काठमाडौँ । उदयपुर, त्रियुगा नगरपालिका-१० की बिमला विश्वकर्माले आफ्नो जग्गा जालसाजी गरेर हडपिएको आरोप लगाउँदै १० वर्षदेखि न्यायको खोजीमा भौतारिँदै आएकी छन्। उनले तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट सांसद समेत बनेकी सम्झना पाख्रिन र उदयपुरका एमाले नेता भगवती चौधरीले जालसाजी गरेर आफ्नो जग्गा हडपेको आरोप लगाएकी हुन्।
बिमलाका अनुसार २०७२ सालमा ससुराको नाममा रहेको करिब साढे १६ धुर जग्गा सम्झना पाख्रिनले फकाई फुलाई अर्कै व्यक्तिको नाममा पास गराएकी थिइन् । उनले कमला साम्वाहाम्फे नामकी महिलासँग भेट गराइ जग्गा अस्थायी रूपमा दिन लगाइएको र केही महिनामै फिर्ता गरिने आश्वासन दिइएको बताइन्। तर, तोकिएको समयमा जग्गा फिर्ता नभएको उनको गुनासो छ।
‘तीन-चार महिनामा फिर्ता हुन्छ भनिएको थियो, तर वर्षौं बित्दा पनि जग्गा आएन,’ बिमलाले भनिन्। त्यसपछि आफूले वडा कार्यालयदेखि नगरपालिका, प्रहरी, सिडियो कार्यालय र विभिन्न निकायमा निवेदन दिँदा पनि सुनुवाइ नभएको उनले बताइन्।
सांसद पाख्रिनले घरेलु कामदारको रुपमा प्रयोग गरेको र ६ वर्षसम्म पारिश्रमिक नदिएको समेत बिमलाले आरोप लगाउँदै आएकी छन् । आफूलाई काम लगाउने, छोराछोरी पढाइदिने आश्वासन दिएको र त्यसकै भरमा विश्वास गर्दा ठगीमा परेको दाबी गरिन्। पछि जग्गा माग्दा उल्टै गालीगलौज र धम्की दिने गरिएको उनको आरोप छ।
यता, एमाले नेता भगवती चौधरीले समेत आफ्नो घर भत्काइ अर्को जग्गा कब्जा गरेको बिमलाको आरोप छ । बिरामी छोराको उपचारका लागि काठमाडौं आएको बेला आफ्नो कच्ची घर भत्काएर जग्गा कब्जा गरिएको उनले बताइन्। ‘म बाबुको उपचारका लागि काठमाडौँ आएकी थिए । भगवती चौधरीले मेरो घर भत्काएर भाँडाकुडा, दाउरा, रासन पानी सबै खोलामा बगाइदिनु भएछ,’ उनले भनिन्, ‘मेरो घर भत्काएर उहाँले आफ्नो घर बनाउन सुरु गर्नु भएको रहेछ । मैले चन्दा उठाएर फेरि घर बनाउन सुरु गर्दा म माथि उल्टै कुटपीट भयो ।’
आफुमाथि कुपीट भएपछि प्रहरी समक्ष उजुरी गर्न जाँदा समेत प्रहरीले उजुरी नलिएको उनले बताईन् । ‘म माथिको भएको अन्याय प्रहरीले पनि हेर्नु भएन । अहिले मेरै जग्गामाथि भगभती चौधरीले बिल्डिङ घर बनाउनु भएको छ । त्यहीँ बाइकको फ्याक्ट्री खोल्नु भएको छ । मेरै जग्गाबाट कमाई गरेर बसिरहनु भएको छ । म भने आफ्नै जग्गाबाट लखेटिएँ,” उनले दुखेसो पोखिन्।
अहिले बिमला अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकी छन्। श्रीमानले १६ वर्षअघि छोडेपछि तीन सन्तानको जिम्मेवारी एक्लै सम्हाल्दै आएकी उनी अहिले बिरामी छोराको उपचारका लागि चन्दा उठाउन बाध्य छिन्। उनका कान्छा छोरालाई हेपाटाइटिस ‘बी’ संक्रमण देखिए पछि बिगत ७ वर्ष यता उपचाररत छन् । छोराको नियमित उपचारका लागि काठमाडौँ आउनु परेको उनले बताईन् । उपचारका लागि आर्थिक जुटाउन नसक्दा समयमा उपचार हुन नसकेको उनको भनाई छ ।
हाल त्रियुगा नगरपालिका १० बोक्से भन्ने स्थानमा रहेको एक विद्यालयको जग्गामा अस्थायी टहरामा बस्दै आएको उनी बताउँछिन् । आर्थिक आम्दानीको स्रोत नभएका करण जीविकोपार्जनका लागि अरूको घरमा काम गर्दै आएको उनको भनाई छ । ‘१० वर्षदेखि रोएर बाँचिरहेकी छु, घर छैन, जग्गा छैन, न्याय पाएको छैन,’ उनले भनिन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्झना पाख्रिनले संचारकर्मीसंग आक्रोश ब्यक्त गरिन् । उनले भनिन्, ‘ओइ बैनी, तिमीले को संग कुरा गरिरहेकी छौ? म को हो थाहा छ तिमीलाई? म त सम्पन्न परिवारको मान्छे हो । हामीलाई गरिब सम्झेको ?’ सम्झनाले आफुलाई प्रश्न सोधेको भन्दै दियोपोष्टकर्मी पत्रकारका बिरुद्धमा साइवर ब्युरोमा उजुरी गर्ने चेतावनी समेत दिइन् ।
उनै माओवादी नेतृ सम्झना पाख्रिनले कमला साम्वाहाम्फे नाम गरेकी एक महिलासंग भेट गराई जग्गा अर्कैको नाममा पास गराउन उक्साएको पीडितको आरोप छ ।
एकल महिलाको घर भत्काई जग्गा हडपेर घरबार बिहिन बनाएको आरोपबारे प्रतिक्रिया लिन खोज्दा एमाले नेता भगवती चौधरी सम्पर्कमा आएनन् । पीडित बिमलाले भने सम्बन्धित निकायसँग निष्पक्ष छानबिन गरी आफूलाई न्याय दिलाइदिन आग्रह गरेकी छन्।
भिडियाे पनि हेर्नुहाेस्: