोर साल खैरेहरु आएको छ तपाईं आउनुस् भनेपछि हामी उसको होस्टेल रहेको साङ्कोषमा गयौँ । ६ महिनामा ल्याउँछु भन्नु भयो । तर, डेढ वर्ष पुगिसक्यो हालसम्मपनि केही आएको छैन । मैले यसरी नै १३ वर्ष विताएँ । अब बिताउन मलाई धेरै गाह्रो भइरहेको छ,’ उनलाई आशंका छ,‘उहाँकै विश्वासमा बसिरहेका छौँ । उहाँपनि यहीँको मान्छे भएकाले झूटो बोल्नु भएन जस्तो लागिरहयो । अहिले धेरै जनाले उसले (रमेश धमला)ले बच्चा बेचेकै हो भन्ने आशंका गरेका छन् । म पनि अनपढ मान्छे होकी भन्ने आशंका बढेर गएको छ । नत्र भने अहिलेसम्म किन निकाल्नु भएन ।’
यत्तिकैमा शोभाका श्रीमान थप्छन्,‘धर्म पुत्र भनेर लगेको हो । तर, ६ महिनाको अन्तरमा नेपाल ल्याउँछु भनेका थिए ।’
धर्मपुत्र सम्बन्धी ऐनमा ६ महिनाको अन्तरालमा नेपाल ल्याउनै पर्ने कानुनी व्यवस्था छ । तर, शोभाका लागि भने यो कानुन ‘दैवले जानुन’ भन्ने नेपाली उखान जस्तै भएको छ ।
उनको छोरी लिएर जाने संस्थाका अध्यक्ष धमलालाई सम्पर्क गर्दा रुखा जवाफ दिने र फोन समेत ब्लक गर्ने गरेको आमा शोभाको गुनासो छ ।
‘रमेश सर ’ मेरी छोरी कहाँ छिन् ? कहिले आउँछे ? भनेर प्रश्न गर्दा नानी आउँछे । अब झिकाइन्छ । अब आउने हो भन्ने रुखो जवाफ दिन्छन । म कोशिस गरिरहेको छु भन्नु हुन्छ । होला त भन्यो विश्वास गरेर बस्छु तर फेरी छैन । अहिले त मेरो मोबाइलबाट फोन नै नलाग्ने गरि ब्लक गरिएको छ । अलि अगाडी फोन गर्दा उहाँको फोन लाग्थ्यो,’ शोभा सुनाउँछिन्,‘अहिले त फोन पनि नलाग्ने बनाइएको छ । होस्टेलमा गएर आएदेखि उहाँले मेरो फोन उठाउनु भएको छैन । मेरो मोबाइलबाट फोन पनि लाग्दैन ।’
नेपाली कांग्रेसका जिल्ला सभापति रहेका धमला यसअघि २०७४ सालको निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ ‘ख’बाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत बनेका थिए । चुनावमा आफूलाई धक्का पर्ने सोचेर धमलाले सार्वजनिक रुपमा रजनीलाई फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘५ जना मान्छेको बीचमा राखेर कुरा भएको हो । उ आउने बेला भएको छ । म जसरी पनि ल्याइदिन्छु भनेको हो,’ शोभाका श्रीमानको प्रश्न छ,‘हामीले यहाँसम्म नेता मानेर आशा गरेका थियौँ । तर, अब नेताको नाममा बढि फट्याइँ हुन थालेछ । हामीलाई किन ढाँट्नु भयो । के हामीले अर्को कदम चाल्नुपर्ने हो ?’

त्यति मात्रै होइन धमलाले आफ्नी छोरी बेचेको हुनसक्ने आशंका उनीमा बढ्न थालेको छ ।
‘हामीले त होस्टलमा लगेर दियौँ । त्यहाँ राख्यौँ । रमेशले हामीले बेचेका छैनौँ भन्छ । मलाई लाग्छ बेचेको भएर नल्याइदिएको हो की ? बेचेकै होकी भन्ने शंका छ,’ उनी भन्छन् ।
शोभासँग आफ्नो छोरी कुन देशमा कसको धर्म पुत्र छ भन्ने कुनै जानकारी छैन । उनीसँग सिर्फ २ वटा तस्वीर र जन्मदर्ता मात्रै छ ।
‘प्रमाण खोज्यो भने तलाई किन चाहियो भन्ने गरिन्छ । शुरुमा पढाउँछु बच्चा लेउ भनेपछि दियौँ । मेरो नानीको भविष्य पनि बन्छ भने म सहन्छु भनेर पठाएँ,’ शोभाको योजना छ,‘यदि उहाँले ल्याउनु भएन भने कानुनी रुपमा पनि हामी लड्छौँ । सरकारले पनि खोजिदेओस् ।’
छोरीको चिन्ताकै कारण आफूले पटक पटक आत्महत्याको कोशिष गरेको उनको दाबी छ ।
‘आमाको पिडा म कसरी सम्हालिएँ होला । छोरीकै पीडाले म मर्ने निष्कर्शमा पुगेको थिएँ । म अब बाँच्दिन भन्नेमा पटक पटक पुगेको छु । मलाई खान मन पनि नलाग्ने । पेटै दुख्ने मात्रै भयो । जहाँ अस्पतालमा गए पनि तपाईंलाई चिन्ता व्यथाले सतायो भन्नुहुन्थ्यो । नानीको चिन्ताले ज्यान सुकेर यस्तो भइसक्यो सर्, । अझै पनि मलाई आफै के हुँ जस्तो लाग्छ । म त्यो नानी सम्झीएँ भने श्रीमान, छोरी कोही देख्दिनँ । उसले मात्रै संसार ढाकेको हुन्छ । मलाई नजर नै बन्द भए जस्तो हुन्छ,’ उनी भक्कानिँदै दुई हातले आँखा छोप्छिन् र भन्छिन्, ‘म थापाथली, प्रसुती गृह, मनोमोहन अस्पताल गएँ । तर कतै निको भएन । पेटको व्यथा होला भनेको होइन रहेछ ।’
श्रीमतीको उपचारमै एक लाख रुपैयाँ सकिएको उनका श्रीमानले बताए ।
शोभालाई स्वर्गिय पति राजारामको मृत्युपश्चात छोरी प्रतिको कर्तव्य पुरा गर्न नसकेको आत्मग्लानी छ ।
त्यही आत्मग्लानीले उनको मुटु पटक पटक गाँठो पर्छ ।
‘उसको बाबा नभएपनि मैले उसको बाबाको कर्तव्य पुरा गर्नुपर्थ्यो । आज उसँगै भएको भए मेरो आँशु पुछेर बस्थिन् । कतिसम्म बुझ्ने हुन्थी होला भन्ने कल्पनाले मलाई सताउँछ । आज कत्रो भइ मैले देख्न समेत पाएको छैन । म बेकार रहेछु । मैले किन जन्मलिएँ होला ? मैले मेरो छोरी साथमा लिएर बाँच्न पाइन । यहि कुराले मलाई सताउँछ सर्,’ उनको आँशु रोकिँदैन,‘मेरो भाग्यले ठग्यो । पहिले त्यस्तो भएर त होला नी मेरी छोरी म बाट टाढा भयो भन्ने मात्रै लागिरहन्छ । सँगै भए पढ्थ्यो खेल्थ्यो । छोरी पठाउनु दुर्भाग्य भयो ।’
जब जब छोरीको तस्विर आउँछ तवतव शोभा उनको परिवारमा रुवाबासी चल्ने गरेको छ ।
‘परार.. एउटा फोटो आयोे । मेरी छोरी विद्यार्थीहरुसँगै बसेर पढेकी थिइ,’ उनी भन्छिन्,‘त्यो फोटो देखेपछि मैले आफूलाई खप्न सकिनँ । मलाई तस्विर पठाएर रुवाउने काम गरिरहयो ।’
तस्विर हेरेपछि शोभाले धमलालाई भनेकी थिइन्,‘काठमाडौंमा राखेर लुकाउनु भएको त होइन नी ? आमाको ठाउँमा बसेर हेर्नुस् छोराछोरीको माया कतिहुन्छ ?’ तर धमलाले,‘ल्याइदिन्छु भनेपछि चुप लाग्नुस् भनेर धम्काए ।’
धमलाको व्यबहारले उनीमाथि शोभाको परिवारले विभिन्न आंशका छ ।
‘झर्कने र रुखो व्याबहार गर्नुहुन्थ्यो । अहिले त सम्पर्क छैन । झण्डै एक वर्षजति भयो बोलचाल भएको छैन । उहाँको मोबाइलमा मेरो मोबाइलबाट फोन नै लाग्दैन,’ शोभाको गुनासो छ ।
तर, अहिले गाउँलेहरुले नै धमलाको व्यवहारमाथि शंका गरेर शोभालाई अत्यासलाग्दा कुराहरु सुनाइदिन थालेका छन् ।
‘तेरो छोरी बेचेको भएर पो नल्याइदिएको त भन्न थालेका छन् । आमाको मन हो रहेछ क्यारे भन्नेतिर जाँदो रहेछ । उहाँ पनि यहीँको मान्छे मेरो दाई र बाबु सरहको मान्छे,’ शोभाले आँशु पुछ्दै भनिन्,‘उहाँले कानुनी पाटोमै जानुपर्छ होला । निवेदन हाल्न खोज्दा नहाल म खोज्छु भनेको छ रे । मुखले मात्रै हो की ? अब छोड्न सक्ने । चुपो लागेर बसेर हुँदैन । अझै पनि मनको एउटा कुनामा मेरो आशा मरेको छैन ।’
भिडियो हेर्नुहोस्