काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। केही समयअघि वर्षाका कारण सुधारिएको वायु गुणस्तर पुनः खस्किँदै ‘अत्यधिक अस्वस्थ’ स्तरमा पुगेको हो।
एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने चेतावनी दिइएको छ।
एक्युआई मापदण्डअनुसार ०-५० ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार हाल वर्षा अभाव, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलोका कारण प्रदूषण बढेको हो। उनले वर्षा नभएकाले धुलो र धुवाँ वायुमण्डलमै थुप्रिने अवस्था बनेको बताए । “वर्षा हुँदा हावामा रहेका कणहरू जमिनमा बस्छन् र प्रदूषण घट्छ, तर अहिले त्यस्तो अवस्था छैन,” उनले भने ।
उनले सम्बन्धित निकायलाई दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि आग्रह गरे ।
यता जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना छैन र तापक्रम अझै बढ्न सक्ने संकेत देखिएको छ। वर्षा अभावले वायुमण्डल सफा हुन नसक्दा प्रदूषण थप बढ्ने जोखिम रहेको उनले बताइन् ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीहरूमा यसको असर बढी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन आग्रह गरिएको छ।