काठमाडौं । दुर्गम भूगोल र सीमित यातायात पहुँचका कारण स्वास्थ्य सेवा लिन कठिनाइ भोग्दै आएको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ।
काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय धोबीघाटमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको चाबी र आवश्यक कागजात हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा समयमै उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए । उनले जीवनको महत्वलाई जोड दिँदै उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने कम्पनीको चाहना रहेको उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीयवासीको स्वास्थ्य सेवा पहुँचमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । आपतकालीन अवस्थामा बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पताल पुर्याउन अब सहज हुने उनको भनाइ थियो।
भौगोलिक रूपमा विकट र सडक सञ्जाल कमजोर रहेको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन लामो समयदेखि समस्या रहँदै आएको छ। यस्तो अवस्थामा एम्बुलेन्स उपलब्ध हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष गणेश कुलुङ राई, वडा नं. २ का अध्यक्ष मोहन सम्सेर राई, वडा नं. ३ का अध्यक्ष प्रताप सिंह तामाङ, वडा नं. ४ का अध्यक्ष देवेन्द्र राई र वडा नं. ५ का अध्यक्ष ईश्वर राई लगायतको उपस्थिति रहेको थियो।
साथै प्रमुख प्रशासकीय अधिकृत प्रविण राई, स्वास्थ्य संयोजक देवेन्द्र कुलुङ राई, प्रशासन प्रमुख भद्र राई तथा लेखापाल दीपक खड्काको पनि सहभागिता थियो।
गुँरास हाइड्रोपावर परियोजना हाल सोही गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयवासीले एम्बुलेन्स हस्तान्तरणप्रति खुशी व्यक्त गर्दै यसले स्वास्थ्य सेवामा ठूलो राहत पुग्ने अपेक्षा गरेका छन्।
