काठमाडौँ । एकीकृत दलित मुक्ति मोर्चाले प्रहरी हिरासतमा २२ वर्षीय श्रीकृष्ण बिस्वकर्माको मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। मोर्चाले बिहिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
मोर्चाले जिल्ला सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका बिस्वकर्मा र खोटाङ घर भएकी १८ वर्षीया निर्जला मगरबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको रउनीहरूले २०८२ वैशाख २८ गते विवाह गरी सिन्धुलीस्थित घरमा बस्दै आएकामा वैशाख ३ गते सातदोबाटो प्रहरी चौकी, ललितपुरले मिलापत्रका लागि भन्दै बिस्वकर्मालाई नियन्त्रणमा लिएको बताएको छ । त्यसको भोलिपल्ट वैशाख ४ गते उनलाई इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा स्थानान्तरण गरी जबरजस्ती करणी मुद्दा दर्ता गरिएको मोर्चाको दाबी छ।
वैशाख ७ गते साँझ करिब ४ बजे बिस्वकर्मा हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ। उनलाई अस्पताल लगिएको भए पनि परिवारलाई समयमै जानकारी नदिइएको मोर्चाले आरोप लगाएको छ।
मोर्चाले उक्त घटनामा जातीय विभेद र प्रहरी हिरासतभित्र भएको सम्भावित यातना तथा कुटपिटका कारण मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। “यो घटना उच्च जातिवादी सोचको परिणाम हो,” मोर्चाले भनेको छ।
यसैबीच, मोर्चाले यस्ता घटनाहरू विगतदेखि दलित समुदायले भोग्दै आएको उल्लेख गर्दै जातीय विभेदका आधारमा हुने हिंसा र हत्याको अन्त्य गर्न सरकारसँग माग गरेको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न अपिल गरिएको छ।
यदि माग सम्बोधन नभए जनस्तरबाट गरिने आन्दोलनलाई समर्थन गर्ने चेतावनी समेत मोर्चाले दिएको छ।