पाकिस्तानको बलुचिस्तानमा अन्वेषण स्थलमा आक्रमण हुँदा ९ जनाको मृत्यु, एक विदेशी अपहरण

दियोपोस्ट संवाददाता  

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तस्थित एक अन्वेषण तथा अनुसन्धान केन्द्रमा भएको सशस्त्र आक्रमणमा नौ जनाको ज्यान गएको छ भने एक जना विदेशी कामदार अपहरणमा परेका छन्।

चागी जिल्लामा नेसनल रिसोर्सेज लिमिटेड कम्पनीले सञ्चालन गर्दै आएको तामा र सुनको अन्वेषण स्थलमा बुधबार स्थानीय समयअनुसार साँझ करिब ७ बजे आक्रमण भएको बताइएको छ। स्रोतका अनुसार आक्रमणकारीहरूले साना हतियार र अन्डर-ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेका थिए।

आक्रमण स्थलमा व्यापक तोडफोड गरिएको छ, जसका कारण इन्धनमा क्षति पुगेको छ भने तीनवटा शिविरमा आगजनीसमेत गरिएको जनाइएको छ। सुरक्षाकर्मीहरूसँग भएको जवाफी कारबाहीमा एक जना आक्रमणकारी मारिएका छन् भने अन्य घटनास्थलबाट फरार भएका छन्।

सुरक्षा निकायले घटनापछि खोजी तथा अनुसन्धान अभियान सुरु गरिसकेको छ। मृत्यु हुनेमध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

सिफारिस